काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी छ । मतदान भइरहेका बेला केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बेलुका ७ बजेसम्म मतदान गर्न सकिने जानकारी दिएका छन् । मतदान सकिएलगत्तै आवश्यक प्रक्रिया पूरा गरेर आजैबाट नै मतगणना सुरु हुने उनले बताए ।
उनले खबरहबसँगको कुराकानीमा मतगणना सकिएपछि आवश्यक प्रक्रिया पूरा गरेर आजबाट नै सभापति पदको मतगणना सुरु गरिने जानकारी दिएका छन् । ‘आजैबाट मतगणना सुरु गर्ने तयारी छ । सुरुमा सभापतिबाट मतगणना हुन्छ,’ कटुवाल भने, ‘जतिबेला भएपनि हामी प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिहाल्छौँ । बेलुका ७ बजेभन्दा उता मतदानको समय थपिन्न ।’
उनले सबै मतदाताहरूलाई मत हाल्न पाउने सुविधा रहेको बताउँदै ७ बजेसम्म मतदान सकिसक्ने जानकारी दिएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका लागि श्यामकृष्ण खड्की र गगन थापा उम्मेदवार छन् । वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पनि पुष्पा भुसाल निर्विरोध भएका छन् ।
निर्वाचनमा पर्चा र प्यानल नबनाउने भएपनि विभिन्न नाममा सामग्रीहरु बाँडिएको आरोप लागेको छ । तर यसबारे सभापति गगन थापा र वरिष्ठ उपसभापति शर्माले कुनै पनि प्यानल र पर्चा नबाडिएको दाबी गरेका छन् ।
कांग्रेसको १५ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भएकी पुष्पा भुसाल पनि जस्तोसुकै परिस्थिति आएपनि सभापतिको मत गणना आजैबाट हुने आयोगले जानकारी दिएको बताउँछिन् । मतदान सकिएलगत्तै प्रक्रिया पूरा भएपछि सुरुमा सभापतिकै मतगणना सुरु हुने सहमति भएको उनले जानकारी दिइन् ।
अरुबारे छलफल हुँदै
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव कटुवालका अनुसार अरु पदको मतगणनाबारे छलफल जारी छ । अरु पदको मतगणना आजै बेलुकाबाट गर्ने कि भोलिबाट गर्ने विषयमा निर्णय भइनसकेको बताइएको छ ।
थापाले निकै मेहनत गरेर फकाउने कोसिस गरेपनि श्यामकृष्णले निर्वाचनको परिणाम स्वीकार्ने बताउँदै उम्मेदवारी फिर्ता लिएका थिएनन् ।
कांग्रेस नेता मीन विश्वकर्माले खबरहबसँगको अन्तर्वार्तामा अरु नेताहरुई पनि पदाधिकारीमा सहमत गराउनका लागि मनाउने कोसिस भएको खुलासा गरेका छन् । तर मनाउने कोसिस भएपनि आकांक्षीहरू बढेपछि निर्वाचनमा जानुपरेको विश्वकर्माको प्रष्टीकरण छ ।
विश्वकर्माले दिएको जानकारी अनुसार विशेष महाधिवेशन पक्षधर निर्वाचनबाट धेरै सुरक्षित देखिन्छ । पूर्वसभापति शेरबहादुर देउवा पक्षबाट ढिलो गरी संस्थापनमा आएका नेताहरू भने असुरक्षित देखिन्छन् ।
पूर्वसभापति देउवा पक्षले आगामी मंसिरमा महाधिवेशन गर्ने तयारी गरिरहेको छ । यसै अनुसार अहिले उक्त पक्षको वडा अधिवेशन चलिरहेको छ ।














प्रतिक्रिया