बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द « Khabarhub

बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द

प्रचण्ड हेलिमै रुकुम पूर्व पुगे, गगन सर्लाही जाँदै



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान गरेपछि हेलिकप्टर चार्टर्ड गरेर झापा हिँडेका थिए । तर त्रिभुवन विमानस्थल कार्यालय श्रोतका अनुसार उनी सवार हेलिकप्टर ओखलढुंगाको आकाशबाटै फिर्ता गरिएको छ।

हेलिकप्टर चार्टर्ड गरेर झापा हिँडेका बालेनलाई काठमाडौं नै फिर्ता पठाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गराइएको छ।

उनले निर्वाचन आचारसंहिताविपरीत हेलिकप्टर प्रयोग गरेको मौखिक उजुरी परेपछि निर्वाचन आयोगले तत्कालै नागरिक उड्ययन प्राधिकरणलाई भनेर बीच बाटोबाटै फर्काइदिएको हो ।

हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं-झापा) उडानमार्फत् बालेनसहितको पाँच सदस्यीय टोली बिहान ०९:१२ बजे झापा प्रस्थान गरेको थियो । तर, हेलिकप्टर डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै १०:१० बजे अवतरण भएको छ ।

उता बिहीबार नै हेलिकप्टर चार्टर गरेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापा ५ आउने कार्यक्रम थियो। बालेन फिर्ता भएपछि ओलीको सचिवालयले अहिलेसम्म ओली झापा आउने कार्यक्रमबारे जानकारी गराएको छैन।

बालेन हेलिकप्टरमा झापा आउन लागेपछि नेकपा एमालेले निर्वाचन आयोगलाई आचारसंहिताबारे जानकारी गराएको थियो।

बालेनले झापा ५ आएर हेलिकप्टरमार्फत नै मतदान केन्द्रको अवलोकन गर्ने भएपछि एमालेका सचिव एवम् कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहितले निर्वाचन आयोगलाई जानकारी गराएका थिए।

एमालेका अनुसार बालेनसँगै ओली पनि हेलिकप्टरमा झापा आउने कार्यक्रम रद्द भएको छ। ओली पनि हेलिकप्टर चार्टर्ड गरेर झापा आउने तयारीमा थिए।

‘सामान्यतया उम्मेदवारले हेलिकप्टर प्रयोग गर्न पाउने व्यवस्था छ । तर उहाँले हेलिकप्टरमार्फत् झापा ५ का निर्वाचन मतदान केन्द्र अवलोकन गर्ने भएपछि एमालेले विरोध गरेको हो’, एमालेका एक नेताले भने, ‘निर्वाचनमा मतदाता प्रभावित गर्ने काम गर्नु हुँदैन । निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि भनेर रोकेको खबर आएको छ। यसबारे प्रधानमन्त्रीसहितलाई पनि जानकारी गराएका थियौँ । अब एमाले अध्यक्ष ओली पनि हेलिकप्टरमार्फत् झापा आउने कार्यक्रम रद्द भएको छ।’

यता बालेनको सचिवालयका एक सदस्यले एमालेका आत्तिएर बालेनलाई रोकेको बताएका छन्। ‘बालेन दाइ झापा आएपछि प्रभाव पार्ने डरले एमालेका नेताहरू आत्तिएर रोक्न खोजिएको हो। जतिसुकै रोके पनि रोकिने अवस्था छैन’, उनले भने, ‘हामीले हेलिकप्टरमार्फत् मतदान केन्द्रको अवलोकन गर्ने भनेका थिएनौँ। त्यस्तो मान्यता हामीमा थिएन। उहाँ हेलिकप्टरबाट झापा आएर गाडीमार्फत अवलोकन गर्ने योजना थियो ।’

बालेन हेलिकप्टरबाट आउने भएपछि झापा प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीले माथिल्लो निकायमा खबर गरेका थिए । यसबारे कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीलाई जानकारी गराएपछि बालेनको हेलिकप्टर चार्टर्ड उडान बाटैबाट फिर्ता भएको हो ।

ओली पनि रोकिए

बालेन्द्र रोकिएपछि अब एमाले अध्यक्ष केपी शर्मा ओली पनि हेलिकप्टरमा झापा नजाने भएका छन्। बालेन्द्रको हेलिकप्टर बाटैबाट फर्काइएपछि अब ओलीले पनि नैतिकताका आधारमा बिहीबार लागि झापा जान हेलिकप्टर प्रयोग नगर्ने भएका हुन्।

यता हेलिकप्टरमार्फत् नै सर्लाही ४ को निर्वाचन क्षेत्रतिर नेपाली कांग्रेसका सभापित गगन थापा पुग्दैछन् । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि चितवनबाट रुकुमपूर्व हेलिकप्टरमार्फतै पुगिसकेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : ३८ बजे

परिवर्तनको आशा बोकेर मतदान

काठमाडौं– डिल्ली बजारस्थित पद्मकन्या विद्या आश्रम मतदान केन्द्रबाट भोट हालेर

बस्ती स्थानान्तरणको माग राख्दै दाङको २ मतदान केन्द्रका मतदाताले गरे निर्वाचन बहिष्कार

काठमाडौं– लामो समयदेखि बस्ती स्थानान्तरणको माग राख्दै आएका दाङको दुई

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन