काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान आएको विनाशकारी बाढीमा परेर सयौँले ज्यान गुमाएका छन्।
दुवैतर्फ अहिलेसम्म ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ। उता बेपत्ता हुनेको संख्या अझैसम्म यकीन हुन सकेको छैन ।
नेपाल सरकारका कुनै निकायले ३१ सय भनिरहेका भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खोलेको खोजबिन वेबसाइटमा बेपत्ताको संख्या १५ हजार माथि छ।
यसरी उक्त बाढीमा ज्यान गुमाउनेमा दुवैतर्फका सुरक्षाकर्मी र भन्सार तथा अध्यागमन अधिकारी पनि परेका छन्। नेपालतर्फ ठूलो क्षति भएजस्तै चीनतर्फ पनि कर्मचारी र प्रहरीले ज्यान गुमाएका छन्।
यसरी ज्यान गुमाउनेमा नयाँ जिम्मेवारी सम्हालेको चार दिनमै भोटेकोशीको बाढीमा बिलीन एकजना चिनियाँ युवती पनि छिन् । उनी भन्सार अधिकृतका रुपमा केरुङमा आएको चौथो दिनमै ज्यान गुमाउन बाध्य भइन्।
२४ वर्षीया ली लेयाङले अगस्ट २१ देखि तिब्बतस्थित ग्यिरोङ (केरूङ) बन्दरगाहको भन्सार कार्यालयमा वनस्पति क्वारेन्टिन अधिकृतका रूपमा काम सुरु गरेकी थिइन्।
चिनियाँ समाचार पोर्टल १६३ डटकमका अनुसार जिम्मेवारी सम्हालेको चार दिनपछि अगस्ट २६ (भदौ १०) मा उनी कार्यालयमा काम गरिरहेका बेला नेपालतर्फ हिम पहिरो खसेपछि आएको बाढीले केरूङ बन्दरगाह क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो।
उक्त विपद्का क्रममा सात मिनेटमै २२ किलोमिटर दूरी पार गर्दै आएको पहिरो र बाढीले भन्सार कार्यालयसहित २७ वटा संरचना ध्वस्त पारेको थियो। घटनापछि भन्सार कार्यालयको संरचनाको स्टिल फ्रेम मात्रै बाँकी रहेको बताइएको छ।
चीनको तिब्बत क्षेत्रमा हालसम्म ३१ जनाको मृत्यु पुष्टि भएको छ। तीमध्ये अधिकांश गम्भीर रूपमा प्रभावित ग्यिरोङ बन्दरगाह क्षेत्रका छन्। नेपालतर्फ भने १ हजार ३४४ जनाको मृत्यु भएको छ। दुवैतर्फ हजारौँ मानिस अझै बेपत्ता छन्।
चीनको सिचुआन प्रान्तबाट उद्धारका लागि तिब्बत पुगेको टोलीका प्रमुखले अगस्ट २९ मा बेइजिङ डेलीलाई दिएको जानकारीअनुसार उद्धारका क्रममा प्रयोग गरिएको उपकरणले प्रभावित क्षेत्रमा जीवित व्यक्तिको कुनै संकेत फेला पारेको थिएन।
ली चीनतर्फ अझै बेपत्ता रहेका ५४१ जनामध्ये एक हुन्। उनको शवसमेत अहिलेसम्म फेला परेको छैन। उनको सम्मानमा केरुङ बन्दरगाह भन्सार कार्यालयले सेप्टेम्बर १ मा बिहान श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको थियो।
कठिन संघर्षपछि भन्सारको जागिर
ली पूर्वी चीनको आन्हुई प्रान्तको ग्रामीण परिवारमा जन्मिएकी थिइन्। उनले आन्हुई युनिभर्सिटी अफ एप्लाइड टेक्नोलोजीबाट एसोसिएट डिग्री हासिल गरेकी थिइन्। आफ्नो शैक्षिक योग्यता थप मजबुत बनाउन निरन्तर अध्ययन गरेकी उनले त्यसपछि आन्हुई एग्रिकल्चरल युनिभर्सिटीमा भर्ना भएर स्नातक तह पूरा गरिन्।
त्यसपछि उनले बेइजिङस्थित प्रतिष्ठित चाइना एग्रिकल्चरल युनिभर्सिटीमा स्नातकोत्तर तहको प्रवेश परीक्षा उत्तीर्ण गरिन्। केही महिनाअघि मात्रै उनले स्रोत उपयोग तथा वनस्पति संरक्षण विषयमा स्नातकोत्तर तह पूरा गरेकी थिइन्।
भन्सारको जागिरलाई चीनमा धेरैले स्थिर र सुरक्षित सरकारी रोजगारीका रूपमा हेर्ने गर्छन्। लीले भन्सार सेवामा प्रवेश गर्न भएको प्रतिस्पर्धात्मक सरकारी सेवा परीक्षामा २ हजार आवेदकमध्ये पहिलो स्थान हासिल गरेकी थिइन्।
केरुङ बन्दरगाह भन्सार कार्यालयले नयाँ कर्मचारीबारे सामाजिक सञ्जालमा जानकारी सार्वजनिक गर्दा लीले आफूलाई ‘मिहिनेती र साहसी तथा स्थिर मनोभाव भएकी व्यक्ति’का रूपमा परिचय दिएकी थिइन्। उनलाई फूल रोप्ने, पढ्ने तथा बिरालो र कुकुरसँग खेल्ने रुचि थियो।
नयाँ जिम्मेवारीबारे उनले लेखेकी थिइन्, ‘भन्सारको नयाँ सदस्यका रूपमा म वनस्पति क्वारेन्टिन अधिकृतको जिम्मेवारी गम्भीरतापूर्वक पूरा गर्नेछु। आफ्नो देशको सीमामा जैविक सुरक्षाको रेखा जोगाउन मेरो यो भूमिप्रतिको प्रेमले मलाई मेहनत गर्न प्रेरित गर्नेछ।’

‘अर्को वसन्त चाडमा आमाबुबालाई बेइजिङ लाने थियो तयारी’
लीकी कान्छी बहिनीले सामाजिक सञ्जालमा दिदीले अर्को वर्षको वसन्त चाडको बिदामा आमाबुबालाई बेइजिङ घुमाउन लैजाने वाचा गरेको स्मरण गरेकी छन्।
उनकी बहिनीले लेखेकी छन्, ‘काम सुरु गरेको चार दिनमै अब हामीले तिमीलाई फोनमा सम्पर्क गर्न नसक्ने भयौँ भनेर कहिल्यै सोचेका थिएनौँ। आमा, बुबा र म तिमीलाई घरमा कुरिरहेका छौँ।’
उनले थपेकी छन्, ‘सरकारी जागिर पाउन कति कठिन हुन्छ। तिम्रो पहिलो तलब नै पेन्सन हुनेछ भनेर कसले सोचेको थियो र?’
लीको दुःखद् कथाले चिनियाँ सामाजिक सञ्जालमा ठूलो भावनात्मक प्रतिक्रिया जन्माएको छ।
एक इन्टरनेट प्रयोगकर्ताले लेखेका छन्, ‘उनको पूरै जीवन परीक्षाको तयारीमै बित्यो। जीवनको खुसी केवल चार दिन अनुभव गर्न पाइन्। उनको जीवन निकै दुःखद् भयो।’
अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘भाग्य उनीप्रति निकै क्रूर भयो। उनको दुःखप्रति गहिरो दुःख लागेको छ। शान्तिको कामना !’












प्रतिक्रिया