काठमाडौं- ६२ वर्षीय वरिष्ठ द्वन्द्व निर्देशक तथा खलनायक राजेन्द्र खड्गी फिल्मबाट टाढिएको ६ वर्षभन्दा बढी भयो । तर, उनी अन्तर्वार्तामा दिने विभिन्न अभिव्यक्तिले चर्चामा भने आइरहन्छन् ।
५०० भन्दा बढी फिल्ममा काम गरेका राजेन्द्र मनमा कुरा राख्न नसक्ने विशेषताले विवाद पनि पर्छन् । तर ‘संसारले के भन्छ’ उनलाई मतबल हुँदैन, मनमा कुरा गुम्स्याउने उनको बानी छैन ।
उमेरमा मुड्कीले हानेर राँगा ढाल्ने उनी अहिले भने बुढ्यौलीले चेपेर ५ बजे नै निद्राले छाड्ने बताउँछन् । उनी थप्छन्, ‘६ बजेसम्म सुत्ने इच्छा भए पनि निद्रा ५ बजे खुल्छ । अनि नाति खेलाएर बस्छु ।’
६ छोरा ६ छोरी र आठ नाति–नातिनाका अभिभावक भइसकेका राजेन्द्र उमेरसँगै आँखा र दातले धोका दिएको बताउँछन् । तर, रफ–टप ड्रेसअप, शारीरिक सन्तुलन र लामो कपालले बुढो भएको आभाष हुँदैन ।
करिब ४० वर्ष बक्सिङ, कराँते लगायत विभिन्न खेलमा लागेका उनले अहिले भने टाढा छन् । शरीरमा कुनै रोग नभए पनि रिसले गर्दा प्रेसरको समस्याले सताउने उनी बताउँछन् ।
दुई घरबार गरेका राजेन्द्रले पहिलो प्रेममा जातका कारण असफल भएको प्रसंग खबरहबसँग खुलाए । जातकै कारण ब्रिटिस आर्मी बन्ने सपना अधूरो रहेको राजेन्द्रको दाबी छ ।
कीर्तिपुरको रैथाने नेवार परिवारका राजेन्द्रको जन्म, हुर्काइ– बढाइ भने हेटौंडामा भएको हो । काठमाडौं–हेटौंडा गरिरहने राजेन्द्र अहिले काठमाडौंमै स्थायी बसोबास गर्छन् । उनी अहिले कान्छी श्रीमतीसँग बस्छन् ।
‘बच्चामा धेरै कुटाइ खाएँ’
राजेन्द्रको परिवारिक पेसा मासु काट्ने हो । उमेरमा मुड्कीले राँगा ढाल्ने भए पनि सानो छँदा सोझो भएकाले साथीहरुले गोद्ने गरेको सुनाउँछन् । उनी स्मरण गर्छन्, ‘साथीहरु झगडा गर्थेँ म चुप लागेर बस्थेँ अनि मैले गोदाइ खान्थेँ । मलाई कुट्नेलाई दिदीहरुले पिट्थे ।’
१६ वर्षपछि बक्सिङ, जुडो, कराँते सिक्न लागेपछि आफू बलियो भएको उनी बताउँछन् । कराँते सिक्दा एक नम्बर इट्टा फुटाएकाले मुड्कीले राँगा ढाल्ने आँट आएको उनी सुनाउँछन् ।
उनी थप्छन्, ‘१८–१९ वर्षपछि मुड्कीले राँगा ढाल्ने भएपछि केटाहरु डराउँदै गएँ ।’
यही कारणले हेटौँटामा राजेन्द्रले ‘बाबुराजा डन’को नामले चर्चा पाएका हुन् । पहिलो प्रयासमै भने उनी मुड्कीले राँगा ढाल्न सफल भएका होइनन् ।
उनी अनुभव सुनाउँछन्, ‘पहिलो प्रयास गर्दा राँगा थुचुक्क बस्यो तर उठेर भाग्यो । मेरो हात पनि सुनियो । पछि अभ्यास गर्दै गर्दा ढाल्न थालेँ । पछि त त्यो मेरो दैनिकी बन्यो ।’
एसएलसीमा फेल हुँदा
किताब पढेर कराँते सिके पनि राजेन्द्र आफूलाई पढ्नै मन नलाग्ने बताउँछन् । यद्यपि उनले ०३६ सालमै एसएलसी गरेका हुन्, जुन बेला एसएसली पास गर्नेले राम्रो सरकारी नोकरीको अवसर पाउँथे ।
०३५ सालमा एसएलसी दिँदा दुई विषय झुन्डिएकाले अर्को वर्ष ‘ब्याक’ दिएर कटाएको उनी बताउँछन् ।
०३७ सालमा क्याम्पस पढ्न काठमाडौं आएका राजेन्द्रलाई जन्मे–हुर्केको हेटौंटा छोड्न मन लागेन । सरस्वती क्याम्पसमा फारम भने पनि उनी हेटौंडा नै फर्किए ।
फर्केर हेटौँडाको नाइट क्याम्पसमा कमर्स पढ्न भर्ना भएका राजेन्द्र पहिलो वर्षमै फेल भएपछि पढाइ हापेको बताउँछन् । उनी भन्छन्, ‘त्यो बेला पढेर जागिर खाने सोच नै आएन । जे होस् कलेजसम्म पुगेँ त्यही ठूलो कुरा हो ।’
आर्मी बन्न असफल
१९-२० वर्षमा आर्मी बन्ने इच्छाका कारण राजेन्द्र काठमाडौं नधाएका पनि होइनन् । सकेन्ड लेफ्टिन्टमा बन्ने उनको प्रयास असफल भयो ।
नेपाल आर्मीमा जागिर नभएपछि उनी सबैभन्दा बढी इच्छा भएको जागिर ‘ब्रिटिस आर्मी’ बन्ने प्रयासमा पनि लागे । तर, यहाँ भने जात बाधक बनेको उनी स्मरण गर्छन् । उनी भन्छन्, ‘ब्रिटिस आर्मी त चयन पनि भएको हुँ । पछि नेवार भएका कारण हुँदैन भन्यो ।’
पहिलो प्रेम असफल
हजुरआमा बनिसकेकी पहिलो प्रेमिकालाई राजेन्द्रले अहिलेसम्म भुल्न सकेका छैनन् । स्कुल पढ्दाको समयमा अर्कै स्कुल पढ्न केटीसँग आफू गहिरो प्रेममा परेको उनी सुनाउँछन् ।
उनी स्मरण गर्छन्, ‘ऊ आउने बाटो हेरेर म टोलाएर बस्थेँ । बिदा भएर कक्षा खाली भइसक्दो रहेछ, म ऊ आउने बाटो हेरेर टोलाएर धेरै पटक बसेको छु ।’
आफूलाई बलिउड नायिका ममताज जस्तो लाग्ने ती किशोरीसँग राजेन्द्र प्रेम सम्बन्धमा पनि बसे । तर, सो प्रेमलाई उनी विवाहमा परिणत गर्न भने असफल भए । जात बाधक बन्यो ।
उनी भन्छन्, ‘केटीकी आमा खड्गी भए पनि बुबा श्रेष्ठ थिए । तर माग्न जाँदा छोरी दिएनन् । नेवारभित्र पनि जातको कुरा हुन्छ नि ।’
कलम थापाको गुन चुनावमा चुक्ता
राजेन्द्र फिल्ममा काम नहुँदा परिवार पाल्न मान्छे कुट्ने काममा लागेको पनि खुलेआम भन्छन् । मान्छे कुट्दा एक मुक्काको एक हजार दरले लिने गरेको उनी सुनाउँछन् ।
जीन्दगी गरेको सबैभन्दा नराम्रो काम मान्छे कुट्ने भएको उनलाई अहिले महसुस भएको छ । उनी उमेरमा मान्छे कुटेर जेलसम्म पुगेका छन् । त्यसबेला आफूलाई वर्तमान राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहयोग गरेको उनले बिर्सिएका छैनन् ।
उनी सुनाउँछन्, ‘२० वर्ष हुँदा दुई जनालाई हेटौँडामा पिटेको अनुहारमा १०–१२ टाका लगाउनुपर्ने भयो । सात दिन थुन्यो । ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने कुरा भएको थियो । कमल दाइले निकालेको हो ।’
कमल थापाले जेलबाट छुटाएर लगाएको गुन त्यसलगतै भएको भएको चुनावमा सहयोग गरेर चुक्ता गरेको उनी बताउँछन् ।
ब्रुस्लीको फ्यानको एक्सल बाइकमा
राजेन्द्र युवा अवस्थामा हुँदा ब्रुस्लीको ठूलो फ्यान थिए । सबै युवा केटामा ब्रुस्लीको जस्तो ज्यान बनाउने होड भएकाले उनी पनि त्यही लक्ष्यमा केन्द्रित थिए ।
उनी भन्छन्, ‘हाम्रो सिक्स प्याक त्यही बेला थियो तर हामीलाई थाहा थिएन । ब्रुस्लीको जस्तो विङ्स बनाउने हाम्रो ध्यान थियो ।’
फ्यान भएकै कारण ०३८ सालताका ब्रुस्लीकै गेटअपमा हिडेको उनले ब्रिसिएका छैनन् । उनी स्मरण गर्छन्, ‘२७,५०० मा एक्सल बाइक किनेको थिएँ । पाँच वर्ष ब्रुस्लीकै जस्तै जाइनिज गी लगाएर हिडेँ ।’
यही एक्सएल बाइक चढेर राजेन्द्रले भुवन केसीको ‘इगो हट’ गराएको प्रसंग पढ्नुभन्दा पहिले जानौं राजेन्द्रको बुझाइमा को अभिनेता कस्ता ?
राजेश
– गरिबको हिरो । उसलाई धनी बनेको सुहाउँदैन ।
भुवन
– स्टान्डर हिरो । हिन्दी फिल्मको हिरोसँग दाज्न मिल्ने ।
निखिल
– सहासिक केटा
विराज
– हेभी
अर्यान सिग्देल
– चकलेटी । भुवन दाइलाई विस्थापित गर्ने हिरो । उसलाई प्रदीपले गर्दैछ ।
नपढ्ने बानी !
सुख दुःख कलेजसम्म पुगे पनि आफूलाई कहिल्यै पढ्न मन नलाग्ने राजेन्द्र बताउँछन् । तर उनले किताब पढेरै कराँते सिकेका हुन् ।
नपढ्ने बानी यतिसम्म हाबी थियो कि उनले कयौं फिल्मको स्क्रिप्ट नै नपढी काम गरेँ ।
उनी सम्झन्छन्, ‘स्क्रिप्ट नपढ्दा धेरै त्रुटि देखियो । मैले वकिलहरुलाई पनि भयंकर फाइट गराइदिएँ । त्यसपछि मैले स्क्रिप्ट पढ्न थालेँ । आफूले खेलेको पात्र नै फरक पर्यो अनि स्क्रिप्ट पढ्न थालेँ ।’
उनलाई स्क्रिप्ट पढ्ने चेतना भने झझल्कोमा काम गर्दा निर्देशक मञ्जुकुमारले दिएका हुन् । उनी स्मरण गर्छन्– मञ्जु दाइले स्क्रिप्ट नपढेर तिमीले डाक्टरलाई उडाएर फाइट गराएछौं राजेन्द्र भन्नुभयो । जिन्स ज्याकेट र पेन्ट लगाएको धनीको छोरा होला भनेर भयंकर फाइट गराएको डाक्टर पात्र रहेछ । अनि स्क्रिप्ट पूरा पढ्न लागेँ ।
जुत्ताको सौखिन
राजेन्द्र जुत्ताका सौखिन हुन् । नायक भुवन केसीबाट प्रभावित भएर उनले डिंगो जुत्ता लगाउन थालेका हुन् । यसरी पलाएको जुत्ताको सोख पूरा गर्न १५०० सय डलर पर्ने जुत्तासमेत लगाए ।
उनी भन्छन्, ‘भुवन दाइ फिल्ममा आउँदा नै महँगो डिंगो लगाउनुहुन्थ्यो ४–५ हजार पर्ने । हामी उहाँको सिको गर्न जुत्ता सिलाएर लाउथ्यौं ।’
०४८ सालमा हेटौँडामा ‘माया’को सुटिङ गर्दा राजेन्द्रले भुवनको जुत्ता चोरीको आरोप पनि खेप्नु परेको थियो । दुबै जनाको जुत्ता एकै परेका भुवनले आफूलाई चोरको आरोप लगाएको उनको बुझाइ छ ।
उनी भन्छन्, ‘उहाँको जुत्ता ड्रेस म्यानले राखेको रहेछ । मैले लाएको देखेपछि भुवन दाइले चोरेको आरोप लगाउनुभयो । जुत्ताको साइज पनि उही थियो । संयोग भएछ । सेटमै लफडा पनि भयो ।’
पछि ड्रेस म्यानकोमा पुग्ने र भुवनको जुत्ता भेटिए राजेन्द्रले नै राख्ने सर्त भयो । हटौंडाबाट नारायणगढ पुगेर बुझ्दा भुवनको जुत्ता ड्रेस म्यानसँग फेला पर्यो । राजेन्द्रले भुवनको जुत्ता पनि लिए ।
राजेन्द्र भन्छन्– जुत्ता भेटेपछि मैले भुवन दाइलाई थर्काएँ । ‘त्यही गोद्न मन थियो, सुटिङ रोकिन्छ भनेर हो’ भनेर डाइलग दिए ।
यो रिसको बदला लिन आफू एक्सएल बाइकमा सुटिङमा पुगेको राजेन्द्र सम्झन्छन् । उनी भन्छन्, ‘भुवन दाइको इगो हट गराउन मैले हटौंडाबाट भाइलाई भनेर एक्सएल बाइक मगाएँ । दुई–तीन दिन सुटिङमा लिएर गएँ । दिमाख खराब भयो भुवन दाइको ।’
इगो देखाउनेमाथि इगो
नायक निखिल उप्रेतीले ‘इगो’ देखाएपछि उनको टक्करमा विराजलाई हिरो बनाउन आफ्नो ठूलो भूमिका रहेको राजेन्द्र सुनाउँछन् ।
विराजलाई निखिलको टक्कर दिने हिरो बनाउन निर्माता छवि ओझा, निर्देशक सोभित बस्ने र नायिका रेखा थापाले साथ दिएको उनी बताउँछन् ।
उनी थप्छन्, ‘निखिलले यो नायिका राख्, त्यो द्वन्द्व निर्देशक राख् भनेर डिमान्ड गरेपछि हामीले विराजलाई अघि सारेको हो । निखिलले इगो नदेखाएको भए विराट भट्ट नायक हुँदैन थियो । उ भिलेन चाहिँ हुन्थ्यो ।’
त्यस्तै, नायक राजेश हमालले द्वन्द्व निर्देशकबाट आफूलाई हटाउन दबाब दिएका कारण धिरन शाक्यलाई अगाडि बढाएको किस्सा राजेन्द्र सुनाउँछन् ।
उनी भन्छन्, ‘हामीले हिट फिल्म दिइरहेका बेला राजेशले मलाई फाइट डाइरेक्टरबाट हटाउन दबाब दिए छ । त्यसपछि हामीले मैले धिरनलाई चेपेको हो । अनि राजेशको कम धिरनको धेरै फिल्म बन्न लाग्यो ।’
निखिल–रेखा र राजेश–धिरनको विवादको मूल जड पनि यही भएको उनी बताउँछन् ।
‘नायिकाको सुरक्षा गर्ने मै हो’
खलपात्र र लुक्सका कारण राजेन्द्र हेर्दै रुखो स्वाभावका देखिन्छन् । कति महिलाहरु त आफ्नो रुप देखेर भागेको पनि उनको अनुभव छ ।
तर, सुटिङमा भने आफूले सकेको सुरक्षा नायिकालाई दिएको उनी बताउँछन् । नायिकालाई जिस्काउनेलाई उनले पिटेका पनि छन् ।
उनी भन्छन्, ‘पहिला नायिकलाई जोगिएर हिँड्न गाह्रो थियो । विभिन्न केटाको नाम जोडेर आरोप लगाउथेँ । म सकेको सुरक्षा दिन्थेँ ।’
यद्यपि उनी विवाहपछि पनि प्रेम सम्बन्धमा रहेको खुलेआम बताउँछन् । कुनै नायिकाले प्रेम प्रस्ताव राखेनन् ? भन्ने प्रश्नमा राजेन्द्रको जवाफ छ, ‘मेरो विहे भइसकेकाले गरेनन् । आफूले पनि गरिएन ।’
बिहानको ड्युटी नाति हेर्ने
दुई श्रीमतीबाट जन्मिएका १२ छोरा–छोरी मध्य राजेन्द्रको एउटी छोरी विवाह हुन भएको छैन । ६० वर्ष कट्दा पनि छोरीप्रति उत्पन्न हुने मायाभावका बारेमा उनी अनविज्ञ छन् । राजेन्द्र भन्छन्, ‘छोरी प्रतिको मायाले मलाई आश्चर्यमा पार्छ । सायद हामी पनि महिलाको कोखबाट आएको भएर होला छोरीको माया अत्यन्तै लाग्ने । म छक्क पर्छु ।’
आठ जनाका हजुरबा बनेका उनी नाति–नातिनाको माया झनै लाग्नै बताउँछन् । उनी थप्छन्, ‘साँवाको भन्दा बढी ब्याजको माया लाग्ने भनेको हो रहेछ । म जहिल्यै बिहान सानो नाति खेलाउँछु, दुई घण्टा ।’
नाति खेलाउँदा आफू पनि बच्चा नै भएको जस्तो महसुस हुने राजेन्द्रको अनुभव छ । मोवाइलमै व्यस्त भए पनि अहिलका बच्चा निकै ‘स्मार्ट’ भएको उनी बताउँछन् ।
करोडमध्ये एक चेला
राजेन्द्र आफूलाई ‘मास ओयामा’को असल चेलाका रुपमा लिन्छन् । मास ‘क्योकुसिन कराँते’ परिचित गराउने जापानिज नागरिक हुन् । उनको १४० देशमा १ करोड २० लाख चेला छन् ।
आफ्नो गुरुको जीवनी बनाउने आफूमात्र एक्लो चेला रहेको उनको दाबी छ । उनी सुनाउँछन्, ‘उहाँको डकुमेन्ट्री बनाउन मैले तीन करोड बढी खर्च गरेको छु । अब रिलिज गर्छु काम हुँदैछ ।’
गुरुको सम्मानमा मूर्ति बनाएर नेपालमै पार्क बनाउने पनि राजेन्द्रको योजना छ तर नेपाली कानुनी प्रक्रियाको झमेलामा परेको उनी बताउँछन् ।
उनी गुनासो गर्छन्, ‘१० वर्ष भयो रुख काट्न नपाएकाले बनाएको छैन । उहाँको मूर्ति बनाएर पार्क बनायो भने त १४० देशका पर्यटक गुरुको भेटका लागि आउँछन् नि त । देशलाई फाइदा नै हुन्थ्यो ।’
लतको कुरा
राजेन्द्र फिल्ममा र रियलमा जति ‘ब्याड बोइ’ लुक्समा देखिन्छन् त्यति नै अनुशासित छन् । उनमा चुरोटमा र रक्सीको लत छैन ।
उनी भन्छन्, ‘म स्पोर्स्टमा लागें त्यही भएर कुलत नै फसिनँ । जिमतिर लागेकाले चाना र दूध खाइयो । अहिले ३० एमएल रक्सी खाँदा झ्याप हुन्छु । एक गिलास वियर पनि मुस्किलले खान्छु । जन्मेदेखि अहिलेसम्म चार केस बियर खाउँ होला ।’
रक्सी खाने निर्देशकको संगत नरुचाएका कारण आफूले कम फिल्म गरेको उनी सुनाउँछन् ।
तर, घरमा पारेको जाँडचाहिँ अत्यधिक मिठो लग्ने उनी सुनाउँछन् । खैनीको लतचाहिँ चाहेर पनि उनले छाड्न सकेका छैनन् ।
उनी भन्छन्, ‘मेरा गुरुबा, नेपालका पहिलो द्वन्द्व निर्देशक भुपाल भुटानीले खुवाएर फसेको हुँ, छोड्न सकिनँ उहाँकै प्रसादका रुपमा लिएको छु ।’
जीवनको ४० वर्ष बिताएको स्पोर्स्टस छोडे पनि खैनी छोड्न नसक्दा उनमा पछुतो छ ।
उनी थप्छन्, ‘साथीले स्पोर्स्ट गर् भन्छ तर धेरै गरियो मलाई अल्छी लाग्छ । बिहान बरु नातिसँग बिताउँछु ।’
फिल्म क्षेत्रमा विवाहपछि पनि बाहिर प्रेम सम्बन्ध राख्नेमा आफू दशौं नम्बरमा पर्ने उनको दाबी छ । उनी भन्छन्, ‘यहाँ धेरै कृष्ण छन् । पहिलो नम्बरमा भुवन दाइ हो । दश नम्बरमा म हो । बीचको ८ जना धेरै नायक र निर्देशक छन् ।’
नेतासँगको सम्बन्ध
राजेन्द्रको प्रायः सबै शीर्षनेतासँग दोहोरो सम्बन्ध छ । ०७४ को चुनावमा त उनले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका लागि भोट नै मागेका हुन् ।
सबै नेतालाई उनी दाइ भनेर सम्बोधन गर्छन् । यसबारेमा उनी स्पष्ट पार्छन्, ‘नेताहरुलाई बाउ भनौं भने मेरा आफ्नै छन् । काका भन्न मेरो नाताका होइनन् । सबै नेतासँग १०–१२ वर्षको उमेर फरक छ त्यसैले दाइ भन्छु ।’
राजेन्द्रका नजरमा नेताहरु :
केपी ओली
– जोली ।
प्रचण्ड
– गम्भीर, स्ट्रङ लिडरसीप भएको नेता ।
शेरबहादुर देउवा
– कमान्ड गर्न नसक्ने, लाटलुट गरिराख्ने ।
माधवकुमार नेपाल
– ठीकै, प्रधानमन्त्री भएको मान्छे हो ।
राजेन्द्र लिङ्देन
– भर्खर नाम सुन्दै छु । म उहाँभन्दा परानो मण्डले हुँ जस्तो लाग्छ ।
कमल थापा
– प्रधानमन्त्री हुने मान्छे, बुद्धि बिगार्नुभयो ।
तस्बिर : चिरायु शाक्य
लेखकबाट थप-
पुजार सार्की : आर्यन, प्रदीप र पलमध्ये मुख्य नायक को?
कुन्ती मोक्तान : संगीतको सेवामा सपरिवार
प्रतिक्रिया