‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’ « Khabarhub

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

स्थानीय भन्छन्- केही बाँकी छैन, सपना जस्तै भएको छ



काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका तीनवटा वडा पूर्ण रूपमा प्रभावित भएका छन्। क्षतिको यकिन विवरण अझै आउन सकेको छैन। रसुवासहित नुवाकोट, धादिङ र चितवन लगायत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। सबैभन्दा बढी क्षति रसुवाको गोसाईकुण्ड गाउँपालिकाका तीनवटा वडामा भएको छ।

चीनको तिब्बत हुँदै बग्ने ल्हेन्दे खोलादेखि रसुवागढी नाकाबाट भोटेकोसी नदीमा आएको बाढीले नुवाकोटको त्रिशूली र बेत्रावती बजार क्षेत्रमा अकल्पनीय क्षति पुर्‍याएको छ। बाढी र त्यसबाट भएको क्षतिका कारण रसुवा र नुवाकोटका चीनसँग जोडिएका सीमावर्ती नाका अब फेरि खुल्नै नसक्ने गरी बन्द भएका छन्।

अहिलेसम्म नेपाल प्रहरी र सरकारले समेत क्षतिको यकिन विवरण सार्वजनिक गर्न सकेका छैनन्। ठूलो भौतिक क्षतिसँगै मानवीय क्षतिसमेत अकल्पनीय रूपमा भएको देखिएको छ। उद्धारका लागि उडेका हेलिकप्टरसमेत समयमा अवतरण गर्न नसक्दा थुप्रै नागरिकले ज्यान गुमाउनुपरेको अवस्था देखिएको छ। स्थानीयका अनुसार पर्याप्त हेलिकप्टर नहुँदा उद्धार कार्यमा थप समस्या भएको हो। अहिलेसम्म साढे ३ सय जना बेपत्ता भएको खुलेको छ।

गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कोईसाङ नुर्पु तामाङका अनुसार बाढीले खोलाभन्दा २६० देखि २७० मिटर माथिका घरसमेत क्षति पुर्‍याएको छ। टिमुरे, स्याप्रुबेंसीलगायतका स्थानमा यस्तो क्षति भएको उनी बताउँछन्।

के भन्छन् जनप्रतिनिधि र कर्मचारी?

गोसाईकुण्ड गाउँपालिकाका वडा नम्बर २, ३ र ५ का करिब ४० प्रतिशत मानिस सम्पर्कविहीन रहेको वडा नम्बर ३ का वडाध्यक्ष मिन्मार छिरिङ तामाङ बताउँछन्।

‘यहाँका क्षेत्र पूरै बगर बनेका छन्। वडा नम्बर ३, २ र ५ का ४० प्रतिशतभन्दा बढी मानिस सम्पर्कमा हुनुहुन्न। उद्धारका लागि कोही जंगलमा बसेको, कोही रुखमा चढेको र कोही ओडारमा बसिरहेको जानकारी आएको छ,’ वडाध्यक्ष तामाङले खबरहबसँग भने, ‘उद्धार गर्न सक्ने अवस्था छैन। माथिबाट उद्धार गर्नु भनेर निकालिरहनुभएको छ रे ! कसरी उद्धार गर्ने र? म त काठमाडौंमा थिएँ। साथीहरूले यस्तै सूचना दिइरहनुभएको छ। फोन सम्पर्क हुन सकेको छैन।’

गाउँपालिका अध्यक्ष कोईसाङ नुर्पु तामाङका अनुसार टिमुरे बजारमा अब कुनै पनि क्षेत्र बाँकी छैन।

‘अन्धकारमय भएको छ। बजार, पसल, कार्यालय र कुनै पनि अवशेष बाँकी देखिँदैन। हिसाब गरेर बस्ने अवस्था छैन। के भयो, भयो ? म त केही भन्न सकिरहेको छैन। के कति मान्छे सकुशल हुनुहुन्छ, के कति गइसक्नुभयो, कुनै पनि रूपमा सम्पर्क र सूचना आउन सकेको छैन। उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूको पनि उद्धार हुन सकेको छैन, किनकि हेलिकप्टर बस्ने अवस्था पनि छैन,’ तामाङले भने।

सरकारका तर्फबाट उद्धारका लागि पहल भए पनि हेलिकप्टर अवतरणको समस्या भइरहेको तामाङले जानकारी दिए।

अहिले गोसाईकुण्ड गाउँपालिकाकी उपाध्यक्ष र एकजना वडाध्यक्षसमेत सम्पर्कविहीन छन्। उपाध्यक्ष प्रतिमा तामाङ र वडा नम्बर ५ का अध्यक्ष दाबा मिङमार तामाङसँग सम्पर्क हुन सकेको छैन। गाउँपालिका उपाध्यक्ष तामाङ र वडा नम्बर ५ का अध्यक्ष तामाङ एउटै क्षेत्रमा थिए ।

‘९ बजेपछि उहाँहरूसँग सम्पर्क हुन सकेको छैन। फोन पनि अफ छ। के गर्ने, के गर्ने, अन्धकारजस्तो भएको छ। अरू स्थानीयवासीहरूसँग पनि सम्पर्क हुनै सकेको छैन। के गर्नु, के नगर्नु अवस्थामा छौँ,’ गाउँपालिका अध्यक्ष तामाङले भने, ‘के गर्ने, कहाँ जाने, कसो गर्ने, केही अवस्था नै छैन। हेलिकप्टर त आउँछ होला, तर कहाँ ल्यान्डिङ गर्ने? सरकारको पनि त्यति गम्भीरता भएन कि, के भयो भन्ने अवस्था नै छैन।’

तामाङले आफूहरूको मन भक्कानिएर उद्धारका लागि जाऊँ भनेर सोचिरहे पनि त्यस्तो अवस्था नरहेकाले टुलुटुलु हेरेर बस्नुपरेको बताए।

‘कर्मचारी र हामीले संख्या टिप्ने प्रयत्न गरेका छौँ, तर त्यो भ्याउने जस्तो अवस्था छैन। के गर्ने, के नगर्ने? हामी कसरी काम गर्ने? आत्तियौँ। यस्तो त कहीँकतै देखिएकै थिएन। सपना जस्तै भएको छ। सपना त होइन?’ उनले भने।

एकाध हेलिकप्टर उडे पनि तिनले के गर्ने भन्ने प्रश्न गर्दै गाउँपालिका अध्यक्ष तामाङले उद्धारमा देखिएको कठिनाइप्रति दुःख व्यक्त गरे। उनले आँखैअगाडि धेरै जना साथीहरू डुबेको दृश्य देख्दा कतिपय व्यक्ति बेहोस भएकोसमेत जानकारी दिए। ‘यहाँको अवस्थाको कुरै नसोध्नुहोस् न,’ उनले भने।

गोसाईकुण्ड गाउँपालिका-४ लाङटाङका वडासचिव तेम्पा छिरिङ तामाङ पनि बगरजस्तो बनेको क्षेत्रलाई हेर्नुबाहेक आफूहरूसँग अरू कुनै विकल्प नरहेको बताउँछन्। बाढी प्रभावित क्षेत्रबाट ‘गुहार, गुहार’ भनेजस्ता आवाज आइरहे पनि उद्धार गर्न आफूहरूसँग कुनै उपाय नरहेको उनले बताए।

उद्धारका लागि आएका हेलिकप्टरसमेत अवतरण गर्न नसक्ने अवस्था रहेको उनी बताउँछन् ।

‘गुहार, गुहार भनेको जस्तो आवाज आउँछ। हेलिकप्टर पनि ल्यान्ड हुन सकेको छैन। धुन्सेबाट हेर्दा पूरै बगरजस्तो देखिएको छ। यस्तो दृश्य त फिल्ममा पनि बिरलै देखिन्थ्यो,’ वडा सचिव छिरिङले भने, ‘कर्मचारी साथीहरू पनि थुप्रै फस्नुभएको छ। बैंकका साथीहरू पनि थुप्रै फस्नुभयो। हामीसँग केही साथीहरू सम्पर्कमा आउनुभएको थियो, त्यो पनि अहिले हुन सकेको छैन। जंगलमा र रुखमा पनि धेरै साथीहरू उद्धारको प्रतीक्षामा हुनुहुन्छ रे। हामी त रामराम भन्दै बसिरहेका छौँ।’

प्रहरी पनि सम्पर्कविहीन

तीन जिल्लामा अहिलेसम्म ३२ जना नेपाल प्रहरी सम्पर्कविहीन रहेको बताइएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी नवीननारायण काफ्लेका अनुसार सशस्त्र प्रहरीतर्फ नौ जना अहिलेसम्म सम्पर्कविहीन छन्। जम्माजम्मी ४१ जना सुरक्षाकर्मी सम्पर्कमा आउन नसकेको उनले बताए।

रसुवामा आएको बाढीबाट घाइते भएका १३ जनालाई उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ। उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो। सम्पर्कमा आएका अन्य प्रहरीको पनि उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ।

खोलाको बहाव नघटेकाले उद्धार कार्यमा समेत समस्या भइरहेको नेपाल सरकारका कर्मचारीहरूले बताएका छन्। गृहमन्त्री सुदन गुरुङले पनि बुधबार प्रतिनिधि सभामा बाढीबारे जानकारी गराएका थिए। तर नेपाल सरकारसँग पनि उचित तथ्यांक अहिलेसम्म उपलब्ध नभएको उनको भनाइ थियो।

बाढीबारे विभिन्न अनुमान

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको थियो। बैठकमा हिउँ पग्लिएर बाढी आएको हुनसक्ने अनुमान गरिएको थियो। प्राधिकरणको बैठकपछि प्रवक्ता शान्ति महतले रसुवामा आएको बाढीबारे जानकारी दिँदै तिब्बततर्फबाट बाढी आएको बताइन्।

उनका अनुसार तिब्बततर्फ करिब ४८ बजे बाढी आए पनि नेपालमा भने राति ९ बजे मात्रै त्यसको प्रभाव देखिएको र जानकारी आएको थियो। हिउँ पग्लिएर बाढी आएको हुनसक्ने अनुमान गर्दै महतले भनिन्, ‘गत वर्ष पनि यस्तो समस्या भएको थियो। हामीले यसबारे तिब्बत र चीनसँग ‘ट्रान्स-बाउन्ड्री’ छलफल गर्नुपर्ने भएको छ।’

उनले अगाडि भनिन्, ‘उतापट्टिको भएकाले हामीलाई बाढी आइसकेपछि मात्रै थाहा भएको छ। यस्ता समस्याहरू बढेकाले हामीले चीन सरकार र नेपाल सरकारबीच एमओयू गरेर अघि बढ्नुपर्ने आवश्यकता देखिएको छ।’

महतले चीनतर्फ र नेपालतर्फबाट नै यो समस्या समाधानका लागि पहल हुनुपर्ने बताइन्। उता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रारम्भिक अध्ययनबाट नयाँ तथ्य सार्वजनिक गरेको छ।

प्राधिकरणका अनुसार प्लानेट ल्याब्सको स्याटेलाइट तस्बिर विश्लेषणका आधारमा नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको छ।

प्रारम्भिक अध्ययनअनुसार हिम–चट्टान पहिरोपछि ठूलो परिमाणमा गेग्रान तथा पानी ल्हेन्दे खोलामा मिसिएर त्यसपछि बाढी टिमुरे हुँदै त्रिशूली नदीमा प्रवेश गरेको देखिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले सार्वजनिक गरेको विवरणमा हिजो भदौ ९ र आज भदौ १० गतेका स्याटेलाइट तस्बिरमा हिम–चट्टान पहिरो तथा त्यसपछि ल्हेन्दे खोलामा आएको बाढीको अवस्था देखाइएको उल्लेख छ।

गत वर्ष पनि असार २४ गते उक्त क्षेत्रमा भीषण बाढी आएको थियो। नेपाल–चीन सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीमा १८ जना बेपत्ता भएका थिए। विपद् प्राधिकरणको बैठकमा आज यो विषय पनि उठेको थियो।

हिमनदीको बाँध फुटेकाले उक्त विपद् निम्तिएको हुनसक्ने आकलन गरिएको थियो। चिनियाँ विज्ञ र नेपालका विज्ञहरूले पनि हिमपहिरोका कारण बाढी आएको हुनसक्ने विश्लेषण गरिरहेका छन्। हिमपहिरो खसेपछि तिब्बती क्षेत्रमा भोटेकोशी नदी थुनिएको र त्यसबाट बनेको अस्थायी बाँध फुटेपछि बाढी आएको हुनसक्ने अनुमान भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागले पनि नेपाल र तिब्बततर्फकै क्षेत्रमा हिमताल विस्फोट भएको हुनसक्ने अनुमान गरेको छ। बाढीको कारणबारे विभिन्न राजनीतिक दल र सदनमा समेत विभिन्न किसिमका विश्लेषण तथा आवाज उठिरहेका छन्। तर उद्धारका लागि भने कुनै पनि विकल्प पर्याप्त देखिएको छैन।

दिउँसो सम्पर्कमा आएका नुवाकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले बस्ती पूरै बगाएकाले कति क्षति भयो भन्ने यकिन विवरण नै नभएको बताए। नुवाकोटमा मात्रै नभएर अन्य जिल्लामा पनि क्षति बढेकाले तत्काल क्षतिको यकिन विवरण आउने सम्भावना न्यून रहेको उनको भनाइ छ।

‘कति क्षति भयो, कति बेपत्ता हुनुभयो, यो त अचम्मै भयो। यकिन विवरण हामीसँग नै छैन। कसरी खोज्ने, के गर्ने, केही सोच्न सक्ने अवस्था पनि छैन। काम गरिरहेका छौँ, तर सम्पर्कसमेत हुन सकेको छैन,’ हुमागाईंले भने, ‘नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर उद्धार गरिरहनुभएको छ। तर उद्धारका लागि पनि थुप्रै समस्याहरू छन्। तुप्चे, डुङ्गे, देवीघाटलगायतका क्षेत्रमा पनि थुप्रै क्षति पुगेको देखिन्छ। मेरो जीवनकालमै यस्तो अवस्था कहिले देखेको थिइनँ।’

उद्धारमा अन्तर्राष्ट्रिय सहकार्यको पहल

विपद् र उद्धारमा खट्न चिनियाँ राष्ट्रपति सी चिनफिङले पनि आग्रह गरेका छन्। मन्त्रिपरिषद् बैठकमा समेत चीन र भारतसँग उद्धार तथा राहतका लागि सहकार्य गर्न संवाद र छलफल भएको छ।

बाढीपछि नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच पनि फोन संवाद भएको थियो। उक्त संवादमा दुवै देशले सहकार्य गरेर काम गर्ने विषयमा छलफल भएको मोदीले सामाजिक सञ्जालमार्फत बताएका छन्।

प्रकाशित मिति : १० भाद्र २०८३, बुधबार  ७ : ११ बजे

बाढीपीडितलाई प्रधानमन्त्रीले भने- यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य साथमा छ

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले रसुवा बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति

बाढीका कारण ‘२०८३ को गाईजात्रा’ कार्यक्रम स्थगित : मनोज गजुरेल

काठमाडौं–  रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको

भोटेकोशी बाढी : हालसम्म ७३ जनाको शव भेटियो

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका कारण

छिमेकीसँगको कूटनीतिक संवादलाई तीव्रता दिँदै इरान

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले छिमेकी मुलुकसँगको ‘दृढ’ कूटनीतिले