३६ वर्षीय बालेनसँग हारेका ओलीले उही उमेरका सुहाङ रोकेर ७० काटेका बादललाई बोके « Khabarhub

३६ वर्षीय बालेनसँग हारेका ओलीले उही उमेरका सुहाङ रोकेर ७० काटेका बादललाई बोके

एमालेमा नेतृत्व हस्तान्तरणको बहसलाई अर्को धक्का



काठमाडौं- गत भदौमा युवाहरूको दुई दिने आन्दोलनको बलले प्रधानमन्त्रीबाट सत्ताच्यूत भएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र आफ्नो शासन उस्तै शैलीमा चलाइरहेका छन् ।

गत शनिबार पक्राउ परेर प्रहरी हिरासतमा हुँदा पनि उनले पार्टीबाट अझै एकलौटी रवैया छाडेका छैनन् । ज्यान कसुर जस्तो गम्भिर कसुरमा हिरासतमा पुग्दा पनि ओलीको विकल्प खोज्ने पक्षमा कुनै नेता तयार छैनन्।

महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलहरू अझै पनि ओलीलाई बिदा गर्ने हिम्मत देखाउने पक्षमा छैनन्। त्यही कुराको पुष्टि बुधबार भएको संसदीय दलको निर्वाचनमा यी नेताले गरे ।

ओली भलै प्रहरी हिरासत (बिरामी भएकाले शिक्षण अस्पतालको बेड) छन् तर उनको एकलौटी शासन अहिले पनि चलिरहेको दृश्य बुधबार केन्द्रीय कार्यालय च्यासलमा देखियो ।

जेन-जी आन्दोलनपछि सत्ताच्यूत भएका ओलीलाई फागुन २१ को निर्वाचनबाट सर्मनाक हार भोग्दा पनि अझै दोस्रो तहका नेताहरू बिदा गर्न तयार नभएको पुष्टि च्यासल घटनाले गरेको छ।

अन्य दलमा धमाधम युवा नेतृत्व आइरहेको छ। देशमा ३६ वर्षीय युवा नेता बालेन्द्र शाह प्रधानमन्त्री छन् । बालेन उनै हुन्, जसले ७३ काटेका ओलीलाई झापा क्षेत्र नम्बर ५ मा ४९ हजार ६१४ मतको फराकिलो अन्तरले हराए। तर एमालेभित्र भने ३७ वर्षीय अर्का युवा सुहाङ नेम्बाङले संसदीय दलको नेतामा दाबी गर्दा अपमानपूर्वक रोकियो ।

फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ ९ र समानुपातिकमा १६ सिट जितेको एमालेमा बुधबार सुहाङको पक्षमा उभिने समर्थक र प्रस्तावक पनि भेटिएनन्। तयार भएका राजेन्द्र राई र अर्जुन कार्कीलाई पनि पदाधिकारीहरूले दबाबमा पारेर ब्याक हुन बाध्य पारे ।

सांसदहरूलाई दबाबमा पारेर ७० वर्षीय रामबहादुर थापा बादललाई दलको नेता बनाइएको पुष्टि उपमहासचिव योगेशकुमार भट्टराईले गरेका छन् ।

उनले केही समय लिएर नेतृत्व र सांसदहरूबीच छलफलमार्फत् सहमति कायम गर्नुपर्नेमा हतारमा सांसदहरूलाई दबाबमा राखेर दलको नेता छानिएको बताएका छन् ।

उता एमालेका अर्का नेता झपट रावलले संसदीय दलको निर्वाचन अब पार्टी तत्कालीन उपचारले मात्रै निको नहुने बताएका छन् । ‘हाम्रो वर्तमान अवस्था एक्युट होइन, क्रोनिक हो। यसैले तत्कालीन उपचारले मात्र पुग्दैन, मूल कारणमा पुगेर दीर्घकालीन समाधान खोज्न तयार होऊँ, आजको आवश्यकता यही हो’, उनले बुधबार भनेका छन् ।

नेताहरूको आक्रोशबीच एमाले विसर्जनतिर गइसक्दा पनि ओली अझै नेतृत्व हस्तान्तरणमा सकारात्क नभएको पुष्टि बुधबारको घटनाले गरेको छ। उनी आफ्नै पार्टीका युवा नेता सुहाङ नेम्बाङसँग डराएको कुरा च्यासलमा देखिएको छ। संसदीय दलको नेतामा युवा पुस्ताको दाबी आउँदा ओलीले आफ्नै उमेर समूहका ७० वर्षीय रामबहादुर थापा बादललाई बनाइदिए ।

बादल दलको नेता बन्दा सुहाङले समर्थक र प्रस्तावक पनि नपाउने वातावरण ओलीका प्रियपात्र महासचिव पोखरेलसहितका पदाधिकारीले बनाए । यद्यपि सुहाङले सद्भावपूर्वक बादललाई खादा लगाइदिएर बधाई दिए । खादा लगाइदिँदै गर्दा सुहाङको ओठमा मुस्कान देखिँदा अनुहारमा गहिरो पीडाभाव र अपमानका चिह्नहरू देखिएका थिए ।

शिक्षण अस्पतालको बेडबाटै ओलीले निर्देशन दिएपछि बादल संसदीय दलको नेतामा सर्वसम्मत हुँदा एक पटक फेरि एमालेमा सुधार हुने आशा गरेको ठूलो पंक्ति निराश भएको छ।

अर्कातिर एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको एजेन्डामा पनि गहिरो चोट लागेको छ। गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन र फागुन २१ को निर्वाचनपछि पनि ओलीले आफूमा सुधारको कुनै संकेत देखाएएका छैनन् ।

दुई युवाले हाँकेको राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दललाई मक्किएको ढोडसरह बनाइदिँदा पनि ओली पद छाड्न तयार छैनन् । बुधबार बादल दलको नेता भएपछि बल्ल उनले कार्यवाहक अध्यक्ष तोके । अध्यक्ष पद छोड्न तयार नभएका उनले हिरासत बसाइ लम्बिने आशंकाबीच बादललाई नै दलको नेतापछि कार्यवाहक अध्यक्ष पनि बनाए ।

पक्राउ परेर हिरासतमा पुग्दा पनि ओलीलाई बिदा गर्नुपर्ने बहस एमालेका अन्य नेताले चलाउन सकेका छैनन् । महासचिवसहितका नेताहरू ओलीका केबल सहयोगीमा परिणत हुँदा एमालेमा विकल्प खोज्ने गुञ्जायस नै नदेखिएको विश्लेषक डा. हरि रोका बताउँछन् ।

बादललाई विश्वास

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा धक्का खाएपछि एमालेभित्र दलको नेता सुहाङ या अन्य युवा नेतालाई बनाउनुपर्ने आवाज उठेको थियो । तर ओली र उनका पक्षधरले नेम्बाङलाई नेता बन्न नदिन अन्य २४ जना सांसदलाई दबाबमा पारेर राखे । सघाउन तयार भएकालाई पनि च्यासलको बन्द कोठामा राखेर पछि हट्न बाध्य पारियो ।

संविधान सभाका अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्बाङका छोरा सुहाङलाई ओलीले एघारौँ महाधिवेशनमै आफ्नो प्यानलमा राखेका थिएनन्। तर सुहाङलाई अन्याय भएको आवाज उठेपछि मात्रै प्यानलमा राखियो । पुहाङले एमालेको एघारौँ महाधिवेशनमा लोकप्रिय मतसहित केन्द्रीय सदस्य जिते।

एमालेका भविष्य भनिएका उनै युवालाई रोकेनर आफ्नै समकालीन ७० बाट उकालो लागेका पूर्वमाओवादी पृष्ठभूमिका बादललाई ओलीले विश्वास गरे । सुहाङले देशभर रास्वपाको लहर हुँदा पनि इलाम २ बाट चुनाव जिते । तर त्यही चुनावका लागि कमान्डर तोकिएका बादल च्यासलबाट कहीँ गएनन्। एउटा पनि चुनावी प्रचार कार्यक्रमलाई सम्बोधन गरेनन् । उनै बादल समानुपातिकबाट सांसद बने अब दलको नेतामा चुनिए ।

किन डराए ओली?

सुरूमा ओलीकै विश्वासिला पात्र रहेका नेम्बाङ पछिल्लो समय उनका अभिव्यक्ति र निर्णयप्रति असन्तुष्ट थिए । विशेष गरी विद्या भण्डारीको सदस्यता नवीकरण नगरेको विषय र सरकारका कामप्रति उनले सार्वजनिक असहमति राखेका थिए ।

जेन-जी आन्दोलनअघि नै नेम्बाङले असन्तुष्टि व्यक्त गरेको सूचना ओलीसम्म पुगेको थियो । आन्दोलनपछि पनि उनले युवाको भावना समेट्नुपर्ने र समीक्षा आवश्यक रहेको धारणा राखे । त्यसपछि ओली उनीप्रति झन असन्तुष्ट बनेको बताइन्छ ।

एमालेको एघारौँ महाधिवेशनमै ओलीले नेम्बाङलाई केन्द्रीय सदस्यको टिकट दिएनन् । तर आलोचना भएपछि अन्तिममा उनी प्यानलमा राखियो । त्यसयता ओली र नेम्बाङबीच दूरी बढ्दै गएको नेताहरू बताउँछन् ।

मतदाता र अन्य दलका कार्यकर्तामाझ लोकप्रिय नेम्बाङ नेतृत्व हस्तान्तरणको पक्षमा खुलेर बोलिरहेका छन् । आफूलाई चुनौती दिने गरी बोलेपछि ओलीले उनलाई बढाउन चाहेको छैनन् । उनीमाथि ओलीनिकटहरूले विद्या भण्डारीनिकटको बिल्ला पनि भिराइदिने गरेका छन् ।

२४ सांसदमाथि दबाब

सुहाङलाई दलको नेतामा रोक्न २४ जना सांसदहरूलाई बादलको पक्षमा उभिनै पर्ने दबाब पदाधिकारीहरूबाट सिर्जना गरियो । सुरूमा धनकुटाका राजेन्द्र राई र संखुवासभाका अर्जनु कार्की लगायत तयार भए पनि प्रस्तावक र समर्थक नै बस्न नसक्ने अवस्था बनाएर बादललाई सर्वसम्मत गरियो ।

उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सांसदहरूलाई फोन र सन्देशमार्फत् दबाब दिएको आरोप नेताहरूले लगाएका छन् ।

बैठकमा सहभागी एक सांसले भने, ‘हामीलाई कच्चा व्यक्ति दलको नेता बनाउन हुँदैन भन्ने निर्देशन दिइएको थियो ।’ अर्की एक सांसदले भनिन्, ‘माथिको आदेशअनुसार बादललाई सर्वसम्मत बनाइएको हो ।’

महासचिव पोखरेल सुहाङको पक्षमा उभिएका नेताहरूलाई दबाब दिएरै रोक्न सक्रिय भएको एकजना सांसदले दाबी गरेका छन् । एक सांसदका अनुसार ‘जुनियर सांसदलाई नेता बनाएर सदनमा कसरी जाने भन्ने प्रश्न उठाउँदै बादलको विकल्प नखोज्न भनिएको थियो ।’

नेतृत्व परिवर्तनको बहसमा धक्का

अहिले पुराना दलहरूमा नेतृत्व परिवर्तनको बहस चलिरहँदा एमालेले सिधै अस्वीकार गर्दै आएको छ । उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङले पनि नेतृत्व परिवर्तनको बहसलाई ‘बेतुक’ भनेका छन् ।

ओलीले समेत नेतृत्व परिवर्तन कुनै एक निर्वाचनले निर्धारण नगर्ने बताउँदै आएका छन् । एघारौँ महाधिवेशनबाट अध्यक्ष बनेका ओली तत्काल नेतृत्व हस्तान्तरणको पक्षमा छैनन् ।

एमालेभित्र २४ सांसद मौन रहँदा नेतृत्व परिवर्तनको बहसलाई थप धक्का पुगेको विश्लेषक श्याम श्रेष्ठ बताउँछन् ।

हतोत्साहित छैनन् नेम्बाङ

युवा नेता नेम्बाङ आफू यस घटनाबाट हतोत्साहित नभएको बताउँछन् । उनले पार्टीलाई सुदृढ बनाउनकै लागि प्रक्रिया अगाडि बढाएको उल्लेख गर्दै अपेक्षित परिणाम नआए पनि निराश नभएको प्रतिक्रिया दिएका छन् ।

उनले भने, ‘हामीले चालेको कदम एमाले सुदृढ होस् भन्ने उद्देश्यले थियो । अपेक्षित नतिजा आएन, तर हामी हतोत्साहित भएका छैनौँ ।’ एमालेले आत्मसमीक्षा र आत्मालोचित भएर अघि बढ्नुपर्नेमा जोड दिँदै युवा पुस्तालाई निराश नहुन आग्रह गरेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ७ : २३ बजे

संसद्को पहिलो बैठक बिहीबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको पहिलो अधिवेशनको पहिलो

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर