एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर « Khabarhub

एक वर्ष नहुँदै छिन्नभिन्न प्रलोपा : बाबुरामले आँखा लिँदा सन्तोषले राखे नाम, जनार्दन भौतारिँदै मधेशतिर


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व माओवादी नेताहरू डा. बाबुराम भट्टराई, जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियारले गत फागुनको चुनावअगाडि स्थापना गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बुधबारबाट औपचारिक रूपमा विभाजन भएको छ।

नेपाली राजनीतिमा तेस्रो धार र वैकल्पिक शक्तिको हाँक दिएर उदाएको प्रलोपा भट्टराईको पहलमा स्थापना भएको अन्तिम पार्टी पनि थियो । तर, राजनीतिक कार्यक्रम, जिम्मेवारी बाँडफाँट, समन्वय लगायतका विषयमा विवादित हुँदै गएर अन्ततः पार्टी विभाजन भयो । 

अर्थात् पार्टीले वैकल्पिक चरित्रको न्यूनतम् मानक प्रदर्शन गर्न सकेन र बुबार दुवै पक्षले औपचारिक रूपमै सम्झौता गरेर आ–आफ्नो बाटो’ लाग्ने निर्णय गरेका हुन् । 

प्रलोपाको अध्यक्ष परिषद्का सदस्यद्वय दुर्गा शोव र सन्तोष परियारबीच बुधबार भएको आठबुँदे लिखित समझदारीले पार्टीको नाम, झण्डा र निर्वाचन चिह्नको व्यवस्थापनलाई टुंगो लगाएको छ । 

सहमतिअनुसार दुर्गा शोवको नेतृत्वमा रहने समूहले अब आफूलाई ‘नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)’ का रूपमा स्थापित गर्नेछ, आँखा चुनाव चिह्न उसैले लिनेछ । जुन पार्टी डा. भट्टराईले नै बनाएका थिए ।

अर्कोतर्फ सन्तोष परियारको नेतृत्वमा रहने पक्षले ‘प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)’ नामलाई नै निरन्तरता दिने सहमति भएको छ । यो पक्षले अब ‘आँखा’बाहेकको नयाँ निर्वाचन चिह्न र तीन रङको झण्डाका लागि निर्वाचन आयोगमा कानुनी प्रक्रिया सुरू गरेर दर्ता हुने जनाइएको छ ।

तर, विभाजनसम्म आइपुग्दा जनार्दन शर्मा प्रभाकर समूह भने झण्डै पार्टीबाट निष्क्रिय भइसकेको देखिन्छ । जसले गर्दा उसको कुनै समूहकरण वा भूमिका देखिएन ।

एकतासँगै अस्वभाविक विविधता

विशेषगरी तत्कालीन माओवादी पृष्ठभूमिका डा. भट्टराई र जनार्दन शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका सन्तोष परियारबीचको सहमतिमा गत मंसिर ७ गते निर्वाचनलाई केन्द्रित गरेर बनेको थियो प्रलोपा । तर, प्रलोपाको निर्माणसँगै अस्वभाविक विविधता पनि देखिएको थियो ।

गत फागुन २१ गते भएको निर्वाचनमा भट्टराई पक्षधरले देशका धेरै निर्वाचन क्षेत्रमा रास्वपालाई समर्थन गरेको थियो । तर, स्वयं भट्टराईले भने गोर्खामा नेपाली कांग्रेसलाई समर्थन गरेका थिए ।

त्यस्तैगरी, जनार्दन शर्मा नेतृत्वको समूहले पनि निर्वाचनमा विशेषगरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा)विरोधी शक्तिसँग सहकार्य गर्ने नीति लिएको लिएको थियो । जसले गर्दा पार्टीमा निर्वाचनको समयमा एउटै नीति र अभ्यास बन्न सकेको थिएन ।

फागुनमा सम्पन्न निर्वाचनमा सो पार्टीले एक सिट पनि जित्न नसकेपछि आन्तरिक कलह थप बढ्दै गएको थियो । जनार्दन आफैं रूकुममा भएको निर्वाचनमा नेकपाका गोपाल शर्मासँग नराम्रोसँग पराजित भए ।

त्यही बीचमा जनार्दन शर्मासँगै नेकपा छाडेर प्रलोपामा जोडिएका नेता सुधन किराती श्रम संस्कृति पार्टीमा प्रवेश गरे । उनी अहिले हर्क साम्पाङ नेतृत्वको उक्त दलका वरिष्ठ नेता छन्। यता डा. बाबुराम भट्टराईले पनि पार्टी छाडेर स्वतन्त्र भए । एकातिर पार्टीको लथालिंग अवस्था, अर्कातिर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल आएपछि जनार्दन शर्मा प्रलोपाबाट टाढिँदै गए ।

पछिल्लो समय यही मंगलबार जनार्दन शर्मा उपेन्द्र यादव, प्रभु शाह, सिके राउत र रेशम चौधरी सहितको नयाँ मोर्चा निर्माण गर्ने पहलमा लागेका छन् ।

प्रलोपा फ्लप भएपछि जनार्दनले मधेशवादी दलहरूसँग सहकार्य गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र छोडेर फागुन २१ को निर्वाचनअगाडि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका जनार्दनले मधेशवादी दलहरूसँग सहकार्य थाल्न लागेका हुन् ।

मधेशवादी दलसहित आगामी साउन २३ गते काठमाडौंको थापा गाउँमा नयाँ मोर्चा घोषणा गर्न लागिएको जनार्दनको सचिवालयले जनाएको छ।

उक्त मोर्चामा डा. सीके राउतको जनमत पार्टी, उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपाल, प्रभु साहको आमजनता पार्टी, रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, बहुजन एकता पार्टी, संघीय समाजवादी पार्टी नेपाल लगायत रहनेछन् ।

डा. बाबुराम भट्टराईले प्रलोपाको विभाजन भएपछि पनि आफूले नयाँ शक्ति निर्माण गर्ने विषयमा २०७० सालमा अगाडि सारेको विचार सही रहेको भन्दै प्रतिक्रिया दिएका छन् । 

पछिल्लो समय रास्वपा सरकारको नजिक हुँदै गएको आशंका गरिएका उनले आफूले अगाडि सारेको ५ स (सार्वभौमिकता र स्वाधीनता, संघीयता र समावेसीता, सुशासन र सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवाद) नै अहिलेको आधारभूत राजनीतिक एजेन्डा भएको तर्क गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  ६ : ०१ बजे

बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने

एजेन्सी– बङ्गलादेशको राष्ट्रपतीय चुनाव अगस्ट २० मा हुने यहाँको निर्वाचन

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

बेवारिसे बिरामीको रगत शुल्क नेरेसो काठमाडौँ शाखाले व्यहोर्ने

काठमाडौं– बेवारिसे बिरामीका लागि आवश्यक पर्ने रगत एवं रगतजन्य पदार्थको

नयाँ-पुराना सबै दल आन्तरिक कलहले बिरामी, जनतामा बढ्दैछ निराशा र आक्रोश

काठमाडौं- सत्ता र आन्तरिक शक्तिको संघर्षका कारण नेपालको राजनीति लामो