काठमाडौं- फागुन २१ गतेको निर्वाचन आउन एक महिना बाँकी हुँदा नेकपा एमाले दबाबमा पर्न थालेको छ। भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको दोष खेपिरहेको एमालेका लागि निर्वाचन सबैभन्दा चुनौतीपूर्ण बनेको छ।
उक्त आन्दोलनका बेला सरकारको नेतृत्व गरेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गल्ती नस्वीकारेको भन्दै अहिले पनि आलोचना भइरहेको छ । यद्यपि उनले केही दिनअघि एउटा फेसबुक पोस्ट्मार्फत् उक्त घटनामा निधन भएका १९ जनाप्रति श्रद्धाञ्जली दिँदै दुख व्यक्त गरे ।
यो अवस्थामा सबैजसो दलहरू एक्लाएक्लै चुनावी मैदानमा छन् । काठमाडौंको मेयर छाडेर बालेन्द्र साह झापा ५ मा चुनाव लड्न आएपछि ओलीमाथि झन् दबाब बढेको छ। अर्कातिर महासचिव शंकर पोखरेलका लागि पनि दाङ क्षेत्र नम्बर २ मा समस्या देखिएको छ।
आगामी चुनावमा मूल नेतृत्व नै संकटमा पर्ने अवस्था आएको अवस्थामा अध्यक्ष ओलीले केही निर्वाचन क्षेत्रमा भए पनि सहकार्यको कोसिस अघि बढाएका छन् । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तालमेलको ढोका बन्द गरेको अवस्थामा ओलीले नेपाली कम्युनिस्ट पार्टीसँग सम्भावित सहकार्यको कोसिस गरिरहेका छन्।
उता २२ वटा दल मिलाए पनि प्रचण्डले चाहे जस्तो नतिजा नल्याउने बुझेपछि केही दिनअघि भावुक भिडियो सन्देश जारी गरे । जहाँ उनले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बरू नयाँ पुस्ताले नै नेतृत्व गरून् भन्ने चाहेको सन्देश दिँदै मतदाता फकाउने कोसिस गरे ।
दुवै नेता दबाबमा रहेको अवस्थामा एमाले र नेकपाबीच सम्भावित चुनावी तालमेलको कोसिस भइरहेको कुरा बाहिरिएको छ। अन्तरिम सरकारले फागुन २१ को निर्वाचन नसार्ने गरी बुधबारदेखि देशभर ८० हजार सेना परिचालन गरेसँगै मूल नेतृत्व परिवर्तन नगरेका दुई कम्युनिस्टमाथि झन् दबाब बढेको छ।
अध्यक्ष ओली झापा आफू सुरक्षित हुन चाहन्छन् । उता प्रचण्ड पनि पार्टीलाई सुरक्षित बनाउने उपायको खोजीमा छन् । आफू रुकुम पूर्व पुगेर करिब सुरक्षित भए पनि देशभरबाट राम्रो नतिजाका लागि उनी उपायको खोजीमा छन् । उता ओली भने नेकपा या राष्ट्रिय प्रजातन्त्र पार्टीमध्ये एकसँग चुनावी तालमेलको रणनीतिमा अगाडि बढेका छन्।
ओलीले गत माघ ५ गते उम्मेदवारी दर्ता गराउन झापा झर्दै गर्दा चन्द्रगढी विमानस्थलमा यो सरकारले निर्वाचनको माहोल नबनाइरहेको आरोप लगाए । त्यसपछि उनले माघ १५ गते पनि यही शब्द दोहोर्याएका छन्। तर प्रधानमन्त्री सुशीला कार्कीले जसरी पनि निर्वाचन हुने बताउँदै सबै दललाई सहभागी आग्रह गरिसकेकी छन् । अब ओली चुनावी तालमेलको कोसिसमा लम्किएका छन् ।
झापा ५ मा बालेन्द्रले चुनौती दिएपछि ओलीलाई समस्या परेको छ। यही चुनौतीबीच ओलीको हिसाब बिग्रिने अनुमान भइरहेको छ। त्यहीकारण नेकपासँग चुनावी तालमेलको प्रस्ताव राखेको माओवादी नेताहरू बताउँछन् ।
प्रचण्डको सचिवालयले पनिन ओलीले चुनावी तालमेलको प्रस्ताव गरेको जनाएको छ। तर प्रचण्डले अझै पनि यसबारे प्रष्टसँग केही बताइसकेका छैनन् ।
‘तालमेल भन्नाले देशव्यापीको कुरा भएको छैन। राजनीतिमा असम्भव भन्ने केही छैन। केही क्षेत्रमा सहकार्य गरेर जाने बाटा हुन सक्छन् भन्ने कुरा भएको छ’, प्रचण्डको सचिवालयका एक सदस्यले भने, ‘ओली र संयोजक कमरेडबीच कसरी कुराकानी भयो भन्ने कुराले महत्त्व राख्दैन । मूल विषय त अहिले देश जोगाउन र गलत प्रचारहरू चिर्न लोकतन्त्र र गणतन्त्र पक्षधर एक हुनुपर्ने हुन सक्छ । तर चुनावकै लागि मिल्ने या गठबन्धन भइजाने अवस्था छैन ।’
प्रचण्डले पनि केही अन्तर्वार्ता र सार्वजनिक मञ्चहरूबाट चुनावी तालमेलको अवस्था रहन सक्ने संकेत गरेका छन्। रुकुमपूर्वबाट उम्मेदवारी दिएका प्रचण्डलाई जनयुद्धका सहिद पुत्र सन्दीप पुनसहितले टक्कर दिइरहेकाले तालमेल चाहिन सक्ने देखिन्छ । सन्दीपलाई जनार्दन शर्मा प्रभाकर नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीले उम्मेदवार बनाएको छ।
एमाले अध्यक्ष ओलीले पनि विभिन्न अभिव्यक्तिमा अझै पनि चुनावी तालमेल र सहकार्यको अवस्था कायमै रहेको बताउँदै आएका छन्। उनले दिएका प्रतिक्रियाहरू सुन्दा तालमेलमार्फत् निर्वाचनमा सुरक्षित हुन खोजेको संकेत मिलेको छ।
माधव र भीम रावलको फरक मत
एमाले र नेकपाबीच चुनावी सहकार्यको विषयमा ओलीले राखेको प्रस्ताव प्रचण्डले माधव नेपालसमक्ष पुर्याएका थिए । तर नेपाल र भीम रावल लगायत नेताहरूले ओलीसँग तालमेल गरेर जाँदा नेकपाको आकार झन् घट्ने बताए । उनीहरूले एमालेसँगको तालमेलबाट जोगिनुपर्ने सुझाव दिएका छन् ।
जेन-जीआन्दोलन हिंसात्मक बनाउन भूमिका खेलेको आरोप ओलीलाई लागेकाले तालमेल गर्दा आफूहरूलाई हराउन नवपुस्ता लाग्ने उनीहरूको जिकिर छ ।
‘तालमेलको प्रस्ताव आएकोबारे माधव नेपाल र भीम रावल लगायत नेताहरूलाई संयोजक कमरेडले सुनाउनुभएछ । तर ओलीले हिजो गरेका गल्ती र दिएका हन्डर स्मरण गराउँदै यथास्थितिमा त्यसरी नसकिने सुझाव दिनुभएको छ’, प्रचण्डनिकट एक नेताले भने, ‘सोमबार पेरिस डाँडामा निर्वाचन परिचालन कमिटीको बैठकपछि संयोजक र सहसंयोजक कमरेडबीच कुरा भएको थियो । सहसंयोजक कमरेडले ओलीले सार्वजनिक रुपमा माफी मागेमात्रै सोच्न सकिने जानकारी गराउनुभएछ । उहाँले एमालेसँग तालमेल गरेर गए नेकपाको सीट अझै घट्ने विश्लेषण सुनाउनुभएको छ ।’

सहसंयोजक माधव नेपालले खबरहबसँगको अन्तर्वार्तामा आफू र प्रचण्डबीच अहिलेसम्म नेकपाका सम्पूर्ण गतिविधि सल्लाहमै अगाडि बढिरहेकाले अन्य तत्त्वले खेल्न नसक्ने दाबी गरेका छन् ।
‘एमालेसँग तालमेल अथवा गठबन्धन गरेर जाने अवस्था छैन । संयोजक कमरेड र मबीच सोमबार पनि पार्टी बलियो बनाएर लाने विषयमा कुराकानी भएको छ’, नेपालले खबरहबलाई भने, ‘ओलीले खुट्टै ढोगेर तालमेल नगरी भएन, म त डुब्नै लागेँ भन्छन् भने त्यसबेला प्रचण्ड र म छलफल गर्छौँ । यथास्थितिमा एमालेसँग सहकार्य तालमेल गठबन्धन केही पनि हुने अवस्था छैन ।’
नेपालकै जस्तो बोली नेकपा भीम रावलले पनि बोलेका छन् । प्रचण्ड फेरि ओलीको बोलीमा नफस्ने विश्वाससहित रावल भन्छन्,’ ‘नेकपामा जे कुरा पनि सल्लाहमै हुने गरेको छ । मलाई लाग्छ, संयोजक कमरेडले उताबाट तालमेल र गठबन्धनको प्रस्ताव राखे पनि साथीहरूसँग छलफल गरेर जवाफ दिन्छु भन्नुभएको हुन सक्छ तर यसबारे मलाई जानकारी छैन ।’
उनी एमालेसँगको प्रस्तावमा नेकपा अगाडि बढे उपयुक्त सुझाव दिनेसमेत बताउँछन्। ‘यही निर्वाचनमा एमालेसँग सहकार्य गरेर जाने अवस्था छैन’, रावल भन्छन्, ‘एमालेहरूले अनेक हल्ला फैल्याएर नेकपालाई कमजोर बनाउन खोजेको देखिन्छ । तर नेकपा त्यसरी कमजोर हुँदैन।’
एमालेकै शीर्ष नेताहरूका अनुसार ओली अहिले नेकपासँग मात्रै होइन, राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि संवादमा छन् । २०७९ को निर्वाचनमा राप्रपा र एमालेबीच चुनावी तालमेल भएको थियो । राप्रपाको सहयोगमा ओलीले झापा ५ र एमालेको सहयोगमा लिङ्देनले झापा ३ मा सजिलै जितेका थिए ।
यसपटक पनि राजेन्द्रलाई ओलीले मनाइरहेको स्रोतको दाबी छ । राजेन्द्रले चुनावी तालमेल नगर्ने संकेत दिएपछि ओली नेकपातिर ढल्किएको एमाले नेताहरूको दाबी छ ।
एमाले महासचिव शंकर पोख्रेल नेकपा र आफूहरूबीच तालमेलको कुरामा सत्यता नभएको दाबी गर्छन् । ‘तालमेलको सूचनामा सत्यता छैन । हामी आफ्नो हिसाबले अगाडि बढिरहेका छौँ । चुनावी सहकार्य र तालमेल एमालेले कोहीसँग गर्छ जस्तो मलाई लागेको छैन’, पोखरेलले खबरहबलाई भने, ‘पार्टीका बैठकहरूमा पनि अध्यक्ष कमरेडले तालमेलबारे कुरा राख्नुभएको छैन । एमाले आफ्नै बलमा निर्वाचन फेस गर्छ भन्ने उहाँको कुरा छ ।’
महासचिव पोखरेल दाङ २ बाट जुनसुकै हालतमा निर्वाचन जित्ने अवस्थामा रहेको दाबी गर्छन् । ०७९ को निर्वाचनमा यहाँ पोखरेललाई माओवादी नेतृ रेखा शर्माले हराएर झट्का दिएकी थिइन् ।
यता एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ पनि आफूहरू र नेकपाबीच चुनावी तालमेलको अवस्था तत्कालै नरहेको बताउँछन् । उनी माधव नेपाल लगायत नेताहरू भएको ठाउँमा अध्यक्ष ओलीले तालमेलको प्रस्ताव राखेको कुरामा विश्वस्त छैनन् ।
एमालेका दोस्रो तहका नेताले यसो भने पनि ओलीको सचिवालयका एक सदस्य प्रचण्डसँग चुनावी तालमेलबारे केही कुराकानी भएको बताउँछन् ।
नेकपाले झापा ५ मा ओलीलाई र दाङ २ मा पोखरेललाई सहयोग गरेपछि रुकुमपूर्व लगायतका कम्तीमा पनि ४ स्थानमा एमालेले सहयोग गर्ने योजना बनाएको बताइन्छ ।
उता राप्रपा अध्यक्ष लिङ्देन ओलीले यसपटक पनि तालमेलको प्रस्ताव राखे पनि आफूहरूले स्वीकार नगरेको जनाउ दिन्छन् । ‘यसपटक कोहीसँग तालमेलबिना राप्रपा एक्लै निर्वाचनमा होमिन्छ । साथीहरूले आफ्नो ढङ्गले तालमेल गरे पनि हामीले माथिबाट कसैलाई निर्देशन दिएका छैनौँ’, लिङ्देनले केही समयअगाडि खबरहबलाई भनेका थिए, ‘कस्तो र कसरी तालमेल भन्ने कुराले महत्त्व राख्दछ । यस पटक राप्रपा आफ्नै बलमा निर्वाचन लड्छ ।’

ओली आफू सुरक्षित हुने विकल्पको खोजीमा लागेका हुन् । ‘नयाँहरूको लहरका कारण आफू हारिने डर हाम्रो अध्यक्षमा देखिन्छ। उहाँले नेकपासँगै राप्रपालाई पनि तालमेलका उपाय सुझाइरहनु भएको छ,’ एमालेको ती नेता भन्छन्, ‘हामीले पाएको सूचनाअनुसार यही हप्ताभित्र प्रचण्ड र अध्यक्षबीच कुराकानी भएको छ । फोनमा नियमित संवाद भइरहेको जानकारी छ।’
देशव्यापी तालमेल नभएर निश्चित स्थानमा हुन सक्ने दुवैतिरका नेताहरू बताउँछन् । विश्लेषक श्याम श्रेष्ठ राजनीतिमा कुनै पनि कुरा सम्भावना बाहिर नरहने बताउँछन् । ओलीले आफू सुरक्षित हुन अनेक प्रपञ्च रचेको हुनसक्ने उनी बी गर्छन् । ओली मात्रै होइन, प्रचण्ड पनि बलियो बन्न तालमेलमा नरम हुन सक्ने अनुमान गर्छन् ।
‘शीर्ष नेता हार्ने भएपछि विगतमा जस्तै विवादबीच चुनावी सहकार्य र तालमेल गर्ने अवस्था देखिन्छ’, श्रेष्ठले भने, ‘पछिल्ला गतिविधि नियाल्दा नेकपा र एमालेले कुनै न कुनै रुपमा तालमेल अथवा सहकार्य गरेर जाने संकेत देखिएका छन्। तर यसो नगरेको राम्रो हुन्छ ।’
भदौको जेन-जी आन्दोलन पछाडि ओलीलाई देशमा सबैभन्दा विवादित पात्र मानिएको छ । उनीसँग कुनै पनि दल तत्कालै चुनावी सहकार्य गरेर जाने अवस्थामा देखिएका छैनन् ।
नवयुवा पुस्ताले ओली हराउने नीति अवलम्बन गर्दा यस्तो हुन गएको हो । ओलीसँग तालमेल गर्ने दललाई पनि घाटा लाग्ने डरका अरू पार्टीहरू एमालेसँग टाढिएका छन् । यहीकारण लिङ्देन पन्छिएका छन् ।
काङ्ग्रेस सभापति गगन थापा अहिले कुनै पनि दलसँग तालमेल गर्ने पक्षमा छैनन् । सभापि थापाले आफ्नो दल आफ्नै तागतमा निर्वाचन लड्ने बताइरहेका छन् । शुक्रबार सर्लाहीबाट काठमाडौं फर्केका गगनले एक अन्तर्वार्तामा प्रत्यक्ष या अप्रत्यक्ष कुनै पनि दलसँगको तालमेललाई अस्वीकार गर्ने बताए ।
‘मधेश प्रदेशका सभापतिहरूसहित उम्मेदवारसँग पनि कांग्रेसले कहीँ कतै तालमेल गर्दैन र गर्नु हुँदैन भन्ने कुरा राखेर उहाँ काठमाडौँ फर्किनु भएको छ’, सर्लाही कांग्रेसका कार्यवाहक सभापति सरोज कुमार भन्छन्, ‘यसपटक काङ्ग्रेसले आफ्नै तागतमा निर्वाचन लड्छ। कसैसँग तालमेल र सहकार्यको अवस्था छैन । सभापतिले पनि त्यही निर्देशन दिएर जानुभएको छ ।’
कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाको दबदबा हुँदा-हुँदै पनि विद्रोह गरेर दोस्रो विशेष महाधिवेशन गराएका गगन र विश्वप्रकाश शर्माले आफ्नो प्रतिवेदनमा पनि निर्वाचनमा कुनै पार्टीसँग सहकार्य र तालमेल नहुने भनेका छन् ।
गत पुस २७ गतेदेखि माघ १ गतेसम्म काठमाडौंमा विशेष महाधिवेशन गराएका दुई पूर्वमहामन्त्रीहरूले ०७९ मा पनि लोकतान्त्रिक वाम गठबन्धनमार्फत् निर्वाचन लड्दा कांग्रेसलाई घाटा भएको विश्लेषण प्रतिवेदनमा गरेका छन् ।
२०७९ को निर्वाचनमा गठबन्धनका कारण रुख चुनाव चिह्नमा भोट लाउन नपाएकाले कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिएकाले उनीहरू अहिले पछि हटेका हुन् ।













प्रतिक्रिया