कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ? « Khabarhub

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?


११ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै नौलो विषय होइन । विगतमा धेरै पटक सहकार्य गर्दै विशेषतः टकरावका कारण विपरित ध्रुवमा उभिँदै आएका नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फेरि सत्ता सहकार्य गर्ने सहमति गरेका हुन् ।

दुई दलबीचमा सहकार्य टुटेको ७५४ दिनपछि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार भक्तपुरको गुन्डुस्थित ओली निवासमा तीन बुँदे लिखित सहमति भएको थियो । सो सहमतिले प्रदेश सरकारहरूमा नयाँ राजनीतिक समीकरणको सुरुवात मात्र गरेको छ ।

ओली र प्रचण्डबीच भएको तीन बुँदे सहमतिको मुख्य सार प्रदेश सरकारहरूमा गठबन्धन सहितको नयाँ सरकार निर्माण गर्ने विषय रहेको छ । सहमति अनुसार एमालेले मुलुकका तीन प्रमुख प्रदेशहरूको नेतृत्व गर्नेछ भने नेपाली कम्युनिस्ट पार्टीले दुईवटा प्रदेशको मुख्यमन्त्री पद प्राप्त गर्नेछ ।

जसमा, एमालेको नेतृत्वमा कोशी, बागमती र लुम्बिनी प्रदेशमा सरकार बनाउने कसरत हुनेछ भने नेकपाको नेतृत्वमा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सरकार बनाउने कसरत हुनेछ । मधेश र गण्डकी प्रदेशमा भने एमाले र नेकपा मिल्दा पनि सहज बहुमत नपुग्ने भएकाले अन्य राजनीतिक दलहरूसँग परामर्श गरी नेतृत्व र सहभागिताको स्वरूप तय गरिने सम्झौता दुई पक्षले गरेका छन् ।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा यी दुई दल गठबन्धन हुँदै एकता गरेर विभाजनमा टुंगिएका थिए । २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २०७७ मा सर्वोच्च अदालतको आदेशसँगै कानुनी रूपमै अलग भएको थियो ।

त्यसपछि २०७९ को निर्वाचनमा अलग–अलग लडेका यी दलहरूले पुस १० मा फेरि सहकार्य गरे पनि त्यो सहकार्य पनि दुई महिनामै भत्किएको थियो । पछिल्लो पटक १७ असार २०८१ मा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिले प्रचण्डलाई सत्ताच्युत गरेको थियो ।

जेनजी आन्दोलनपछि अहिले संघीय सरकारमा कुनै पनि पुराना राजनीतिक दलको उपस्थिति छैन । प्रदेश सरकारमा भने संघीय सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन ।

तर, पछिल्लो समयमा कांग्रेस र एमालेबीच बजेट निर्माण र सत्ता साझेदारीमा खटपट सुरु भएपछि विशेषगरी सुदूरपश्चिम र कर्णालीमा मन्त्रीहरू हटाउने र अविश्वासको प्रस्ताव राख्ने जस्ता गतिविधिले सम्बन्ध चिसिन सुरु भएको थियो । सोही अविश्वास बढ्दै जाँदा शनिबार दुई दलले नयाँ सम्झौता गरेका हुन् ।

जसलाई एमाले र नेकपाका नेताहरूले ‘बाध्यता’ र ‘आवश्यकता’ भन्दै व्याख्या गरेका छन् । प्रदेश सरकारमा देखिएको राजनीतिक ‘डेडलक’ फुकाउन यो सहकार्य अनिवार्य हुन आएको भन्दै ती दलका कतिपय नेताले सामाजिक सञ्जालमा आफ्नो तर्क प्रस्तुत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा बजेट निर्माणकै चरणमा कांग्रेस र एमालेबीच विवाद हुँदा प्रदेश ‘बजेट होलिडे’ को अवस्थामा पुगेको थियो । नेकपाका नेता नारायणकाजी श्रेष्ठले अनुसार कांग्रेस र एमाले एउटै सरकारमा नबस्ने स्थिति आएपछि प्रदेश सभा विघटन हुन नदिन एमालेसँग सहकार्य रोजिएको तर्क गरेका छन् । नेकपाका नेता वर्षमान पुनले पनि त्यस्तै तर्क गरेका छन् ।

एमाले नेता प्रदीप ज्ञवालीले भने इतिहासबाट पाठ सिकेर परिपक्व ढंगले अघि बढ्न खोजेको बताएका छन् ।

सहकार्यले छैन दुवै दलमा उत्साह, असन्तुष्टी पोख्दै नेता कार्यकर्ता

विशेषगरी दुवै पार्टीका नेतृत्व र केही सीमित नेताको पहलमा भएको यसपटकको सम्झौताले भने दुवै पार्टीमा उत्साह देखिएको छैन । दुई पार्टीबीच भएको सम्झौताको विषयमा अधिकांश नेता मौन छन् भने केहीले सार्वजनिक रूपमै असन्तुष्टी पोखेका छन् ।

विशेषगरी नेकपाका सहसंयोजक माधवकुमार नेपाल यो सहमतिसँग असन्तुष्ट बनेको विषय बाहिरिएको छ । ओलीसँग भेट्न जानुअघि प्रचण्डले माधव नेपालसँग ‘अहिले छलफल मात्र गर्ने’ भनेका थिए, तर एक्कासी प्रदेशमा सत्ता सहकार्यको लिखित सम्झौता गरेपछि नेपाल पक्षले यसलाई हतारमा गरिएको भन्दै असन्तुष्टी व्यक्त गरेको छ ।

एमाले नेता किरण गुरुङले निकै ठूलो असन्तुष्टी सामाजिक सञ्जालमा व्यक्त गरेका छन् । उनले ‘आफू सिद्धिने र पार्टी सिध्याउने स्वार्थ त्यागौं’ भनेर लेखेका छन् ।

एमालेकै अर्का नेता सूर्य थापाले यो सहकार्य बाध्यताको भएको भनेर टिप्पणी गरेका छन् । त्यस्तै, नेकपाका नेता विरेन्द्र बस्नेतले दुई दलका नेताले गरेको सहमतिमा असन्तुष्टी जनाउँदै नियन्त्रित संघीयता भन्दै टिप्पणी गरेका छन् ।

साथै, दुवै दलका धेरै कार्यकर्ताहरूले पनि सामाजिक सञ्वजालमा दुई दलको सहकार्यलाई आशंकापूर्ण ढंगले टिप्पणी गरेका छन् ।

ऐतिहासिक संकट र अस्तित्वको लडाइँ

२०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले तत्कालीन केपी ओली नेतृत्वको सरकारलाई बढारेर नेपालमा निकै ठूलो राजनीतिक शक्ति सन्तुलनमा फेरबदल ल्यायो । जसपश्चात फागुन २१ मा भएको निर्वाचनले सबै पुराना दललाई झण्डै नेपाली राजनीतिबाट किनारा लगाइदियो ।

अझ बामपन्थी शक्ति ०४६ साल यता सबैभन्दा धेरै कमजोर बन्न पुगे । अहिले प्रतिनिधिसभामा एमाले र नेकपा रक्षात्मक अवस्थामा छन् । ऐतिहासिक पराजयपछि नेता तथा कार्यकर्ताले सत्ता अभ्यास गर्न यी दुई दलको लागि प्रदेश र स्थानीय सरकार सीमित हुन पुगेको छ ।

आगामी एक वर्षभित्रै हुने स्थानीय तहको निर्वाचन र सो सँगै वा त्यसपछि लगत्तै हुने प्रदेश तहको निर्वाचन बलियो स्थिति कायम गर्न यी दुई दलको सहकार्य सुरुवात भएको अनुमान गरिएको छ । यद्यपी सम्झौतामा भने सो विषय उल्लेख गरिएको छैन ।

एमाले नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन दुवैले दुई दल बीचको सहकार्यमा तत्काल पार्टी एकताको एजेन्डा नरहेको तर मुद्दामा आधारित सहकार्य गर्दै भविष्यमा एकतासम्म पुग्न सकिने बताएका छन् । नेकपा प्रवक्ता प्रकाश ज्वाला र एमाले नेता विष्णु रिजालले पनि यसलाई ध्रुवीकरणको वातावरण बन्ने सुरुवात मानेका छन् ।

यद्यपी विगतमा एमाले अध्यक्ष ओली र नेकपा अध्यक्ष प्रचण्डको व्यक्तित्व टकरावकै कारणले सबै सहकार्यहरू भत्किएका थिए । पछिल्लो सहकार्य भत्किँदा नेकपा अध्यक्ष प्रचण्डले ‘स्वर्ग र नर्क जहाँ गए पनि सँगै जाने’ कसम खाएको केही दिनमै ओलीले कांग्रेससँग सहमति गरेको भन्दै ओलीलाई ‘विश्वासघाती’को संज्ञा दिएका थिए ।

यो केवल सत्ताको भागबन्डा, कांग्रेसलाई एक्ल्याउने दाउपेच र पार्टीभित्रको आफ्नो असुरक्षित पोजिसन जोगाउने अस्त्र मात्र बन्यो भने यसले कम्युनिस्ट आन्दोलनलाई मात्र होइन, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति नै जनताको भरोसा थप घटाउनेछ ।

एमाले–नेकपाबीचमा फेरि भएको यो सहकार्यले सकारात्मक वातावरण निर्माण गर्दै प्रदेश सरकारमा स्थिरता कायम गर्दै आगामी स्थानीय तह र प्रदेशको निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्छ वा अर्को ‘विभाजनको दुःखान्त’ निम्त्याउँछ, त्यो हेर्न बाँकी नै छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : २३ बजे

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक