काठमाडौं- संघीय संसद्को चुनावबाट नराम्रोसँग धक्का व्यहोरेका दुई वाम नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले प्रदेशको सत्ता भागबन्डाका लागि गत साउन ११ गते तीन बुँदे सहमति गरे।
उक्त सहमतिअनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनीको मुख्यमन्त्री लियो । कोशीमा हिक्मतकुमार कार्की र लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्रीमा बहान नै थिए । उता बागमतीमा नेपाली कांग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री थिए ।
नेकपासँगको सहमतिअनुसार बागमतीमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री हुनुपर्ने हो । तर अध्यक्ष केपी शर्मा ओलीले दुवै मुख्यमन्त्री हटाउने र बागमतीमा पनि थपलियाको साटो अर्कैलाई मुख्यमन्त्री बनाउने अभियान थाले।
उक्त अभियानको सबैभन्दा ठूलो शिकार बागमती संसदीय दलका नेता थपलिया भएका छन् । सहमतिअनुसार बागमतीमा नेकपा र एमालेले मात्रै सरकार बनाउन सक्दैनन्। त्यहाँ यी दुई दललाई राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि १२ जना सांसदको साथ चाहिन्छ ।
यसबीचमा ओलीले बागमती प्रदेशको नयाँ सरकार गठनका लागि दलका नेता थपलियालाई हटाउने अभियान चाले । गत सातादेखि नै थालिएको उक्त अभियानको नेतृत्व गरेका थिए सचिव महेश बस्नेतले । बागमती प्रदेशका इन्चार्जसमेत रहेका बस्नेतले आफ्नै जिल्ला भक्तपुर २ को (क) बाट निर्वाचित किरण थापालाई मुख्यमन्त्री बनाउने गरी गुन्डुबाट लाइन मिलाए ।
तर उक्त प्रयासमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेल असहमति जनाए । त्यहीकारण ओली उक्त अडानबाट पछि हट्न बाध्य भएर थपलियालाई नै मुख्यमन्त्री बनाउन तयार भए ।
शुक्रबार अध्यक्ष ओलीले संसदीय दलका नेता थपलियालाई नै मुख्यमन्त्री बनाउने गरी प्रदेशसभा सदस्यसहितको बैठकमा अनौपचारिक सहमति पनि जनाए। त्यसपछि बागमतीमा एमालेभित्र चलेको दलको नेता परिवर्तनको प्रयास रोकियो पनि।
तर उता ओलीका निकट सहयोगी तथा सचिव महेश बस्नेतमार्फत आफ्ना गाउँले एवम् २०७३ सालमा राप्रपाबाट आएका किरण थापालाई दलको नेता बनाउन जोडतोडले लागिरहेका थिए ।
ओलीले थपलियालाई मुख्यमन्त्री बनाउने सहमति जनाए पनि गुन्डुबाटै ट्रयाक टु रणनीति अघि बढाइयो । त्यो रणनीति के थियो भने सचिव बस्नेतकै योजनामा सांसद थापासमेत सहभागी भएर थपलियालाई छेक्न राप्रपाका सात सांसद विपक्षमा उभिन सक्ने वातावरण बनाइयो । अर्थात्, राप्रपाका १२ मध्ये ७ सांसद थपलियाविरुद्ध उभिएकाले दलको नेता भए पनि मुख्यमन्त्री हुन नसक्ने सन्देश गुन्डु लगियो ।
उता सुरूमै थपलियालाई नरूचाएका ओली पनि सचिव बस्नेतमार्फत् थपलियाको विपक्षमा माहोल बनाइरहेका थिए । गत शुक्रबार नै थापाको पक्षमा उभिएका भन्दै एमाले बागमतीका १४ सांसदको हस्ताक्षर गुन्डु लगियो । उता राप्रपाका १२ मध्ये ६ सांसदलाई पनि थापाको पक्षमा भोट दिने भन्दै ओलीसामु उभ्याइयो ।
महासचिव पोखरेल र उपाध्यक्ष पौडेलले यस कदमप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष ओलीलाई पटक पटक भेटेर विरोधसमेत जनाए । तर थापालाई जसरी पनि मुख्यमन्त्रीमा ल्याउने योजना सफल बनाउन गुन्डुले थपलियाको सकेसम्म तेजोबोध गरेको छ।
थपलिया रोक्ने खेल
बागमतीका एकजना प्रदेशसभा सदस्यका अनुसार थापाको पक्षमा एमालेका १४ जना र राप्रपाकासमेत ७ जना सांसद उभिने परिस्थति बनिसकेपछि सोमबार राति ७ बजे ओलीले बागमतीका सबै सांसदलाई गुन्डुमा बोलाए ।
सबैलाई खबर गरिए पनि थापाको पक्षमा हस्ताक्षर गर्ने १४ जनालाई एकजना पनि नछुट्न विशेष सर्कुलर नै गुन्डुले जारी गरेको थियो । भक्तपुरे सांसद थापाले यदि आफूलाई दलको नेता बनाए राप्रपाका १२ मध्ये ७ सांसद उभ्याउने दाबी गरेपछि ओली पनि उनैलाई अघि सार्ने गरी तयार भए ।
जगन्नाथका लागि बहुमत जुटाउन न गुन्डुले कुनै पहल गर्यो न बागमती इन्चार्ज महेश नै सक्रिय भए । उल्टै महेशले किरण थापाको पक्षमा राप्रपा सांसदहरू पनि उभिएको सन्देश ओलीकहाँ पुर्याए ।
त्यसपछि सचिव बस्नेतसहितले यसअघि थापाको पक्षमा हस्तक्षर गर्ने सबै १४ सांसदलाई उपस्थित हुन कडा निर्देशन दिए । ‘यसअघि थापाको पक्षमा हस्ताक्षर गरेका १४ जनामा कोही पनि अनुपस्थित हुनु हुँदैन भनेर गुन्डुबाट कडा निर्देशन गएको छ’, एकजना प्रदेशसभा सदस्यले सोमबार भनेका थिए ।
थापाको पक्षमा गुन्डुमा माहोल बनाउने ठूलै प्रयास सचिव बस्ने आफैंले गरे। एमालेमा लामो राजनीतिक योगदान दिएका थपलियाको तेजोबोध गर्न न बस्नेतले छाडे न ओलीले नै ।
गत बुधबार एमाले सचिव बस्नेतको नेतृत्वमा बागमती प्रदेशका सांसदहरूको भेला आयोजना गरिएको थियो। उक्त भेलामा किरण थापालाई संसदीय दलको नेता बनाउने उद्देश्यसहित १४ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो। गुन्डुमा ती सबै १४ सांसद पुगेका थिए । जगन्नाथ पनि अध्यक्ष ओलीले बोलाएपछि पुग्ने नै भए ।
जब थपलिया ढले
एमालेका १७ जना बागमती प्रदेश सांसद उपस्थित गुन्डुको माहोल संसदीय दलका नेता थपलिया राजनीतिक रुपमा असक्षम भन्ने शैलीमा तयार गरिएको थियो । किरण थापालाई सघाउने भनेर हस्ताक्षर गरेका १४ सहित अन्य सांसद त्यहाँ थिए। सचिव बस्नेतसहितले बिहानैदेखि तयारी गरेर उक्त भेला राखिएको थियो । एकजना प्रदेश सांसदका अनुसार त्यहाँ थपलियालाई अपमानसँगै चर्काचर्की र भनाभन चल्यो।
सुरूमै किरण थापाको पक्षमा एकपछि अर्को प्रदेश सभा सदस्यलाई बोल्ने वातावरण बनाइयो। केपी ओलीले सही गरेकै हो त भनेर सोधेको
पूर्वराप्रपा किरणको पक्षमा सांसदहरू विष्णु सिलवाल, ज्ञानबहादुर तामाङ, डा. दिनेशचन्द्र देवकोटा र भारती पाठकसहित चर्को स्वरसहित बोले । बहुमत जुटाउन नसक्ने असक्षम व्यक्तिलाई बोक्न नसकिने भन्दै उनीहरूले थपलियाको अपमान नै गरे । अर्कातिर मन्त्रीसमेत रहेका भरत केसीसमेत थपलियाविरुद्ध खनिए ।
त्यसरी बोल्ने सबैजना थपलियालाई झम्टिँदै थापाको नेतृत्वमा एक दिन पनि ढिला नगरी सरकार बनाउनुपर्ने पक्षमा देखिए । ‘पर्सि भयो भने सरकार बन्दैन, त्यसैले भोलि नै बहुमत जुटाउनुपर्छ’, थापाको पक्षमा बोल्दै उनीहरूले भने, ‘हामीले एक दिन पनि खेर फ्याँक्नु हँदैन। थापाजीलाई तत्कालै दलको नेता बनाएर मुख्यमन्त्रीमा लैजाऊँ ।’
त्यस बैठकमा संसदीय दलका नेता थपलियाले आफूलाई भएको अपमान सहन सकेनन् । उनी अध्यक्ष ओली र सचिव बस्नेतसँग पनि चर्काचर्की भएपछि बैठक कक्षमै ढले । रक्तचाप बढेपछि उनी ओलीकै सामु बेहोस भएर ढल्न पुगे ।
‘मेरो स्वास्थ्यमा अचानक समस्या देखियो । त्यही भएर राति नै म मध्यपुर थिमी अस्पतालमा भर्ना भएँ’, थपलियाले खबरहबलाई भने, ‘अहिले म त्रिपुरेश्वरमा आराम गरिरहेको छु। अब केही बेरमा फेरि अस्पताल जाँदैछु। पार्टीतिर के छ मलाई थाहा छैन। म आफैं बिरामी भएकाले के कसो गर्दैछन्, उनीहरू नै जानुन् ।’
थपलिया ओलीकै सामु ढलेपछि सम्धी दावा दोर्जे लामा र अर्का सांसद केशव पोखरेलले उनलाई उठाएर अस्पताल लगे । ‘ओलीले पनि आफ्नोसामु ढलेका थपलियालाई उठाएर लैजाओ भन्दै अपमानजनक व्यवहार गर्नु भयो’, एक सांसदले भने, ‘बैठकको यति प्रेसर त थेग्न नसक्नेले कसरी मुख्यमन्त्री भएर सरकार चलाउँछ, उठाएर लैजाओ उनलाई ।’
थपलिया मध्यपुर थिमी अस्पताल भर्ना भएर राति नै उपचारपछि डिस्चार्ज भए । ‘अहिले पनि मेरो अवस्था राम्रो छैन। म अस्पताल जाँदैछु’, उनले भने, ‘गुन्डुमा के भयो के भएन ? तपाईंले उनीहरूलाई नै सोध्नु होला। मलाई सन्चो नभएकाले यहाँभन्दा बोल्दिनँ।’
ओलीसमेत थापालाई बनाएर जानुपर्ने भन्नै आफ्नो अपमानमा उत्रिएपछि थपलियाले व्यक्तिको नभइ पार्टीको कुरा मूल हुने बताए । ‘बहुमत जुटाउने जिम्मेवारी मेरो मात्रै होइन । यो त अध्यक्ष कमरेड र पार्टीको जिम्मेवारी हो’, उनले बैठकमा व्यक्त गरेको भनाइबारे अर्का सांसदले भने, ‘मैले यो पार्टीमा ४५/५० वर्ष काम गरेँ, आखिर मैले के अपराध गरेँ ? मलाई यो अवस्थामा ल्याउने गरी मेरो के गल्ती र अपराध थियो ?’
थपलियालाई अस्पताल दौडाएपछि पनि गुन्डुमा सत्ताको हिसाब चलिरह्यो । एकजना सांसका अनुसार आफ्नैसामु ढलेका थपलियाबारे ओली रूखो शैलीमा प्रस्तुत भए । ‘ओलीले अपमानपूर्वक बोल्ने कुरा रोक्नु भएन । यो बैठककै कुरै सुन्न नसक्ने मान्छेले कसरी सरकार चलाउँछ, प्रदेश सभा कसरी अघि बढाउँछ ?’, ओलीले भने, ‘यो मान्छे यहीँ मर्ने भयो, यसलाई तुरून्तै पठाऊ । सरकारको हक लिनलाई सांसद बन्नुपर्छ, संसदीय दलमा चुनाव जित्नुपर्छ। यहाँ त राप्रपालाई पनि मनाउन पर्यो । राप्रपालाई मनाउनु भनेकै पनि हो। प्रेसर थेग्न नसक्नेलाई कसरी मुख्यमन्त्री बनाउने ?’
ती सांसदका अनुसार अस्पताल लगेपछि पनि ओलीले थपलियाको अपमान गर्दै बोलिरहे । त्यसपछि जंगिने पालो थियो महेश बस्नेतको । उनले पनि थपलियाको अपमान गर्ने शैलीमै बोले । ‘अध्यक्षले जे भन्यो त्यही मान्नुपर्छ हाम्रो पार्टीमा । म केपी ओलीको मान्छे हो, अध्यक्षले भनेपछि त्यही हो पार्टीको निर्णय’, उनी जंगिँदै भने, ‘बहुमत जुटाउन नसकेपछि यहाँ यो त्यो भनेर हुन्छ, अब जसले बहुमत जुटाउँछ, उसले चलाउँछ।’
महेश जंगिएपछि जगन्नाथको पक्षमा सांसद एकलाल श्रेष्ठले बोले । उनले पार्टीमा सबैको योगदानको मूल्याङ्कन हुनुपर्ने बताउँदै कसैको अपमान गर्न नहुने उल्लेख गरे । त्यसपछि जगन्नाथको पक्षमा सांसद उर्मिला सुनुवार र केशव पोखरेलले पनि बोलेपछि चर्काचर्कीको अवस्था आयो ।
त्यसपछि अझै जंगिएका नेता बस्नेतले प्रदेशसभा संसदीय दलको कार्यालयमा गर्नुपर्ने काम गुन्डुमै गर्न भने । ‘अल्पमत र बहुमत गुन्डुमै छुट्याउँ’, उनले भने, ‘जसको पक्षमा बहुमत देखिन्छ, त्यसैलाई यहीँबाट मुख्यमन्त्रीका रुपमा पठाऊँ।’
बस्नेतले बुधबार राप्रपा केन्द्रीय कार्यसमिति बैठक बस्ने भएकाले गुन्डुमै थापालाई मुख्यमन्त्री प्रस्ताव गरेर लैजान भने । त्यसपछि ओलीले जगन्नाथले समर्थन ल्याए उनी, किरणले ल्याए उनै मुख्यमन्त्री हुने भनेर मध्यराति १२ बजे बैठक सकाए ।
बैठकपछि बाहिरिएका सांसद एकलाल श्रेष्ठले सम्भवत: मंगलबारकै दलको बैठक बस्न सक्ने बताए । ‘गुन्डु म पनि गएको हो । त्यहाँ धेरै कुरा भएका छन्’, उनले भने, ‘वादविवाद के भयो, म त्यतातिर जान चाहन्न। एमालेले आजैभोलि दलको नेता पुरानै राख्ने या नयाँ ल्याउने टुंगो गर्ला ।’












प्रतिक्रिया