काठमाडौं – यो साता (बैशाख १५–२१) नेपालमा महत्वपूर्ण घटनाक्रम विकसित भए । इलाम र बझाङको उपनिर्वाचन, मतगणना र परिणाम रोचक बहसको विषय बन्यो ।
सरकारले आयोजना गरेको दुई दिने लगानी सम्मेलनको उपलब्धी कस्तो रह्यो ? यो अर्को बहसको विषय बन्यो ।
काठमाडौंमा बढ्दो प्रदूषण, देशैभरि बढेको डढेलो र स्वास्थ्यमा देखा परेको चुनौती पनि यो साताको चर्चाको विषय बन्यो ।
सिधाकुरा अनलाइनका दुई पत्रकारमाथि लागेको अदालतको अवहेलना मुद्दा, इन्टरनेटमा आएको अवरोध, क्रिकेटको चर्चा र नयाँ चलचित्र बन्ने क्रमको निरन्तरता पनि यो साता रोकिएन ।
त्यसैगरी झापामा छात्रामाथि गोली प्रहारका घटनादेखि लिएर शान्ति सुरक्षामा देखिएका चुनौती पनि बिर्सन निमिल्ने घटनाका रुपमा रहे ।
राजनीतितर्फ सहकारीसम्बन्धी छानविन समिति गठन र प्रदेश सरकारमा देखिएको अस्थिरता र उतार–चढाव विगतकै जस्तो रह्यो ।
खासगरी, सरकार बजेट निर्माणको चपेटामा रुमलिएको छ । यहीबेला माधव नेपाल र नागरिक उन्मुक्ति पार्टीभित्रका असन्तुष्टिहरु बाहिर आएका छन् । यसको असर सुदूरपश्चिम प्रदेशसभामा परेको छ । कोशी प्रदेशको अन्योल पनि कायमै छ । अझ, केन्द्रमै गठबन्धन भत्किने हो कि भन्ने चर्चा पनि सेलाएको छैन । यी सबै परिघटना हेर्दा राजनीति अझै अन्योलमै छ ।
यो साताका केही घटनाक्रम हेरौं–
उपचुनाव : चर्चामा पहिचानवादी र रास्वपा, जित्ने एमाले
सुदूरपूर्वको इलाम र सुदूरपञ्चिमको बझाङमा बैशाख १५ गते उपनिर्वाचन भयो । एलामबाट एमालेले प्रतिनिधिसभाको सिट जोगायो भने बझाङबाट कांग्रेसलाई हराउँदै एमालेले प्रदेशसभामा एक सिट थप्यो ।
इलामको चुनावमा एमालेका सुहाङ नेम्वाङ आफ्ना स्वर्गीय पिता सुवास नेम्वाङको स्थानमा विजयी भने । नेपाली कांग्रेसले फराकिलो मतान्तरसहित दोस्रो स्थानमा चित्त बुझायो ।
पहिचानवादी उम्मेदवार डकेन्द्र सुब्बाले ११ हजार बढी मतका साथ तेस्रो स्थानमा आए भने मिसन ८४ को चर्चा गरिरहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले चौथो स्थानमा चित्त बुझाउनुपर्यो ।
इलामको यो नतिजाले अब कोशी प्रदेशमा पहिचानवादी शक्ति नयाँ शक्तिका रुपमा उदाउने संकेत दिएको छ । आगामी चुनाबमा पहिचानवादीहरु (जसपा, जनमुक्ति र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आदि) ले यसैगरी मोर्चा बनाएर चुनाव लड्ने गृहकार्य थालेका छन् । नेपाली कांग्रेस र रास्वपामा भने किन उभार आउन सकेन भन्ने समीक्षा सुरु भएको छ ।
त्यस्तै एमालेमा आगामी दिनमा एक्लै चुनाव जित्न सकिने उत्साह पलाएको छ । माओवादीले भने इलाम र बझाङ दुबै ठाउँमा आफूलाई कमजोर रुपमा प्रस्तुत गरेको छ ।
यो पनि-
सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत
इलाम परिणामको सन्देश– ‘बोल्न नजान्ने देउवा दबाबमा, ओलीको फूर्तिफार्ती’
उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !
खासगरी इलामको उपचुनावले पूर्वी नेपालको राजनीतिक शक्ति सन्तुलनमा आगामी दिनमा कस्तो प्रभाव पार्ला भन्नेबारे विभिन्न तप्काबाट विश्लेषण जारी छ ।
लगानी सम्मेलनको उपलब्धी के ?
उपनिर्वाचनको मतगणना भइरहँदा काठमाडौंमा बैशाख १६ र १७ गते लगानी सम्मेलन जारी थियो । सरकारले यो सम्मेलन उपलब्धीमूलक रहेको तर्क गरिरहेको छ भने स्वतन्त्र विश्लेषकहरुले विगतमा जस्तै प्रतिवद्धता कार्यान्वयन हुनेमा शंका प्रकट गरेका छन् । खासमा लगानी सम्मेलनका सकारात्मक–नकारात्मक प्रभावबारे मिहीन विश्लेषण हुन बाँकी नै छ ।
यो पनि-
लगानी सम्मेलनको फाइदा जमिनदार र बैंकलाई !
सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !
लगानी सम्मेलनको मुखैमा सरकारले केही घरेलु विषयमा झेल गरेको छ । जस्तो– गिरीबन्धु टी स्टेट लगायतलाई हदभन्दा बढी जग्गा बेच्न दिने गरी सरकारले अध्यादेश जारी गरेको छ । त्यस्तै बैंकहरुलाई घरजग्गा लिलामीको मामिलामा गैरबैंकिङ सम्पत्ति कमाउन सहज गरिदिने गरी अध्यादेश आएको चर्चासमेत हुन थालेको छ ।
विदेशी लगानीलाई सहज बनाउने बहानामा ८ वटा कानून संशोधन गर्ने गरी सरकारले ल्याएको अध्यादेशमा बदनियत लुकेको छ कि छैन ? यसबारेमा गम्भीर बहस गर्नुपर्ने देखिएको छ ।
डढेलो र प्रदूषणको बढ्दो जोखिम
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शुक्रबार बसेको बैठक
यो साता काठमाडौंको वायु प्रदूषण चिन्ताजनक स्थितिमा देखियो । हावामा बढेको प्रदूषणले आँखाका रोगीहरु बढेको पाइएको छ । देशभरि फैलिएको डढेलो इत्यादि कारणले पनि प्रदूषण बढेको हो । डढेलो निभाउने क्रममा घाइते र मृत्युसम्मका घटना पनि भएका छन् । प्रदूषणबाट जोगिनका लागि सतर्कता अपनाउन विज्ञहरुले सुझाएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो साता डढेलोबाट एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । त्यसैगरी आगलागीबाट एकजनाको मृत्यु र एकजना घाइते भएका छन् ।
यो पनि-
काठमाडौंमा वायु प्रदूषणको कहर (तस्बिरहरू)
वायु प्रदूषणले जनस्वास्थ्यमा ठुलो असर : बच्न के गर्ने ?
पछिल्लो ४८ घण्टामा मात्रै देशका ७५ स्थानमा डढेलो लागेको छ भने ४१ स्थानमा आगलागीका घटना भएका छन् ।
यसैवीच शुक्रबार गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२ औं बैठक बसेको छ ।
दुई पत्रकारलाई अवहेलना मुद्दा
यो साता पत्रकारिता क्षेत्र पनि चर्चामा रह्यो । सप्ताहन्त, अर्थात शुक्रबार विश्व प्रेस स्वतन्त्रता दिवस परेको हुनाले यो क्षेत्रको चर्चा हुनु स्वाभाविकै हो । साथै शुक्रबार नै नेपाल पत्रकार महासंघको साधारणसभा पनि सुरु भएको छ ।
यसका अतिरिक्त सिधाकुरा डटकमले प्रसारण गरेको एउटा श्र्रव्यदृश्य सामग्रीलाई लिएर सर्वोच्च अदालतमा दुई पत्रकार युवराज कँडेल र नवीन ढुंगानाविरुद्ध अदालतको अवलेहनासम्बन्धी मुद्दासमेत चलेको छ । यो विषयमा नेपालको सञ्चार क्षेत्र र न्यायक्षेत्र दुबै तरंगित बनेका छन् । सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा तर्क–वितर्क भइरहेको छ ।
यो पनि-
सिधाकुराको बाङ्गो प्रकरण : अनुसन्धानको जिम्मा रविलाई
सिधाकुराको सामग्री हटाउन सर्वोच्च अदालतले आदेश दिएकोमा पत्रकार महासंघले आपत्ति जनाएको छ । उता प्रेस काउन्सिलले भने सामग्री हटाउन निर्देशन दिएको छ ।
सर्वोच्च अदालतले विहीबार र शुक्रबार कँडेल र ढुंगानासँग वयान लिएको छ । त्यस्तै अडियो रेकर्ड गर्ने भनिएका ललतिपुर गोदावरीका राजकुमार तिम्सिनालाई पनि सर्वोच्च अदालतले वयानका लागि बोलाएको छ ।
सर्वोच्चले यो प्रकरणमा अडियोको सत्थ–तथ्य जाँच गरी रिपोर्ट बुझाउन प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई २० दिनको समय दिएको छ ।
इन्टरनेट सेवा प्रदायकको ‘बदमासी’ ?
विहीबार अपरान्ह नेपालमा एकाएक इन्टरनेट सेवा बन्द भयो । नेपालका सेवा प्रदायकहरुले भारतको एयरटेललाई तिर्नुपर्ने शुल्क नतिरेका कारण भारतबाटै सेवा रोकिएको प्रचार गरिए पनि यसको वास्तविकता बाहिर आइसकेको छैन । बरु यसको साटो सरकार र सेवा प्रदायक कम्पनीहरु आपसमा विवाद गरेर बसेका छन् ।
सामाजिक सञ्जालमा पनि यसबारे कसैले सरकारलाई दोष लगाएका छन् त कसैले इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई कर नतिर्ने बाहना खोजिरहेको आरोप लगाएका छन् । जनताको अत्यावश्यक सेवा अवरुद्ध गर्नेहरुलाई सजायँ हुनुपर्ने आवाज पनि जनस्तरमा उठेको छ ।
इन्टरनेट सेवा किन अवरुद्ध भयो ? यसबारे खबरहबले तयार पारेको रिपोर्ट पढौं–
अर्बौं रुपैयाँ कर नतिर्ने इन्टरनेट सेवा प्रदायकको अडान, सरकारदेखि अदालतसमेत उल्झनमा
कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप
फिल्मको बाढी : महाजात्रादेखि मनसरासम्म
नयाँ वर्ष २०८१ को पहिलो तीन साता नेपाली बजारमा विदेशी फिल्म हाबी हुन पाएको छैन । हरेक साता नेपाली फिल्मको वर्षा भयो भन्दा पनि फरक पर्दैन । शुक्रबारसम्मको अवस्था हेर्दा नेपाली फिल्मले दर्शकको मन जित्न सफल भएको पाइन्छ ।
यो साता ‘महाजात्रा’, ‘बोक्सीको घर’ र ‘डिग्री माइला’ले नेपाली दर्शकलाई हलसम्म पुग्न बाध्य बनाए । बैशाख २१ बाट उपेन्द्र सुब्बाको निर्देशन रहेको ‘मनसरा’ प्रदर्शनमा आएको छ । प्रिमियरमा सकारात्मक ‘वर्ड अफ माउथ’ पाएको यो फिल्मले थप दर्शकलाई हलसम्म तान्नेमा निर्माण पक्ष आशावादी छ ।
फिल्म ‘महाजात्रा’ सातौं हप्तामा प्रवेश गरेको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘डिग्री माइला’ तेस्रो हप्तामा प्रवेश गरेको छ । अपेक्षित व्यापार गर्न असफल भए पनि फिल्मले लगानी सुरक्षित गरी केही मुनाफा दिएको निर्माण पक्षले बताएको छ ।
यो पनि-
‘मनसरा’लाई पूर्वेली दर्शकको उच्च साथ
‘बोक्सीको घर’ : स्टार केकी कि स्क्रिप्ट ?
महाजात्राको सुटिङ किस्सा : तीन नायकलाई निल डाम बस्ने गरि कसले हान्यो ?
‘पैसा कमाउन पो दयाहाङको बा बन्न सकिएन’
बैशाख २१ बाट उच्च अकुपेन्सीका साथ केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ दोस्रो हप्तामा प्रवेश गरेको छ । यो फिल्मले सफल हुनका लागि ‘स्क्रिप्ट नै बलियो हुनुपर्छ’ भाष्यलाई थप बढवा दिएको छ ।
क्रिकेट : नेपालको हार, विश्वकप खेल्ने टोली छनोट
यो साता क्रिकेटलाई लिएर खेलकूद क्षेत्र विशेष चर्चामा रह्यो । वेस्ट इन्डिज ‘ए’ ले नेपालविरुद्ध ५ खेलको टी–२० शृंखला जित्यो । बिहीबार भएको चौथो खेलमा नेपाललाई २८ रनले हराउँदै वेष्ट इन्डिजले सिरिज ३–१ ले जितेको हो ।
श्रृंखलाको पहिलो खेल आफ्नो पक्षमा पारेको नेपालले त्यसपछि सबै खेल वेस्ट इन्डिज ‘ए’लाई सुम्पियो । लगातार तीन खेल जित्दै भ्रमण टोली वेस्ट इन्डिज ‘ए’ ले नेपालसँगको ५ टी–२० शृंखला एक खेलअगावै जितेको हो । शनिबार भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले हराएको थियो । आइतबार सम्पन्न दोस्रो खेलमा भने वेस्ट इन्डिज ‘ए’ले नेपाललाई १० रनले पराजित गर्यो ।
यस्तै, बुधबार सम्पन्न तेस्रो खेलमा पनि वेस्ट इन्डिज ‘ए’ ७६ रनले विजयी भयो श्रृंखलाको अन्तिम खेल अब शनिबार हुनेछ । वेस्ट इन्डिज ‘ए’ले श्रृंखला जितिसकेकाले यो खेल नेपाल अब प्रतिष्ठाका लागि मात्र खेल्ने छ ।
छनोटमा परेको नेपाली टोलीको नामावली– रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, कमलसिंह ऐरी, प्रतिश जिसी, ललित राजवंशी र सागर ढकाल
यसै साता तीव्र गतिका बलर कमलसिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आगामी जूनमा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । कमलले २ वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्।
नेपालले विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागरलाई समावेश गरेको छ । वेस्ट इन्डिज ’ए’ विरुद्ध सिरिजबाट विवेक र विनोदसँगै आकाश चन्द, आरिफ शेख र लोकेश बम भने टिममा पर्न असफल रहे ।
कमलले अन्तिम पटक अप्रिल २०२१ मा घरेलु मैदानमा भएको नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी–२० आई श्रृंखला खेलेका थिए ।
छनोटमा परेको नेपाली टोलीको नामावली–
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, कमलसिंह ऐरी, प्रतिश जिसी, ललित राजवंशी र सागर ढकाल ।
साताका अन्य खबर–
ज्याकाराण्डाले सजियो काठमाडौं (फोटो फिचर)
कक्षा १२ की परीक्षार्थीमाथि झापाको दमकमा गोली प्रहार
भैंसीपाटीस्थित सीजी फुड्स पार्कमा आक्रमण, २२ जना पक्राउ
रसिया–युक्रेन युद्ध : एक घाइते रोल्पालीको बकपत्र
प्रतिक्रिया