‘सिंहदरबार वरिपरि सम्पर्क कार्यालय खोल्दैमा कांग्रेस फुट्दैन’ « Khabarhub

‘सिंहदरबार वरिपरि सम्पर्क कार्यालय खोल्दैमा कांग्रेस फुट्दैन’

एकता बचाउन नेतृत्वमा गम्भीरता चाहियो



काठमाडौं- विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएको चार महिना बितिसक्दा पनि नेपाली कांग्रेसभित्रको किचलो अझै मत्थर भएको छैन । अहिले गगन थापा नेतृत्वको संस्थापन पक्ष नीति तथा प्रशिक्षणका लागि प्रदेश दौडाहामा छ ।

विशेष महाधिवेशनमा सहभागी नबनेको इतर समूह पनि पार्टी एकता र १५ औँ महाधिवेशनको नाममा प्रदेश भेलामार्फत शक्ति जाँचिरहेको छ । अनामनगरमा सम्पर्क कार्यालय स्थापना गरेको यो समूहले समानान्तर राजनीतिक गतिविधि अघि बढाउने तयारी गरिरहेको पनि देखिन्छ । यससँग एकताको भजन गाएका संस्थापन र इतर समूहबीच पार्टीभित्र दूरी घट्नुको सट्टा झन् चुलिँदै गएको छ ।

यसै सन्दर्भमा नेपाली कांग्रेसभित्रको आन्तरिक बेमेलका विषयमा आधारित रहेर १४ औँ महाधिवेशनका केन्द्रिय कार्यसमिति सदस्य तथा पूर्वमन्त्री एनपी साउदसँग खबरहबले कुराकानी गरेको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश-

यहाँहरुले अनामनगरमा बेग्लै कार्यालय खोलेको विषयलाई लिएर कतिपयले पार्टी विभाजनको चर्चा पनि गरिरहेका छन् । के भन्नुहुन्छ ?

हाम्रो पार्टीका युवा नेताहरुले सम्पर्क प्रयोजनका लागि अनामनगरमा कार्यालय स्थापना गर्नुभएको छ । विशेष गरेर सबैलाई पायक पर्ने सिंहदरबार तथा संसद भवनको वरिपरि कार्यकर्ता तथा जनप्रतिनिधिका लागि सहज होस भनेर कार्यालय स्थापना गर्ने पुरानै अभ्यास हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ ।

यहाँहरुले शंख चिन्ह लिएर पार्टी खोल्ने र आगामी निर्वाचनमा आफ्नै ढंगले जाने चर्चा पनि सुनिन्छ । कांग्रेस फुटको विन्दुमा पुगेकै हो ?

त्यस्तो होइन । अहिले हामी नेपाली कांग्रेसकै फरक विचार समूह मात्रै हौँ । अहिले हामी पार्टीलाई दुई धार बनाउने भन्दापनि सामञ्जस्यताका साथ पुनर्जागरण गरेर पार्टीलाई पुर्नस्थापित गर्न देशैभर भेला अन्तक्रिया तथा छलफल गरिराखेका छौँ । विशेष महाधिवेशनपछि जसरी पार्टी कमजोर भएर गयो, यो क्षतिको कसरी न्यूनीकरण हुन सक्दछ भन्नेमा हाम्रो भेला केन्द्रित छ । यस्तै, पार्टीमा रहेको अन्यौलता चिर्ने र आगामी महाधिवेशनको वातावरण बनाउने दायित्व पार्टीको संस्थापन पक्षको हो । त्यसमा पार्टी सभापति गगन थापालै नै अग्रसरता लिनुपर्छ ।

संस्थापन पक्षले जरा अभियानमार्फत क्रियाशिल सदस्यता अद्यावधिक गरेर महाधिवेशनमा जाने निर्णय गरिसकेको छ । त्यसमा यहाँहरुको फरक मत सुनिन्छ नि ?

मेरो बुझाइमा जरा अभियानबाट क्रियाशिल सदस्यता अद्यावधिक गर्ने काम प्रशासनको हो । प्रशासनले यतिबेला १४ औँ कार्यसमितिद्वारा १५ औँ महाधिवेशनका लागि नयाँ सदस्यता र नवीकरण वर्तमान नेतृत्वकै कार्यकालमा नै गरिसकेको हो । त्यसमा त्रुटि भए सच्याउनुपर्छ । पार्टी छोडेका वा अनुशासन उल्लंघन गरेका व्यक्तिको सदस्यता खारेज गर्नुपर्छ । तर, एकचोटी नवीकरण तथा क्रियाशील भइसकेको व्यक्तिका हकमा समयावधि बाँकी रहँदै पुनः अद्यावधिक गर्ने कुरा कुनै पनि हालतमा तर्कसंगत र प्रक्रिया अनुरुप छैन । त्यसलाई हामी मान्दैनौँ ।

कानुनले विशेष महाधिवेशनलाई वैध ठहर गरेपछि सोही निर्णय स्वीकारेर हामी पनि उहाँको नेतृत्वमा निर्वाचनमा गइसकेको अवस्थामा पार्टीका सबै पक्षलाई समेटर १५ औँ महाधिवेशनमा लैजानुपर्ने दायित्व गगनजीकै हो ।

तपाईँहरु एकता–एकता भनेपनि समानान्तर कार्यक्रम गर्दै एक–अर्कामाथि आरोप प्रत्यारोप गर्न छोड्नुभएको छैन । औपचारिक वार्तामार्फत विवाद टुङ्गो लगाउन केले रोक्यो ?

हालसम्म एकताका लागि परिणाममुखी वार्ता भएको छैन । विवाहमा जाँदा, जन्तीमा, बाटोमा भएको भेटमा गरिएको व्यक्तिगत गफलाई दुई पक्षसँग वार्ता भयो भन्न मिल्दैन । पार्टी सभापतिले निवर्तमान कार्यवाहक सभापतिसँग दुई पटक भेटवार्ता गर्नुभएको छ । यस्तै, वरिष्ठ नेता डा. शेखर कोइरालासँग पनि भेटघाट गर्नुभएको छ । तर, त्यसको प्रतिफल केही निस्किएको छैन । वार्ताको लागि पुनः आउनुभएको छैन वा चाहानुभएको छैन ।

विशेषमा नखुलेका केही नेतालाई सभापति थापाले विभिन्न पदमा मनोनित गर्नुभएको छ, यो निर्णय त एकताकै लागि भएको होला नि ?

केन्द्रिय कार्यसमितिमा केही साथीहरु मनोनयन भएका छन् । ती मनोनयन सभापतिको व्यक्तिगत चाहानामै गरिएका हुन् । विशेष महाधिवेशन पक्षधर र त्यहाँ सहभागी नभएकाहरुबीच छलफल गरेपछि मात्रै एकताको फर्म्याट विकास हुन सक्छ । विशेष महाधिवेशन पक्षधर र त्यहाँ सहभागी नभएका दुबै मिलेर छानबिन समिति, निर्वाचन समिति बनाउनुपर्छ । यसरी सबैको लागि समान मैदान गराएमात्रै महाधिवेशन निष्पक्ष हिसाबले पूरा गर्न सकिन्छ । हाम्रो पार्टी अहिले इतिहासकै सबैभन्दा कमजोर बनेको छ । ८९ सिटबाट ३८ सिटमा झरेका छौँ । यस्तै, समानुपातिक भोटमा २७ लाखबाट घटेर १७ लाख सीमित बनेका छौँ ।

अब एकाध वर्षभित्रै प्रदेश र स्थानीय तहको निर्वाचनमा जानुपर्छ । अहिले सरकारमा गएको पार्टी झण्डै दुई तिहाइको बहुमतमा छ । यस्तो चुनौतीपूर्ण अवस्थामा विभाजन र हारजितको मानसिकता लिएर जाने हो भने यो लोकतन्त्र र मुलुकका लागि दुर्भाग्य हुनेछ । सबैले आफ्नो ठाउँबाट त्याग गर्न सक्नुपर्छ । पदमा आसिन साथीहरुले ज्यादा त्याग गर्न खोज्नुपर्छ र पदमा नभएकाले पनि एकताका लागि लचिलो बन्नुपर्छ ।

संस्थापनका नेताहरु त ६०-४० चल्दैन, गाडी हिडिसक्यो नआउने छुट्छन् भन्न थालेका छन्, तपाईंको प्रतिक्रिया के छ ?

पार्टीभित्र दिने र लिने प्रवृत्तिलाई समाप्त गर्नुपर्छ । सबैलाई समान हुने अवस्था बनेपछि महाधिवेशनमा जान २/४ महिनाका लागि कसैले पद मागेको होइन । नयाँ–नयाँ व्यवधान सिर्जना गरेर अगाडि बढ्दा एउटा ग्रुपको मात्रै पार्टी हुन्छ । आधा सदस्य मात्रै विशेष महाधिवेशनमा सहभागी भएका थिए । झण्डै आधा जति हामी अझै पार्टी बाहिरै छौँ । चुनावमा पार्टीले इतिहासकै लज्जास्पद हार पनि व्यहोर्नुपर्‍यो । यस्तो अवस्थामा नेतृत्वमै भएको मान्छेले बाध्यात्मक सर्तहरु राखिदिँदा यसले एकताको प्रयत्नलाई चोट पुर्‍याउँछ र पार्टीको क्षमतामा ह्रास आउँछ ।

शेरबहादुर देउवा अझै देशबाहिर नै हुनुहुन्छ । उतैबाट उहाँले यहाँहरुलाई परिचालन गर्नुभएको भन्ने हल्ला पनि सुन्न पाइन्छ ।

उहाँ इलाजको सिलसिलामा बाहिर हुनुहुन्छ । स्वास्थ्योपचार सकिएपछि उहाँ फिर्ता आउनुहुन्छ । उहाँ पार्टीको बारेमा चिन्तित हुनुहुन्छ । आगामी बाटोबारे देशभित्रै जिम्मेवार पदमा रहनुभएका साथीहरुले जवाफदेही र जिम्मेवार बन्नुपर्छ । यो हाम्रो दायित्व हो । पूर्वप्रधानमन्त्री तथा निवर्तमान सभापति ज्यूलाई यसमा तानिराख्नु जरुरी छैन । यहाँ उपलब्ध भएका साथीहरुले नै सबै काम हेरिरहनुभएको छ ।

प्रकाशित मिति : ८ जेठ २०८३, शुक्रबार  ७ : ४५ बजे

आठ महिनापछि अन्तरिक्ष टोलीको सुरक्षित फिर्ती

मस्को– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा आठ महिना बिताएको अमेरिकी–रूसी

पोखराको केदारेश्वर मन्दिरमा साउने सोमबारको रौनक (तस्बिरहरू)

पोखरा– साउनको दोस्रो सोमबार आज पोखराको केदारेश्वर मन्दिरमा दर्शनार्थीको भीड लागेको

‘गौँथली’ को बम्पर व्यापार, पहिलो सातामा साढे २ लाखले हरे

काठमाडौं – डा. कपिल रिजालको निर्देशनमा बनेको फिल्म ‘गौँथली’ ले

मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छ : प्रदेश प्रमुख कर्ण

जनकपुरधाम– मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मानव अधिकारको प्रभावकारी

मन्त्री लम्सालले भने- खानेपानी उपभोक्ताको माग सम्बोधन गर्छौँ

काठमाडौं– पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुंगा सुरुङमार्ग उद्घाटन स्थलमा प्रदर्शन