काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच सोमबार करिब ७ घण्टा लामो वार्ता भयो । यस वार्ताले एउटा समझदारी कायम गरे पनि सहकार्यको कुनै निर्णय नगरेको रास्वपा उपसभापति डीपी अर्यालले बताए ।
बालेनका एकजना सहयोगी पनि सकरात्मक रुपमा कुराकानी भएको बताउँछन् । तर पदको विषयमा बाहिर आएका हल्ला जस्तै कुराकानी नभएको यनी बताउँछन् । भन्छन, ‘वैकल्पिक शक्तिहरू एकता या सहकार्य गरेर जाने समझदारी विकास भएको छ । प्रधानमन्त्रीको अफर गरेको होइन । गहिरो समझदारी विकास भएको सूचना हामीलाई बालेनले दिनुभएको छ ।’
उता लामिछानेले पनि मंगलबार पत्रकारहरूसँगको कुराकानीमा बालेनलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए । दुई चरणको कुरा हुँदा अहिलेसम्म राजनीतिक विषयमा प्रवेश नगरेको उनको जवाफ थियो ।
‘रास्वपा परिवर्तनको पक्षमा लागेका सबै नयाँ र वैकल्पिक शक्तिहरूलाई संवादमार्फत एक ठाउँमा ल्याउने प्रयासमा छ । हामी त्यही प्रयासको क्रममा संवादमा छौँ । यो एउटा महत्वपूर्ण कडीका रूपमा अघि बढिरहेका छौं र यसलाई टुंगोमा पुर्याउने दिशामा लागेका छौँ’, उनले भने ।
उनले बालेनसँग दुई चरणमा वार्ता भएको र थप वार्ता जारी रहने जानकारी दिए । ‘तपाईंहरूले भने जस्तो अहिले नै आगामी निर्वाचनपछि बालेनलाई प्रधानमन्त्री बनाउने कुनै कुरा भएको छैन । संवाद भए पनि हामी अझै राजनीतिक चरणमा प्रवेश गरेका छैनौं । पहिले एकअर्कालाई बुझ्नुपर्छ, परिस्थितिको जानकारी लिनुपर्छ,’ उनले थपे ।
रविले भनेजस्तै अहिलेसम्म दुवै पक्षबीच कुनै सहमति भएको छैन । ‘कुनै सहमति भएको छैन । पदको विषयमा कुरा भएको छैन । दुई नेताहरू निर्वाचनमा सँगै जाने अवस्थाका लागि तयार हुने गरी समझदारी कायम भएको छ’, स्रोतले भन्यो।
करिब सात घण्टा लामो छलफललमा यसअगाडिका छलफल र भेटवार्ताबारे पनि कुराकानी भयो । यसअगाडि बालेनको टीमसँग रास्वपा सांसद शिशिर खनाल बसेका थिए ।
सोमबार बालेनसँग भेट्नुअगाडि रविले कार्यलयमा नेताहरूबीच छलफल गरेका थिए । बालेनसँगका एजेन्डाबारे उनले तयारी गरेको स्रोतको दाबी छ । बैठकमा नेताहरूले केही निर्णय गरेर जान सक्नुपर्ने सुझाव दिएका थिए ।
स्रोत भन्छ, ‘हामीसँग दुईवटा योजना छन् । पहिलो योजनामा कुरा भएको छ । पहिलोमै समझादारी नजुटे दोस्रो र तेस्रोमा पनि कुरा हुन्छ । उत्साहित हुने अवस्था छ । तर मिलनबिन्दु पहिलो योजनामै नहुन पनि सक्छ ।’
पहिलो योजना
रास्वपा नेताहरू सोमबार रवि र बालेनको भेटलाई पहिलो योजनाअन्तर्गत राख्छन् । रास्वपाले पहिलो योजनाअन्तर्गत सकेसम्म रवि र बालेन मिलेर निर्वाचनअघि नै एकै पार्टीमा सहकार्य कोशिस भइरहेको छ । यसका लागि रास्वपा सभापति लामिछानेबाहेक अरू सबै कुरा बालेनलाई छाड्न तयार हुनुपर्ने छ । तर त्यसका लागि बालेन रास्वपामा प्रवेश गर्नुपर्ने हुन्छ ।
उनी आधिकारिक रुपमा पार्टीमा जोडिएर जानुपर्ने मत रास्वपामा छ । बालेनलाई रास्वपाको नेताका रुपमा चुनावअघि नै मैदानमा उतार्न चाहेका छन् रविले ।
रविको यो सर्तमा विचार गर्ने जवाफ बालेनले दिएका छन् । ‘अहिले पहिलो योजनाअन्तर्गत एउटै पार्टीबाट निर्वाचन फेस गर्ने तयारी भइरहेको छ । यो दिशामा कुरा मिल्ने सम्भावना पनि छ’, रास्वपा स्रोत भन्छ, ‘पहिलो योजनाअन्तर्गत संवाद राम्रो भएको छ । निर्वाचनमा एकै पार्टीबाट यात्रा गरेर जाने गरी कुरा राखिएको छ । उहाँले यसलाई मानेमा रविले सभापतिबाहेक निर्वाचनपछिको पद दिन तयार हुनुहुन्छ । यसमा लिखित समझदारी नै हुन्छ ।’
यसअन्तर्गत रास्वपाले बहुमत ल्याएमा पहिलो कार्यकाल बालेन र दोस्रो कार्यकालमा रवि प्रधानमन्त्री हुने गरी समझदारी बन्न सक्नेछ ।
दोस्रो योजना
दोस्रो योजनाअन्तर्गत बालेनलाई रास्वपाले प्रधानमन्त्रीको अफर दिएर रास्वपा निर्वाचनमा जाने छ । तर बालेनले रास्वपाको सदस्यता लिनुपर्ने छ । निर्वाचनमा बालेनले आफ्ना सहयोगीसँगै आफू पनि घण्टी चुनाव चिह्न बोकेर होमिनुपर्ने छ ।
यस योजनाबारेमा पनि नेताहरू तयार भइरहेका छन् । बालेनले रास्वपाको कुनै पदमा नरहे पनि साधारण सदस्यका रुपमा निर्वाचनमा दौडाहा गर्नुपर्ने हुन्छ । यसबारे बालेननिकट स्रोत भन्छ, ‘मेयरको जिम्मेवारीका कारण प्रत्यक्ष राजनीतिमा नजोडिने भन्नु भएको छ। हामी दोस्रो विकल्पमा जान सक्छौँ । नेता होइन, साधारण सदस्य भएर उहाँले आगामी चुनावमा उत्रिने सम्भावना छ।’
दोस्रो योजनामा रास्वपाले बहुमत ल्याएको खण्डमा पूरै कार्यकाल बालेन प्रधानमन्त्री हुन पाउने छन् । तर यसका लागि पहिलो योजनाका सबै सर्त मान्नुपर्ने र वैकल्कि शक्ति मिलाउन प्रयत्न गर्नुपर्ने हुन्छ ।
तेस्रो योजना : वैकल्पिक शक्ति एक मिल्ने
यदि रास्वपाले बहुमत ल्याउने स्थिति नदेखिएमा रास्वपा, बालेन र कुलमान घिसिङको उज्यालो नेपाललगायत नयाँ शक्ति एक ठाउँमा आएर निर्वाचन लड्ने छन् । यी शक्ति मिल्दा बहुमत ल्याएर आलोपालो सरकार चलाउने समझदारीसमेत गर्ने तयारी छ।
पुराना दलप्रति जनताको आवेगलाई ‘क्यास’ गर्न सबै वैकल्पिक शक्ति एक ठाउँमा आएर मोर्चाबन्दी गर्नुपर्ने एकथरीको मत छ । सबै वैकल्पिक शक्ति एक भएर निर्वाचन लड्ने वातावरण तयार पार्न बालेनले पनि सहयोग गर्नुपर्नेमा कुलमान र रविले पनि जोड दिइरहेका छन् ।
‘तेस्रो योजना रवि, बालेन र कुलमान सबै एकै भएर मोर्चामार्फत् सहकार्य गर्ने कुरा हो । यसका लागि कुलमानजी पनि बालेनसँग छलफलमा हुनुहुन्छ’, रास्वपा स्रोत भन्छ, ‘रवि र कुलमान तथा रवि, बालेन र कुलमान पनि मोर्चाबारे कुरा गर्नुहुन्छ । तर माथिका दुवै योजना असफल भए मात्रै यो विकल्पमा जाने कुरा भएको छ।’
‘कम्फर्ट जोन’ खोज्दै बालेन
बालेन अहिले कुलमान र रवि दुवैलाई नचिढ्याउने पक्षमा छन् । उनी दुई नेतामध्ये निर्वाचनको एक महिनाअगाडि एक जनालाई साथ दिने पक्षमा छन् । यदि त्यसो नभए वैकल्पिक शक्तिको मोर्चा बनाएर अगाडि बढ्ने योजनामा रहेको उनीनिकट नेताहरू बताउँछन् । ‘पुराना दललाई परास्त गर्न वैकल्पिक शक्तिबीच कार्यगत तथा चुनावी सहकार्य हुनसक्छ’, स्रोत भन्छ ।
बालेनको एकजना सचिवालय सदस्यले भने, ‘एकले अर्कालाई विरोध नगर्ने गरी नयाँहरू मिलेर जाने र उपलब्धि जोगाउँदै जनताको पक्षमा काम गर्ने वातावारण बन्नसक्छ ।’
कुलमानको पार्टीमा बालेन जाने सम्भावना कम छ । त्यसैले उनले रास्वपा नै रोज्नेमा रवि ढुक्क छन् ।
निकट स्रोतका अनुसार बालेन निर्वाचनपछि प्रधानमन्त्री हुने दाउमा छन् । उनलाई कांग्रेस एमाले र नेकपाजस्ता पुराना दलले साथ दिएका छैनन्। उनी पुराना दललाई देखाउन आफू शक्तिशाली बनेर देशको नेतृत्व लिने योजनामा छन् ।
भेटबारे के भन्छन् अर्याल ?
वार्ताबारे रास्वपा उपसभापति अर्याल भन्छन, ‘सकरात्मक, सौहार्दपूर्ण वार्ता भएको छ । पदको विषयमा संवाद भएको छैन । बालेनजी पारिवारिक शोकबाट बाहिर निस्केको र रवि दाइ कारागारबाट निस्कनु भएकाले लामो पारिवारिक कुरा भयो ।’
अर्यालका अनुसार जेन-जी आन्दोलनपछि देशले खोजेको नेतृत्व र पुस्तान्तरणबारे पनि छलफल भएको छ । उनी २ घण्टाजस्तो चार जनाबीच र अरु ५ घण्टा छुट्टाछुट्टै वार्ता गरेको बताउँछन् ।
‘निर्वाचनमा कसरी जाने ? देशले के खोजेको छ ? जेन-जी आन्दोलनपछि हाम्रो दायित्व र जेन-जीको मागलाई पूरा गर्न के–के गर्नुपर्छ लगायतका विषयमा कुरा भयो’, अर्याल भन्छन, ‘जनताले दुई नेता खोजेकोबारे कुराकानी भएको छ । दुई नेता वान-टु-वान वार्ता गरेकाले अन्य कुरा खुल्दै जाला ।’
अर्याल चुनावकेन्द्रित कुराकानी पनि भएको बताएको बताउँछन् । वार्तापछि राति अबेर भएकाले चार नेताहरू बालेन, रवि, डीपी र कुमार बेनसँगै अर्यालको गाडीमा फर्किएका थिए । भेटघाट पूर्वसांसद असिम शाहको घरमा भेट हो ।













प्रतिक्रिया