यही चुनावमै बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प « Khabarhub

यही चुनावमै बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सार्ने रविको योजना, यस्ता छन् मिल्ने तीन विकल्प



काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच सोमबार करिब ७ घण्टा लामो वार्ता भयो । यस वार्ताले एउटा समझदारी कायम गरे पनि सहकार्यको कुनै निर्णय नगरेको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।

बालेनका एकजना सहयोगी पनि सकरात्मक रुपमा कुराकानी भएको बताउँछन् । तर पदको विषयमा बाहिर आएका हल्ला जस्तै कुराकानी नभएको यनी बताउँछन् । भन्छन, ‘वैकल्पिक शक्तिहरू एकता या सहकार्य गरेर जाने समझदारी विकास भएको छ । प्रधानमन्त्रीको अफर गरेको होइन । गहिरो समझदारी विकास भएको सूचना हामीलाई बालेनले दिनुभएको छ ।’

उता लामिछानेले पनि मंगलबार पत्रकारहरूसँगको कुराकानीमा बालेनलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए । दुई चरणको कुरा हुँदा अहिलेसम्म राजनीतिक विषयमा प्रवेश नगरेको उनको जवाफ थियो ।

‘रास्वपा परिवर्तनको पक्षमा लागेका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एक ठाउँमा ल्याउने प्रयासमा छ । हामी त्यही प्रयासको क्रममा संवादमा छौँ । यो एउटा महत्वपूर्ण कडीका रूपमा अघि बढिरहेका छौं र यसलाई टुंगोमा पुर्‍याउने दिशामा लागेका छौँ’, उनले भने ।

उनले बालेनसँग दुई चरणमा वार्ता भएको र थप वार्ता जारी रहने जानकारी दिए । ‘तपाईंहरूले भने जस्तो अहिले नै आगामी निर्वाचनपछि बालेनलाई प्रधानमन्त्री बनाउने कुनै कुरा भएको छैन । संवाद भए पनि हामी अझै राजनीतिक चरणमा प्रवेश गरेका छैनौं । पहिले एकअर्कालाई बुझ्नुपर्छ, परिस्थितिको जानकारी लिनुपर्छ,’ उनले थपे ।

रविले भनेजस्तै अहिलेसम्म दुवै पक्षबीच कुनै सहमति भएको छैन । ‘कुनै सहमति भएको छैन । पदको विषयमा कुरा भएको छैन । दुई नेताहरू निर्वाचनमा सँगै जाने अवस्थाका लागि तयार हुने गरी समझदारी कायम भएको छ’, स्रोतले भन्यो।

करिब सात घण्टा लामो छलफललमा यसअगाडिका छलफल र भेटवार्ताबारे पनि कुराकानी भयो । यसअगाडि बालेनको टीमसँग रास्वपा सांसद शिशिर खनाल बसेका थिए ।

सोमबार बालेनसँग भेट्नुअगाडि रविले कार्यलयमा नेताहरूबीच छलफल गरेका थिए । बालेनसँगका एजेन्डाबारे उनले तयारी गरेको स्रोतको दाबी छ । बैठकमा नेताहरूले केही निर्णय गरेर जान सक्नुपर्ने सुझाव दिएका थिए ।

स्रोत भन्छ, ‘हामीसँग दुईवटा योजना छन् । पहिलो योजनामा कुरा भएको छ । पहिलोमै समझादारी नजुटे दोस्रो र तेस्रोमा पनि कुरा हुन्छ । उत्साहित हुने अवस्था छ । तर मिलनबिन्दु पहिलो योजनामै नहुन पनि सक्छ ।’

पहिलो योजना

रास्वपा नेताहरू सोमबार रवि र बालेनको भेटलाई पहिलो योजनाअन्तर्गत राख्छन् । रास्वपाले पहिलो योजनाअन्तर्गत सकेसम्म रवि र बालेन मिलेर निर्वाचनअघि नै एकै पार्टीमा सहकार्य कोशिस भइरहेको छ । यसका लागि रास्वपा सभापति लामिछानेबाहेक अरू सबै कुरा बालेनलाई छाड्न तयार हुनुपर्ने छ । तर त्यसका लागि बालेन रास्वपामा प्रवेश गर्नुपर्ने हुन्छ ।

उनी आधिकारिक रुपमा पार्टीमा जोडिएर जानुपर्ने मत रास्वपामा छ । बालेनलाई रास्वपाको नेताका रुपमा चुनावअघि नै मैदानमा उतार्न चाहेका छन् रविले ।

रविको यो सर्तमा विचार गर्ने जवाफ बालेनले दिएका छन् । ‘अहिले पहिलो योजनाअन्तर्गत एउटै पार्टीबाट निर्वाचन फेस गर्ने तयारी भइरहेको छ । यो दिशामा कुरा मिल्ने सम्भावना पनि छ’, रास्वपा स्रोत भन्छ, ‘पहिलो योजनाअन्तर्गत संवाद राम्रो भएको छ । निर्वाचनमा एकै पार्टीबाट यात्रा गरेर जाने गरी कुरा राखिएको छ । उहाँले यसलाई मानेमा रविले सभापतिबाहेक निर्वाचनपछिको पद दिन तयार हुनुहुन्छ । यसमा लिखित समझदारी नै हुन्छ ।’

यसअन्तर्गत रास्वपाले बहुमत ल्याएमा पहिलो कार्यकाल बालेन र दोस्रो कार्यकालमा रवि प्रधानमन्त्री हुने गरी समझदारी बन्न सक्नेछ ।

दोस्रो योजना

दोस्रो योजनाअन्तर्गत बालेनलाई रास्वपाले प्रधानमन्त्रीको अफर दिएर रास्वपा निर्वाचनमा जाने छ । तर बालेनले रास्वपाको सदस्यता लिनुपर्ने छ । निर्वाचनमा बालेनले आफ्ना सहयोगीसँगै आफू पनि घण्टी चुनाव चिह्न बोकेर होमिनुपर्ने छ ।

यस योजनाबारेमा पनि नेताहरू तयार भइरहेका छन् । बालेनले रास्वपाको कुनै पदमा नरहे पनि साधारण सदस्यका रुपमा निर्वाचनमा दौडाहा गर्नुपर्ने हुन्छ । यसबारे बालेननिकट स्रोत भन्छ, ‘मेयरको जिम्मेवारीका कारण प्रत्यक्ष राजनीतिमा नजोडिने भन्नु भएको छ। हामी दोस्रो विकल्पमा जान सक्छौँ । नेता होइन, साधारण सदस्य भएर उहाँले आगामी चुनावमा उत्रिने सम्भावना छ।’

दोस्रो योजनामा रास्वपाले बहुमत ल्याएको खण्डमा पूरै कार्यकाल बालेन प्रधानमन्त्री हुन पाउने छन् । तर यसका लागि पहिलो योजनाका सबै सर्त मान्नुपर्ने र वैकल्कि शक्ति मिलाउन प्रयत्न गर्नुपर्ने हुन्छ ।

तेस्रो योजना : वैकल्पिक शक्ति एक मिल्ने

यदि रास्वपाले बहुमत ल्याउने स्थिति नदेखिएमा रास्वपा, बालेन र कुलमान घिसिङको उज्यालो नेपाललगायत नयाँ शक्ति एक ठाउँमा आएर निर्वाचन लड्ने छन् । यी शक्ति मिल्दा बहुमत ल्याएर आलोपालो सरकार चलाउने समझदारीसमेत गर्ने तयारी छ।

पुराना दलप्रति जनताको आवेगलाई ‘क्यास’ गर्न सबै वैकल्पिक शक्ति एक ठाउँमा आएर मोर्चाबन्दी गर्नुपर्ने एकथरीको मत छ । सबै वैकल्पिक शक्ति एक भएर निर्वाचन लड्ने वातावरण तयार पार्न बालेनले पनि सहयोग गर्नुपर्नेमा कुलमान र रविले पनि जोड दिइरहेका छन् ।

‘तेस्रो योजना रवि, बालेन र कुलमान सबै एकै भएर मोर्चामार्फत् सहकार्य गर्ने कुरा हो । यसका लागि कुलमानजी पनि बालेनसँग छलफलमा हुनुहुन्छ’, रास्वपा स्रोत भन्छ, ‘रवि र कुलमान तथा रवि, बालेन र कुलमान पनि मोर्चाबारे कुरा गर्नुहुन्छ । तर माथिका दुवै योजना असफल भए मात्रै यो विकल्पमा जाने कुरा भएको छ।’

‘कम्फर्ट जोन’ खोज्दै बालेन

बालेन अहिले कुलमान र रवि दुवैलाई नचिढ्याउने पक्षमा छन् । उनी दुई नेतामध्ये निर्वाचनको एक महिनाअगाडि एक जनालाई साथ दिने पक्षमा छन् । यदि त्यसो नभए वैकल्पिक शक्तिको मोर्चा बनाएर अगाडि बढ्ने योजनामा रहेको उनीनिकट नेताहरू बताउँछन् । ‘पुराना दललाई परास्त गर्न वैकल्पिक शक्तिबीच कार्यगत तथा चुनावी सहकार्य हुनसक्छ’, स्रोत भन्छ ।

बालेनको एकजना सचिवालय सदस्यले भने, ‘एकले अर्कालाई विरोध नगर्ने गरी नयाँहरू मिलेर जाने र उपलब्धि जोगाउँदै जनताको पक्षमा काम गर्ने वातावारण बन्नसक्छ ।’

कुलमानको पार्टीमा बालेन जाने सम्भावना कम छ । त्यसैले उनले रास्वपा नै रोज्नेमा रवि ढुक्क छन् ।

निकट स्रोतका अनुसार बालेन निर्वाचनपछि प्रधानमन्त्री हुने दाउमा छन् । उनलाई कांग्रेस एमाले र नेकपाजस्ता पुराना दलले साथ दिएका छैनन्। उनी पुराना दललाई देखाउन आफू शक्तिशाली बनेर देशको नेतृत्व लिने योजनामा छन् ।

भेटबारे के भन्छन् अर्याल ?

वार्ताबारे रास्वपा उपसभापति अर्याल भन्छन, ‘सकरात्मक, सौहार्दपूर्ण वार्ता भएको छ । पदको विषयमा संवाद भएको छैन । बालेनजी पारिवारिक शोकबाट बाहिर निस्केको र रवि दाइ कारागारबाट निस्कनु भएकाले लामो पारिवारिक कुरा भयो ।’

अर्यालका अनुसार जेन-जी आन्दोलनपछि देशले खोजेको नेतृत्व र पुस्तान्तरणबारे पनि छलफल भएको छ । उनी २ घण्टाजस्तो चार जनाबीच र अरु ५ घण्टा छुट्टाछुट्टै वार्ता गरेको बताउँछन् ।

‘निर्वाचनमा कसरी जाने ? देशले के खोजेको छ ? जेन-जी आन्दोलनपछि हाम्रो दायित्व र जेन-जीको मागलाई पूरा गर्न के–के गर्नुपर्छ लगायतका विषयमा कुरा भयो’, अर्याल भन्छन, ‘जनताले दुई नेता खोजेकोबारे कुराकानी भएको छ । दुई नेता वान-टु-वान वार्ता गरेकाले अन्य कुरा खुल्दै जाला ।’

अर्याल चुनावकेन्द्रित कुराकानी पनि भएको बताएको बताउँछन् । वार्तापछि राति अबेर भएकाले चार नेताहरू बालेन, रवि, डीपी र कुमार बेनसँगै अर्यालको गाडीमा फर्किएका थिए । भेटघाट पूर्वसांसद असिम शाहको घरमा भेट हो ।

प्रकाशित मिति : ८ पुस २०८२, मंगलबार  ४ : ३७ बजे

अवैध लागूऔषधसहित मोरङ र सुनसरीबाट छ जना पक्राउ

काठमाडौं– मोरङको बिराटनगर महानगरपालिका-१५ स्थित एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन

वेस्ट ब्यांकबाट २० जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले सोमबार वेस्ट ब्यांकका विभिन्न

‘रमिताको पिरती’ भारतमा पनि रिलिज हुने

काठमाडौं – नायिका आना शर्मा स्टारर फिल्म ‘रमिताको पिरती’ भारतमा

‘टाइगर भर्सेस पठान’ स्थगित, शाहरुख–सलमानको पुनर्मिलन अनिश्चित

काठमाडौं– बलिउडका दुई सुपरस्टार शाहरुख खान र सलमान खान लाई

कला साहित्य डटकम प्रतिष्ठानद्वारा ‘राष्ट्रिय कलाश्री सम्मान’ प्रदान

काठमाडौं- नेपाली कला साहित्य डटकम प्रतिष्ठानले विभिन्न स्रष्टाहरूलाई राष्ट्रिय कलाश्री