आजका समाचार : बझाङ प्रदेश सभा १ मा एमालेका भण्डारी विजयीदेखि इलामको गणना जारीसम्म | Khabarhub Khabarhub

आजका समाचार : बझाङ प्रदेश सभा १ मा एमालेका भण्डारी विजयीदेखि इलामको गणना जारीसम्म


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 5 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

बझाङ प्रदेश सभा १ मा एमालेका दमन भण्डारी विजयी

बझाङ प्रदेश सभा १ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका हुन् ।

उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेक सिंहलाई २६७ मतले पराजित गर्न सफल भएका हुन्। निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गर्न बाँकी छ ।

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्त्वपूर्ण नभए पनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन् ।

अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सबैलाई राम्रोसँग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए ।

शेखरको तर्क : अहिलेको निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमाले मिल्नु पर्छ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सम्पन्न तेस्रो लगानी सम्मेलनबाट अपेक्षा गरिएअनुसारको लगानी नआउने बताएका छन्।

राजनीतिक स्थायित्वबिना नेपालमा कुनै पनि देश लगानी गर्न इच्छुक नरहेको बताउँदै कोइरालाले यो लगानी सम्मेलनबाट परिणाम ननिस्किनेसमेत बताए ।

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १ बजे सर्वदलीय बैठक आह्वान गरेको छ । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठकमा प्रदेशसभामा रहेको विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचन र आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट छलफल गर्ने क्रममा अधिवेशन आह्वान विषयमा छलफल हुने जानकारी दिए ।

संसद्मा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई उक्त बैठकमा सहभागी हुन आफूले सूचना प्रवाह गरिसकेको उनले बताएका छन्।

चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्रगर्छौँ : मुख्यमन्त्री कँडेल

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालू आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी सरकार अगाडि बढिरहेको बताएका छन् ।

प्रदेशसभाको साेमबारको बैठकमा उनले विगतमा जस्तो अब असारमा योजना कार्यान्वयन गर्ने पक्षमा आफू नरहेको बताए । ‘जेठ मसान्तभित्र सबै कामहरू गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ । मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन’, मुख्यमन्त्री कँडेलले सभामा भने ।

तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट नेपाललाई फाइदा हुन्छ : मन्त्री भण्डारी (भिडियोसहित)

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चीनको स्वशासित क्षेत्र तिब्बतमा बढिरहेको आर्थिक गतिविधिबाट भविष्यमा नेपाललाई पनि फाइदा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

१७ औं नेपाल–चीन(तिब्बत) आर्थिक तथा व्यापार मेलाको सोमबार काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन गर्दै मन्त्री भण्डारीले रेलवे सञ्जालबाट चीनको मूख्यभूमि चीन र तिब्बत जोडिएको उल्लेख गर्दै त्यहाँ बढिरहेको आर्थिक गतिविधिबाट र रेलवे नेटवर्कले भविष्यमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा परियोजनाका लागि नौ अर्ब १३ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ ।

उद्योग विभागअन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्कर सिंह धामीले दिएकाे जानकारीअनुसार भक्तपुरमा लगानी कम्पनी स्थापनाका लागि छ अर्ब, काठमाडौँमा व्यवसायिक भवन निर्माणका लागि तीन अर्ब, संयुक्त अधिराज्यको एकेलस इनर्जी लिमिटेडको ८५ प्रतिशत र कैलालीको मोहन्याल गाउँपालिकाको १५ प्रतिशत लगानीमा दुई सय किलोवाट क्षमताको जलविद्युत् आयोजना निर्माणका लागि सात करोड ६६ लाख र ललितपुर जिल्लामा होटल तथा रेस्टुरेन्ट निर्माणका लागि छ करोड २५ लाख रुपैयाँबराबर लगानी स्वीकृत भएको छ ।

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन आदेश दिएको छ ।

सर्वोच्चले यही वैशाख २० गते ‘सिधाकुरा डटकम’का प्रकाशक कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि बोलाउन आदेश दिएको हो ।

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

वडाध्यक्ष उजेर अलीले घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिएको पुष्टि भएपछि सोमबार अख्तियारले उनीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति वैधानिक, सर्वोच्चद्वारा रिट खारेज

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिविरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको इजलासले सोमबार नेपाली कांग्रेस संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दर्ता गरेको रिट खारेज गरिदिएको हो ।

यससँगै मुख्यमन्त्री अधिकारीको नियुक्तिमा प्रमुख प्रतिपक्षी कांग्रेसले उठाएको वैधानिकताको प्रश्न पनि टुंगिएको छ। सर्वोच्चले रिट खारेज गरिदिएसँगै अब अधिकारी नेतृत्वको सरकारलाई मन्त्रिपरिषद् विस्तार र विश्वासको मतसहितका काम पूरा गरेर अघि बढ्ने बाटो खुलेको छ ।

झापामा लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

प्रहरीले झापामा गोली चलाएर लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागूऔषध नियन्त्रण ब्युरोको टोलीले गोली प्रहार गरेर एक जनालाई पक्राउ गरेको हो ।

झापा गाउँपालिका–३ स्थित कुमरकोतमा गोली प्रहार गरेर एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

भोजपुर बोलेरो दुर्घटना : दुई जनाको मृत्यु

भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

अन्तर्राष्ट्रिय…

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन बेइजिङबाट फर्किएलगत्तै मस्क चीन यात्रामा निस्किएका हुन् ।

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।

पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खेलकुद …

राष्ट्रिय पुरुष तथा महिला खुला फुल कन्ट्याक्ट कराते वैशाख २४ देखि

नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता वैशाख २४ गतेदेखि हुने भएको छ ।

सोमबार आयोजकले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा हुने जनाएको हो । पुरुषमा ५० केजीमुनि, ६० केजीमुनि, ७० केजीमुनि र ७० केजीमाथि तौलसमूहमा भिडन्त हुनेछ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ०० बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको