काठमाडौं– साताको चौथो दिन पनि शेयर बजार निरन्तर घट्यो । नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुर्नबीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ । नेपाल विद्युत प्राधिकरणको बैंक खाता नरोक्न सर्वोच्चले आदेश दिएको छ ।
आजका आर्थिक समाचार :
विद्युत् प्राधिकरणको बैंक खाता नरोक्न सर्वोच्चको आदेश
चमेलिया जलविद्युत आयोजनाको चिनियाँ ठेकेदार कम्पनी चाइना गेजुवा ग्रुप र पिज्डम पिंगाओ जेभीसहितले करोडौं रकम मागदाबी गरी दायर गरेको मुद्दामा पाटन उच्च अदालत र काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन नगराउन सर्वोच्चले आदेश दिएको छ ।
चमेलिया जलविद्युत आयोजनाको तर्फबाट सर्वोच्चमा दायर भएको उत्प्रेषण मुद्दामा सर्वोच्चले काठमाडौं जिल्ला अदालतले दिएको निवेदन र नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत काठमाडौंको उपत्यका स्मार्ट मिटर आयोजनाको निवेदनमा पनि पाटन उच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
नेपालगञ्ज–गुलरिया हुलाकी सडक ९५ प्रतिशत सम्पन्न

राष्ट्रिय गौरवको हुलाकी राजमार्गअन्तर्गत नेपालगञ्ज–गुलरिया खण्डमा हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भएको छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका अनुसार नेपालगञ्जको नन्दनीमिल क्षेत्रबाट सुरु भएर बर्दियाको लालपुर चोकसम्म डबल अस्फाल्ट विधिबाट कालोपत्र सम्पन्न भएको हो ।
साताको चौथो दिन पनि घट्यो नेप्से
साताको चौथो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) घटेको छ । आइतबारदेखि नियमित ओरालो लागेको नेप्से बुधबार भएको कारोबारमा १४.८८ अंकले घट्न पुग्यो ।
बुधबार नेप्सेमा ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ बराबरको कारोबार हुँदा नेप्से घटेर २६८२.१५ अंकमा पुगेको छ । आजको शेयर कारोबारमा १८३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ५३ वटा कम्पनीको शेयर मूल्य भने वृद्धि भयो ।
‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो

कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो ।
खेतमा फष्टाएको गहुँ बाली देखेर कैलारी गाउँपालिका–५ का किसान दीपक चौधरी खुशी छन्। दीपकसहित यहाँका किसानले ‘सुपर जोन’ कार्यक्रममार्फत गहुँखेती गरिरहेका छन् ।
नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता दोब्बर
नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको छ । अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत, बिहानको काम गरेबापत, दिउँसोको दोस्रो सिफ्टमा काम गरेबापत र बेलुकीको सिफ्टमा काम गरेबापत पाउने खाजा भत्तामा वृद्धि गर्ने सहमति गरेको हो ।
अहिलेसम्मको अवस्थामा प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत प्रतिदिन पचास रुपैयाँ भत्ता पाउने गरेकोमा अब एक सय रुपैयाँ पाउने भएका छन् । बिहानको पहिलो सिफ्टमा काम गर्ने कर्मचारीको ७५ रुपैयाँबाट १२५ रुपैयाँ र दिउँसो दोस्रो सिफ्टमा काम गर्ने कर्मचारीको ५० रुपैयाँबाट एक सय रुपैयाँ बनाउने सहमति अर्थले दिएको छ ।
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो ।
बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३-७४ देखि निर्माण सुरु भएको उनले उल्लेख गरे ।
‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
नेपाल बीमा प्राधिकरणले जीवन बीमा, निर्जीवन बीमा तथा पुर्नबीमा व्यवसाय गर्ने सबै बीमा कम्पनीहरूलाई ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गर्न निर्देशन दिएको छ ।
जसअनुसार, लगानी व्यवस्थापन गर्नका लागि लगानी सम्बन्धी कार्य अनुभव भएको उच्च व्यवस्थापन तहको कर्मचारीको मातहतमा रहने गरी ‘लगानी व्यवस्थापन इकाई’ स्थापना गरी सात दिनभित्र प्राधिकरणलाई जानकारी दिन बीमा कम्पनीहरूलाई निर्देशन दिइएको छ।
नेपाल विकासशील राष्ट्र हुँदाका तयारी सुरु

नेपाल अल्पविकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अवलम्बन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीका कार्यहरुबारे गृहकार्य सुरु भएको छ ।
अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यहरूलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुट्न कर्मचारीहरूलाई निर्देशन दिए ।
नेप्सेको सीईओको सर्टलिस्टमा परेकाले प्रस्तुत गरे कार्ययोजना
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संक्षिप्त सूची (सर्टलिस्ट) मा परेकाले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् ।
नेप्सेको सीईओका लागि आवेदन गरेर सर्टलिस्टमा परेकामध्ये पाँचैजनाले आज बिहान आफ्नो कार्ययोजना प्रस्तुत गरेको अर्थमन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया