काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीसँग प्रदेश सरकारमा सत्ता साझेदारी गर्ने निर्णयले नेकपा एमालेभित्र एकपछि अर्को कलह जन्माएको छ।
एमाले अध्यक्ष ओलीले कोशी र लुम्बिनीका मुख्यमन्त्री फेर्ने तथा बागमतीमा दलका नेता जगन्नाथ थपलियाको विकल्प खोज्ने निर्णयले तनाव बढाएको हो।
कोशीमा ओलीले प्रदेश इन्चार्जसमेत रहेका सचिव शेरधन राईलाई आफ्नो कारिन्दाका रुपमा खटाएर मुख्यमन्त्री हिक्मत कार्कीलाई हट्न दबाब बढाइरहेका छन् ।
तर कार्कीले भने आफू निर्विकल्प नरहे पनि वर्तमान परिवेशमा पार्टीलाई एकताबद्ध गर्ने काम गर्ने बताए । उनले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम बनेको सरकार भएकाले यसलाई दृष्टिगत गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।
सोमबार एमालेका सांसदहरूको छलफल कार्यक्रममा २९ जना प्रदेश सांसदहरू सहभागी थिए । एमालेका कोशी प्रदेशमा उपसभामुख सहित ४० जना प्रदेश सांसद रहेका छन् ।
उता बागमतीमा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको साथ पाएर मुख्यमन्त्री बन्ने दौडमा रहेका संसदीय दलका नेता जगन्नाथ खतिवडालाई तनाव भएको छ।
यसअघि अध्यक्ष ओलीसमेत थपलियालाई मुख्यमन्त्री बनाउन तयार भएका थिए । तर थपलियाले सोमबारसम्म पनि बहुमत जुटाउन सकेनन्। बागमतीमा नेकपा र एमाले मिलेर मात्रै हुँदै १२ सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको पनि साथ चाहिन्छ ।
यस्तोमा अब फेरि बागमतीमा अर्को खेल सुरू भएको छ । थपलियालाई मुख्यमन्त्रीका रुपमा एमालेले अघि सारे आफूहरूले साथ नदिने चेतावनी राप्रपा सांसदहरूले दिएका छन्।
राप्रपा आफ्नो पक्षमा नउभिने भएपछि थपलिया बिलखबन्दमा परेका छन् । उता २०७३ सालमा राप्रपाबाट एमालेमा आएका भक्तपुरका प्रदेश सभा सदस्य किरण थापाले आफू बहुमत जुटाउन सक्षम रहेको बताएका छन्।
सुरूमा ओली पनि उनैलाई मुख्यमन्त्री बनाउन चाहन्थे । कोशीमा आफ्ना भित्रिया शेरधन खटाएजस्तै ओलीले बागमतीमा महेश बस्नेतलाई खटाएका थिए । बस्नेतहरूको खटाईको नतिजा अन्तत: राप्रपाका सांसदहरू जगन्नाथको पक्षमा उभिन तयार भएनन् ।
उता भक्तपुरे सांसद किरण थापाले यदि आफूलाई दलको नेता बनाए राप्रपाका १२ मध्ये ७ सांसद उभ्याउने दाबी गरेका छन् । यदि त्यस्तो भयो भने अब जगन्नाथले दलको नेता छाडिदिएर किरणलाई अघि सार्नुपर्ने हुन्छ।
जगन्नाथले बहुमत जुटाउन नसकेको यो अवस्थामा अब एमाले अध्यक्ष ओलीले बागमतीका सबै एमाले प्रदेश सभा सदस्यलाई सोमबार साँझ ७ गुन्डुमा बोलाएका छन्।
उनको तर्फबाट सचिव महेश बस्नेतसहितले यसअघि थपलियाको पक्षमा हस्तक्षर गर्ने सबै १४ सांसदलाई उपस्थित हुन कडा निर्देशन दिएका छन् । ‘यसअघि थापाको पक्षमा हस्ताक्षर गरेका १४ जनामा कोही पनि अनुपस्थित हुनु हुँदैन भनेर गुन्डुबाट कडा निर्देशन गएको छ’, एकजना प्रदेशसभा सदस्यले भने, ‘दलका नेता थपलियाहरू पनि त्यहाँ जानु हुनेछ। राप्रपा जगन्नाथको पक्षमा तयार नभएको अवस्थामा गुन्डुमा चर्काचर्की पर्ने अवस्था छ ।’
गत बुधबार एमाले सचिव बस्नेतको नेतृत्वमा बागमती प्रदेशका सांसदहरूको भेला आयोजना गरिएको थियो। उक्त भेलामा किरण थापालाई संसदीय दलको नेता बनाउने उद्देश्यसहित १४ जना सांसदको हस्ताक्षर संकलन गरिएको थियो।
एमाले बागमती संसदीय दलमा नेता परिवर्तनका लागि आवश्यक बहुमत पुग्ने गरी हस्ताक्षर जुटाइए पनि त्यसलाई संसदीय दलको औपचारिक बैठकबाट अनुमोदन गराउनुपर्ने चुनौती भने बाँकी नै थियो।
बस्नेतको सक्रियतामा गत बिहीबार र शुक्रबार पनि हस्ताक्षर अभियानलाई निरन्तरता दिइएको थियो। किरण थापा आफैं पनि केही नेतासहित अध्यक्ष ओलीलाई भेट्न गुन्डु पुगेका थिए। २०७३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एमाले प्रवेश गरेका थापा यसपटक मुख्यमन्त्री बन्ने दौडमा सक्रिय देखिएका थिए।
स्रोतका अनुसार थपलियालाई हटाएर किरण थापालाई संसदीय दलको नेता बनाउने अभियानमा सचिव महेश बस्नेतसँगै प्रदेश कमिटीका केही नेताहरू पनि सक्रिय थिए। सांसदहरूलाई हस्ताक्षर गर्न विभिन्न किसिमका व्यवस्थापनको आश्वासनसमेत दिइएको दाबी स्रोतले गरेको छ।
यता संसदीय दलका नेता जगन्नाथ थपलियाले भने दलको बैठक नै नबोलाएर नेतृत्व परिवर्तनको प्रयासलाई रोकिदिएका थिए। संसदीय दलको बैठक नबस्दासम्म सांसदहरूको हस्ताक्षर मात्रका आधारमा नेता परिवर्तन सम्भव नहुने भएकाले बस्नेत पक्षको रणनीति प्रभावहीन बनेको थियो।
स्रोतका अनुसार थपलियाले गत बिहीबार ओलीलाई भेटेर आफूलाई मुख्यमन्त्री बन्नबाट रोक्ने निर्णय भए त्यो आफूले अध्यक्षसँग गर्ने अन्तिम भेट हुनेसम्मको सन्देश दिएका थिए। उनी गुन्डु पुगेर असन्तुष्टि र रोष व्यक्त गर्दै फर्किएका थिए।
त्यसअघि अध्यक्ष ओलीले संसदीय दलको बैठक किन नबोलाएको भन्दै थपलियालाई फोनमार्फत् दबाब दिन खोजेका थिए। तर महासचिव शंकर पोखरेलले थपलियालाई नै निरन्तरता दिनुपर्ने स्पष्ट अडान राखेपछि अन्ततः शुक्रबार अध्यक्ष ओली आफ्नो पूर्वअडानबाट पछि हटेको स्रोतको भनाइ छ।
एमाले बागमती संसदीय दलको नेतृत्व परिवर्तनको पक्षमा हस्ताक्षर गर्ने १४ जना सांसदमा केही मन्त्री भइसकेका पनि थिए। थपलियालाई दलको नेताबाट हटाउन हस्ताक्षर गर्नेहरूमा किरण थापा मगर (भक्तपुर), शकुन्तला श्रेष्ठ (भक्तपुर), भरत केसी (दोलखा), आनन्द श्रेष्ठ (रामेछाप), भारती पाठक (मकवानपुर), कृष्ण सिलवाल (चितवन), रामेश्वर श्रेष्ठ (ललितपुर) र प्रेमभक्त महर्जन (ललितपुर) थिए।
त्यस्तै सचिव बस्नेतले चलाएको हस्ताक्षर अभियानपछि नेता फेर्ने पक्षमा रघुनाथ महर्जन (ललितपुर), डा. दिनेशचन्द्र देवकोटा (काठमाडौं), ज्ञानबहादुर तामाङ (काभ्रे), जयराम थापा (काठमाडौं), बिन्दु श्रेष्ठ (काठमाडौं) र माइली तामाङ (सिन्धुपाल्चोक) थिए ।
राजनीतिक रूपमा अर्को महत्वपूर्ण पक्ष के पनि छ भने बागमती प्रदेशमा एमाले र नेकपाको मात्रै स्पष्ट बहुमत पुग्दैन। त्यसैले सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन अपरिहार्य देखिएको छ।
बागमती प्रदेशसभामा राप्रपाका १२ जना सांसद छन्। स्रोतका अनुसार राप्रपाले सरकारमा तीन मन्त्रालयको दाबी गरेको छ भने एमाले दुई मन्त्रालय दिन तयार देखिएको छ। यही विषयमा पनि छलफल जारी छ ।
मुख्यमन्त्रीका आकांक्षी किरण थापा, एमाले बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेल र सचिव महेश बस्नेतबीच पटकपटक छलफल भए पनि साझा निष्कर्ष निस्किएन । बरू उनीहरूबीच नै भनाभनको अवस्था आएको थियो । त्यहीकारण संसदीय दलको बैठक बोलाउन नसक्दा नेतृत्व परिवर्तनको प्रयास त्यसबेला सफल हुन सकेन।
अध्यक्ष ओलीले अन्तिम चरणमा किरण थापालाई ‘अझै उमेर छ, कुर्न सकिन्छ’ भन्दै सम्झाउने प्रयास गरेका थिए । तर अब उनै किरण र सचिव बस्नेतले राप्रपामा खेलेर जगन्नाथलाई रोक्न लागेका हुन् । अब थपलियालाई नै संसदीय दलको नेता कायम राख्दै मुख्यमन्त्री बनाउने निष्कर्षमा पुगेका ओली पनि थापाको पक्षमा कोल्टे फेरेका छन ।
थपलियाले आफू संसदीय दलको निर्वाचित नेता भएकाले स्वतः मुख्यमन्त्रीको दाबेदार रहेको बताएका थिए। तर उनले तीन दिनको कोसिसमा पनि बहुमत जुटाउने अवस्था देखिएन ।












प्रतिक्रिया