साप्ताहिक अर्थसंक्षेप : गर्भनरलाई गालीको वर्षा, ८१ अंकले घट्यो नेप्से र ८ महिनाको विकास खर्च २३ प्रतिशत | Khabarhub Khabarhub

साप्ताहिक अर्थसंक्षेप : गर्भनरलाई गालीको वर्षा, ८१ अंकले घट्यो नेप्से र ८ महिनाको विकास खर्च २३ प्रतिशत


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 5 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अघिल्लो साता सोमबारबाट निरन्तर घटेको शेयर बजारले यो साताको मंगलबारसम्म ओरालो यात्रा कायमै राख्यो । सरकारले चालु आर्थिक वर्षको ८ महिनासम्म निर्धारित लक्ष्यको जम्मा २३ प्रतिशत मात्रै विकास खर्च गरेको छ । नेपालको टेलिकम क्षेत्र धरासायी हुँदै गएको सरकार, अपरेटर र सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् ।

ललितपुरस्थित ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो भनिएको ‘ओभरपास’ निर्माण सम्पन्न हुन लाग्दा भत्काइएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले अर्थतन्त्रको बाह्य अवस्था ठिक रहेको देखाएको छ ।

साताका आर्थिक समाचार :

घर जान लागेका गर्भनरलाई गालीको वर्षा !

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आफ्नो ५ वर्षे कार्यकाल सकिएर आउँदो चैत २४ गते घर फकिँदै छन् । अधिकारीको कार्यकालमा नेपालको सेयर बजारको अवस्था के–कस्तो रह्यो ? सेयर लगानीकर्ताहरु यस्तो प्रश्न सोध्दा गभर्नर अधिकारीमाथि आक्रोश पोख्छन् ।

राष्ट्र बैंकको गभर्नरका रुपमा काम गर्दा अधिकारीले सेयर लगानीकर्ताहरुबाट जति आलोचना व्यहोरे, त्यति विगतका अन्य गभर्नरले व्यहोरेका थिएनन् । अधिकारीको ‘बहिर्गमन’को खबरसँगै शेयर बजारमा उत्साह थपिनु शायद संयोग मात्र होइन ।

नेपालको टेलिकम क्षेत्र ओरालो लागेको निष्कर्ष

नेपालको टेलिकम क्षेत्र धरासायी हुँदै गएको सरकार, अपरेटर र सरोकारवालाहरुले निष्कर्ष निकालेका छन् । मंगलबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘रिभाइटलाइजिङ द टेलिकम इन्डष्ट्री’ कार्यक्रममा आफ्नो धारणा राख्दै उनीहरूले यस्तो बताएका हुन् ।

नेपालको टेलिकम क्षेत्रको आम्दानी र नाफा दुबै खम्चिँदै गएको भन्दै नीतिगत, कानुनी र व्यवसाय विस्तारका सम्भावनाहरू खोज्नुपर्ने उनीहरूको भनाइ छ ।

बनिसक्न लागेपछि भत्काउन थालियो ग्वार्कोको ‘ओभरपास’ (तस्बिरहरू)

ललितपुरस्थित ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो भनिएको ‘ओभरपास‘ निर्माण सम्पन्न हुन लाग्दा भत्काइएको छ । करिब ८२ प्रतिशत निर्माण पूरा भइसकेको अवस्थामा गुणस्तरहीन काम गरेको यो ओभरपासको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो ।

सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएको हो । अब फेरि यो ओभरपास पुनःनिर्माण गर्नुपर्ने भएको छ । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा बनेको यो ओभर तोकिएको समयमा बनेको भए गाडी गुडिसक्नुपर्ने थियो ।

पश्चिम सेती प्रसारणलाइन अनिश्चित, ७ सय मेगावाटका आयोजना रोकिँदा राज्यलाई अर्बौँ घाटा

भारत सरकारको सहुलियतपूर्ण ऋणबाट निर्माण गर्न लागिएको पश्चिम सेती प्रसारणलाइन निर्माण अनिश्चित बनेको छ । सरकारले आवश्यक लगानी जुटाउन नसक्दा आयोजना अनिश्चितसँगै अलपत्र पर्ने अवस्थामा पुगेको हो । आयोजना बनाउन २० अर्ब ९० करोड ८३ लाख बजेट अनुमान गरिएको छ ।

पश्चिम सेती र यसका सहायक नदीमा उत्पादित बिजुली राष्ट्रिय प्रसारणलाइनसम्म पुर्‍याउन यो आयोजना निर्माण अवधारणा अघि सारिएको हो । लगानी जुटाउन नसक्दा ४ सय केभी क्षमताको प्रसारणलाइन आयोजना निर्माण अनिश्चित बनेको हो । चालु आर्थिक वर्षबाटै निर्माण थाल्ने तयारी थियो ।

मुद्रास्फिति अघिल्लो वर्षभन्दा तल, विदेशी मुद्रा सञ्चिति १४ महिनाको आयात धान्न पुग्ने

अर्थतन्त्रको बाह्य सूचकले नेपालको अवस्था ठिक रहेको देखाएको छ । नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनले अर्थतन्त्रको बाह्य अवस्था ठिक रहेको देखाएको हो ।

प्रतिवेदनअनुसार माघ महिनामा वार्षिक वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत छ । अघिल्लो वर्षको त्यही महिनामा यस्तो मुद्रास्फीति ५.०१ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत छ ।

मिटरब्याजसम्बन्धि जाँचबुझ आयोग गठन

सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका हुन् ।

वित्त आयोग वर्षैपिच्छे दिन्छ सुझाव तर सरकार टेर्दैन

राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगले संविधानअनुसार सरकारलाई वर्षैपिच्छे सुझाव दिने गर्छ । तर, तीनै तहका सरकारले भने आयोगको सुझावलाई कार्यान्वयन होइन, सधैँ नजरअन्दाज गर्ने गरेका छन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार राष्ट्रिय सभा पेश गरिएको आयोगको वार्षिक प्रतिवेदन ०८०-८१ मा आयोगले दिएका सुझाव सरकारले कार्यान्वयन गर्न छाडेको उल्लेख छ । आयोगले संघीय सरकारको बजेट विनियोजन, राजस्व बाँडफाँड, ऋण परिचालन, कार्यक्रमको मानक निर्माण लगायतका विषयमा वर्षेनी दिएका सुझाव तीनै तहका सरकारले कार्यान्वयन नगरेको प्रतिवेदनको निष्कर्षमा उल्लेख गरेको छ ।

कुलमानले ऊर्जामन्त्रीलाई फेरि भने- निष्ठापूर्वक काम गर्दा पनि सोधिएको स्पष्टीकरण पूर्वाग्रही र अन्यायपूर्ण

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्कालाई सफाइ पेस गरेका छन् ।

गत बुधबार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले मागेको स्पष्टीकरणमा कार्यकारी निर्देशक घिसिङले आइतबार सफाइ पेश गरेका हुन् ।

सरकारको आम्दानीभन्दा खर्च बढी, आठ महिनामा २३ प्रतिशत मात्र विकास खर्च

चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो चौमासिकसम्म सरकारको आम्दानीभन्दा खर्च बढी देखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार गत फागुन मसान्तसम्ममा सरकारले सात खर्ब ३८ अर्ब ८२ करोड १३ लाख आम्दानी गर्दा आठ खर्ब ३९ अर्ब ३५ करोड ६० लाख खर्च भएको छ । अर्थात् दोस्रो चौमासिकसम्ममा सरकारको आम्दानीभन्दा एक खर्ब ५३ करोड ४७ लाख खर्च बढी छ ।

८ महिनामा ४४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता

चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अर्थात् फागुनसम्ममा ४४ अर्ब ६६ करोड ३ लाख ७३ हजार ४०० रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन २८ गतेसम्ममा ४२७ वटा आयोजनाहरूमा लगानी प्रतिबद्धता आएको छ । उक्त आयोजनाहरूबाट ११ हजार ४७५ जनालाई रोजगारी पाउने छन् ।

एटिएम प्रयोग गर्नेको सङ्ख्या घट्यो, डिजिटल कारोबार बढ्दै

पछिल्लो १ वर्षको अवधिमा नेपालमा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घट्दै गएको छ भने डिजिटल कारोबारको सङ्ख्या र रकम बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म अघिल्लो आर्थिक वर्षको माघ महिनासम्मको अवधिको तुलनामा एटिएमबाट पैसा झिक्नेको सङ्ख्या घटेको देखिएको हो ।

तथ्यांकअनुसार आर्थिक वर्ष ०८०-८१ को माघ महिनामा बैंकको एटिएमबाट १ करोड ७ लाख ११ हजार ५७४ पटक नगद झिक्ने काम भएको थियो । चालु आर्थिक वर्षको माघ महिनामा सो सङ्ख्या घटेर १ करोड २ लाख ५० हजार ६०४ पटक मात्रै नगद झिक्ने काम भएको छ ।

साताको शेयर : चार दिन कारोबार हुँदा ८१ ओरालो, ३५ अर्बको किनबेच

अघिल्लो साता सोमबारबाट निरन्तर घटेको शेयर बजारले यो साताको मंगलबारसम्म ओरालो यात्रा कायमै राख्यो । चार दिन मात्रै कारोबार हुँदा साताको अन्तिम दिन बुधबार बजारमा हरियाली छायो । एकदिन मात्रै हरियाली छाउँदा पनि सातामा समग्र ८१.९५ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घट्यो । ४ दिनमात्रै कारोबार हुँदा समग्रमा नेप्से दैनिक औसत २०.४८ अंकले घटेको छ ।

अघिल्लो साताको बिहीबार २८१८.४३ विन्दुमा रहेको नेप्से परिसूचक यो साता बुधबारसम्म आइपुग्दा घटेर २७३६.४८ विन्दुमा आयो । बिहीबार होलीका कारण बजार बन्द हुँदा बुधबार नै अन्तिम कारोबार भएको हो । ४ दिन मात्रै नेप्से कारोबार हुँदा २.९२ प्रतिशतले बजार घट्न गयो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : ०२ बजे

रमेश भुसालको ‘छालबाटो’ माथि परिचर्चा 

पोखरा– पोखरामा शनिबार रमेश भुसालको कृति ‘छालबाटो’ माथि परिचर्चा गरिएको

मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हबल्दार चौधरीको मृत्यु

मोरङ– मोरङको पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइकल  दुर्घटना हुँदा प्रहरी सहायक हबल्दार

क्लब वर्ल्ड कपको उद्घाटन : बराबरीमा रोकियो मेसीको टिम मियामी

काठमाडौं – फिफा क्लब वर्ल्ड कप २०२५ आइतबार सुरु भएको

सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै

काठमाडौं– मुलुकका सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८२–०३

इरानको आक्रमणमा ६ इजरायलीको मृत्यु, दर्जनौ घाइते

इजरायल – इरानी आक्रमणबाट आइतबार बिहानै ६ इजरायलीको ज्यान गएको