काठमाडौं – नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र नीता ढुंगानाले मेकिङमा डेब्यू गरे, तर दुवैलाई पहिलो गाँसमै ढुंगा लागेको छ ।
नायिका प्रियंका कार्कीले भदौ ५ बाट प्रदर्शनमा आएको फिल्म ‘मास्टर्नी’बाट निर्माणमा डेब्यू गरिन् । यो उनको होमब्यानर ‘आयंका फिल्मस्’को पहिलो फिल्म हो ।
त्यस्तै, भदौ १२ बाट प्रदर्शनमा आएको फिल्म ‘पार्वती’बाट नीताले निर्देशनमा डेब्यू गरिन् । उनको लामो समयदेखिको इच्छा पूरा भयो । किनकि उनले ‘निर्देशमा आउँछु’ भनेकै आधा दशकभन्दा बढी भइसकेको थियो ।
नीताले अन्तत: निर्देशन गरेरै सबैलाई देखाइन् । तर, फिल्म भने थोरै दर्शकलाई मात्रै देखाउन सकिन् ।
दुवै नायिका जुन जिम्मेवारीमा रहे पनि उनीहरूले आफ्नै लागि फिल्म बनाएका हुन् । किनभने उनीहरू नै आफूले बनाएको फिल्मको शीर्ष भूमिकामा छन् ।
प्रियंकाको ‘मास्टर्नी’ले सुरुवाती १७ दिनमा ४० लाख ग्रस कलेक्सन गरेको छ । व्यापारका हिसाबाले यो फिल्म सुपरफ्लप हो । प्रियंका जस्तो हाई प्रोफाइल नायिकाको फिल्मको व्यापार लाखमै खुम्चिनु भनेको गम्भीर विषय हो ।
‘पार्वती’ले भने सुरुवाती १० दिनमा डेढ करोड ग्रस कलेक्सन कटाएर केही हदसम्म लाज ढोकेको छ । तर, उक्त अवधिमा एक करोड ५८ लाख ग्रस कलेक्सन हुनु भनेको फिल्म फ्लप बन्नु नै हो ।
कमजोर अकुपेन्सीले ‘पार्वती’को शो संख्या कटौती हुन थालेको छ । यता प्रियंकाको ‘मास्टर्नी’ हलबाट उत्रिसकेको छ ।
प्रियंकाले नेपाली बजारमा सफल भइरहेको भन्दा फरक जनरा ‘क्राइम थ्रिलर’ रोजेकी थिइन् । तर, उनलाई भारतीय फिल्म ‘कपी’ गरेको आरोप लाग्यो ।
यता नीताले सफल भइरहेको सामाजिक भवनात्मक कथामै फिल्म बनाएकी थिइन् । तर, यो फिल्मले दर्शकलाई आकर्षित गर्न सकेन ।
यी दुईको फिल्मको व्यापार तुलना गर्दा नीता नै सफल छिन् । प्रियंकाको फिल्मको भन्दा नीताको फिल्मले चार गुणा बढी व्यापार गरेको छ ।
भदौमा दुई नायिकाले मेकिङमा डेब्यू गरे तर उनीहरूले व्यवसायिक सफता पाउन भने सकेनन् । पछिल्लो समय दुवै नायिकाहरूको फिल्म बक्स अफिसमा असफल छन् ।
यी दुवै नायिका कुनै समयका ‘मस्ट डिमान्डेड’ हुन् । तर, अहिले उनीहरूकै फिल्मले सफलता पाउन सकेको छैन । करिअरको नयाँ अध्यायमा दुवैलाई झट्का लागेको छ ।












प्रतिक्रिया