काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी अन्त्य हुनुपर्ने र युद्धको क्षतिपूर्ति पाउनुपर्ने सर्त इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स’ले अघि सारेको छ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भने इरानी नेतृत्वले हर्मुज स्ट्रेटमा कुनै पनि प्रकारको कर वा महसुल नलगाउने प्रतिबद्धता जनाएको बताएका छन्। अमेरिकाले हर्मुज स्ट्रेट हुँदै यात्रा गर्ने व्यापारिक जहाजमाथि आक्रमण रोक्न इरानसँग औपचारिक प्रतिबद्धता खोजिरहेको बेला भान्सको यो भनाइ आएको हो।
यसैबीच, इजरायलले ओगटेको वेस्ट बैङ्कका विभिन्न स्थानमा इजरायली सेनाको छापा र यहुदी बस्ती विस्तारक (सेट्लर्स) को आक्रमण तीव्र बनेको छ। प्यालेस्टिनी सूचना केन्द्रका अनुसार नाबलुस सहर पूर्वमा रहेको बेत फुरिक गाउँमा इजरायली सेनाले दर्जानौँ घरमा छापा मारी सोधपुछ गरेको छ।
त्यसैगरी, जेनिन नजिकैको जाबा, रामल्लाह पूर्वको तैबेह र बेथलेहेम नजिकका प्यालेस्टिनी बस्तीमा यहुदी सेट्लर्सले भौतिक सम्पत्तिमाथि तोडफोड तथा आक्रमण गरेका छन्। नाबलुस पश्चिममा रहेको दिर शराफमा जैतुनका रुखहरू काटिनुका साथै पानीका ट्याङ्कहरू नष्ट पारिएका छन्।
इजरायलमा आमनिर्वाचन हुन तीन महिनाभन्दा कम समय बाँकी छँदा यस्ता हिंसात्मक घटना बढेका हुन्। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सुदूरदक्षिणपन्थी (फार-राइट) गठबन्धनका लागि वेस्ट बैङ्कमा भूमि कब्जा र अवैध बस्ती विस्तार मुख्य राजनीतिक एजेन्डा मानिन्छ।












प्रतिक्रिया