सरकार हाँक्नेको सम्पत्ति : कसैसँग डेढ करोड नगद, कसैको बैंक खाता नै छैन | Khabarhub Khabarhub

सरकार हाँक्नेको सम्पत्ति : कसैसँग डेढ करोड नगद, कसैको बैंक खाता नै छैन

नगदको स्रोत खुलाएनन्‌ चार मन्त्रीले


८ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गर्‍यो । कानूनतः मन्त्री नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेमा सरकारले ७६ दिनपछि (आज मंगलबार) सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले) सहितका दलको समर्थन लिए । २३ सदस्यीय पुनर्गठित सरकारका २३ मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक नगरेपछि खबरहबले मन्त्रीको सम्पत्ति गुपचुप शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सो समाचार सार्वजनिक भएलगत्तै सरकारमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चार मन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेका थिए ।

पत्राचार गरेको १४ दिनपछि मन्त्रिपरिषद्‌ कार्यालयबाट प्रधानमन्त्रीसहित सबै मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

अनौठो विवरण – कसैसँग अथाह नगद, कसैको खाता नै छैन, कसैको स्रोत खुल्दैन

सार्वजनिक विवरण केलाउँदा सम्पत्ति मामिलामा मन्त्रीहरूको अवस्था अनौठो देखिन्छ । कुनै मन्त्रीले बैंक खातामा १ करोड ५२ लाख रुपैयाँसम्म मौज्दात रहेको विवरण सार्वजनिक गरेका छन्‌ त कुनै मन्त्रीहरूले बैंक खाता विवरण नै भरेका छैनन्‌ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एभरेष्ट बैंक लिमिटेड सिंहदरबार शाखामा २५ लाख रुपैयाँ मौज्दात रहेको विवरण भरेका छन्‌ । सो नगदको स्रोत प्रतिनिधिसभा सदस्यको हैसियतमा प्राप्त भएको दाहालले जनाएका छन् ।

प्रधानमन्त्री दाहालले कति सम्पत्ति देखाए ?

उपप्रधान/भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आफू र श्रीमती जुलीकुमारी महतोको नाममा विभिन्न बैंकका १४ खाता रहेको सम्पत्ति विवरण फारममा उल्लेख गरेका छन्‌ । तर, ती खातामा कति रकम छ भन्ने चाहिँ खुलाएका छैनन् ।

उपप्रधानमन्त्री महासेठको सम्पत्ति : ४३ तोला सुन, दुई वटा घर र २ करोड नगद

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबार शाखामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ रुपैयाँ मौज्दात रहेको विवरण उल्लेख गरेका छन्‌ । सो मौज्दातको स्रोत सेवासुविधा रहेको श्रेष्ठले जनाएका छन्‌ ।

काठमाडौंमा छैन नारायणकाजीको घर, चढ्छन् प्रचण्डले दिएको गाडी !

अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफू र श्रीमती निकिता पौडेलका नाममा विभिन्न बैंकमा ७ खाता रहेको र मौज्दात रकम पनि खुलाएका छन्‌ । उनले श्रीमती पौडेलको नाममा प्रभु बैंकको खातामा रहेको १० हजार ५११ रुपैयाँको स्रोत युट्यूब भएको पनि लेखेका छन्‌ ।

गृहमन्त्रीको सम्पत्ति : दुई बैंकमा खाता, भक्तपुरमा १ रोपनी जग्गा, श्रीमती निकिता करोडपति

अर्थमन्त्री वर्षमान पुनले आफ्नो नाममा तीनवटा बैंक खाता रहेको र ती मध्ये दुई बैंकमा मौज्दात शून्य रहेको विवरण भरेका छन्‌ । विवरण फारममा उल्लेख भएअनुसार पुनसँग एनएमबी बैंकको पुल्चोक शाखामा रहेको खातामा ३३ लाख ७० हजार ६१८ रुपैयाँ मौज्दात छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफू र श्रीमती सत्या पहाडीसँग बैंकमा तीन खाता रहेको र ती खातामा कूल १६ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएका छन्‌ । मौज्दातको स्रोत तलब रहेको उनले उल्लेख गरेका छन्‌ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफू र परिवारका सदस्यको नाममा ६ वटा खाता रहेको, ती खातामा रहेका मौज्दात स्रोत तलब/भत्ता भएको जनाएका छन्‌ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा रहेको खातामा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको जनाएका छन्‌ । मौज्दातको स्रोत तलबभत्ता रहेको उनले जानकारी दिएका छन्‌ ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दुईवटा बैंक र एउटा सहकारीमा रहेको खातामा नगद मौज्दात रहेको विवरण भरेकी छिन्‌ । उनले १ लाख ७८ हजार रुपैयाँ दुई वटा बैंकमा राखेको विवरणमा उल्लेख छ । २० लाख रुपैयाँ भने उनले सहकारी संस्थामा राखेकी छिन्‌ । सबै रकम प्राप्तिको स्रोत तलब तथा अन्य आय भएको उनले जनाएकी छिन्‌ ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले दुईवटा बैंक खातामा जम्मा १ लाख रुपैयाँ रहेको र सोको स्रोत सांसद्‌को तलबभत्ता भएको लेखेका छन्‌ ।

कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले दुई बैंक खातामा जम्मा ४० हजार रुपैयाँ मौज्दात रहेको विवरण भरेकी छिन्‌ । सो मध्ये ३० हजार रुपैयाँको स्रोत तलब भएको उनले जनाएकी छिन्‌ ।

स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री प्रदीप यादवको सम्पत्ति विवरण भने सरकारले सार्वजनिक गरेको छैन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि यादव वैशाख ३१ मा मन्त्री बनेका थिए । कार्यकाल ६० दिन नपुगेकाले उनको सम्पत्ति विवरण सार्वजनिक नगरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । राज्यमन्त्री हसिना खानको सम्पत्ति विवरण पनि यसैअनुसार सार्वजनिक गरिएको छैन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफू र परिवारका सदस्यका नाममा बैंकहरूमा ७ वटा खाता रहेको र ती खातामा नगद मौज्दात रहेको विवरण भरेका छन्‌ । तर १५ लाख रुपैयाँ मौज्दातको स्रोत भने खुलाएका छैनन्‌ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफू र परिवारको नाममा तीनवटा बैंक खातामा मौज्दात रहेको देखाएका छन्‌ । तर उनले सो नगद प्राप्तिको स्रोत खुलाएका छैनन्‌ ।

उद्योगमन्त्री भण्डारीको सम्पत्ति : ६ तोला सुन, १० लाख ऋण

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले तीनवटा बैंक खातामा १८ लाख रुपैयाँभन्दा बढी मौज्दात देखाएकी छिन्‌ । उनले पनि रकम प्राप्तिको स्रोत खुलाएकी छैनन्‌ ।

महिलामन्त्री चौधरीसँग काठमाडौंमा २ करोडको घडेरी, १ करोड ऋण

खानेपानी मन्त्री राजेन्द्रकुमार राईले सिंहदरबार परिसरस्थित एभरेष्ट बैंक परिसरमा खाता रहेको, तर त्यसमा मौज्दात नरहेको जनाएका छन्‌ ।

खानेपानी मन्त्रीसँग ७ गाई, ६३ बाख्रा

रक्षामन्त्री हरिप्रसाद उप्रेतीले भने बैंक, वित्तीय संस्था तथा सहकारी संस्थामा आफ्नो खाता नै नभएको विवरण भरेका छन्‌ ।

सम्पत्ति विवरणमा रक्षामन्त्रीको केरमेट : ३५ किलो सुन लेखेर २५ तोलामा झारे

शहरी विकास मन्त्री धनबहादुर बुढाले आफू र श्रीमतीको नाममा बै‌ंक खातामा ६० लाख रुपैयाँ मौज्दात रहेको सम्पत्ति विवरण फारममा लेखेका छन्‌ । सो नगद मौज्दातको स्रोत व्यापार/व्यवसाय भएको उनले दाबी गरेका छन्‌ ।

सहरी विकास मन्त्री धनबहादुरको सम्पत्ति कति छ ?

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू र श्रीमतीको नाममा विभिन्न बैंकमा २ करोड १५ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको विवरण भरेका छन्‌ । सो नगद मौज्दातको स्रोत व्यापार भएको उनले दाबी गरेका छन्‌ ।

श्रममन्त्री अर्यालको सम्पत्ति : सहकारीमा २ करोड ऋण, १ करोड ४३ लाख शेयर र पैसा

सम्पत्ति विवरणमा नगद मौज्दाततर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सबैभन्दा अघि देखिएकी छिन्‌ । उनले आफू र श्रीमान पावेल स्विन्स्कीका नाममा विभिन्न बैंकमा झण्डै ८ करोड रुपैयाँ बराबर नगद मौज्दात देखाएकी हुन्‌ ।

शिक्षामन्त्री श्रेष्ठको सम्पत्ति बैंकमा मात्रै झण्डै ८ करोड

एनआइसी एसियामा रहेको बैंक खातामा मात्रै १ करोड १५ लाख रुपैयाँ रहेको सुमनाले जनाएकी छिन्‌ ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले आफू र श्रीमती सृष्टी सिंहको नाममा विभिन्न बैंक र सहकारीमा गरी ८ वटा खाता रहेको विवरण भरेका छन्‌ । ती खातामा रहेको नगद मौज्दातको स्रोत स्वआर्जन, पैत्रिक, विवाह र पारिश्रमिक भएको उल्लेख गरेका छन्‌ ।

खेलकुदमन्त्री श्रेष्ठको सम्पत्ति : १५ तोला सुन र काठमाडौंमा जग्गा

वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुड्डी आफू र परिवारका सदस्यको नाममा विभिन्न बैंक/वित्तीय संस्थामा रहेका १२ वटा खातामा नगद मौज्दात रहेको लेखेका छन्‌ । तर उनले सो नगद प्राप्तिको स्रोत खुलाएका छैनन्‌ ।

वनमन्त्रीको सम्पत्ति : एउटा बन्दुक र डेढसय तोला सुन

प्रकाशित मिति : ८ जेठ २०८१, मंगलबार  ७ : ४० बजे

युरोकप २०२४ : समूह ‘सी’ का इंग्ल्याण्ड, डेनमार्क र स्लोभेनिया अन्तिम १६ मा

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबल अन्तर्गत समूह ‘सी’ बाट इङल्याण्ड,

बेनी–भकिम्ली सडक स्तरोन्नति

म्याग्दी– डेढ दशकपछि म्याग्दीको बेनी–भकिम्ली सडक स्तरोन्नति थालिएको छ ।

कोपा अमेरिका : क्यानडासँग पेरु पराजित

काठमाडौं– कोपा अमेरिका फुटबलमा क्यानडाले पहिलो जित निकालेको छ ।

युरोकपमा फ्रान्स र पोल्याण्डले खेले बराबरी

काठमाडौ– युरोकप फुटबलको समूह डीमा रहेका फ्रान्स र पोल्याण्डले बराबरी

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल