काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले दिएका विवादास्पद अभिव्यक्तिका कारण सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद र नेताहरूमाथि नै अनेक प्रश्न उठ्न थालेको छ ।
गत जेठ १७ गते प्रधानमन्त्री बालेनले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै नेपालले पनि भारतको भूभाग मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएपछि उक्त दलका नेताहरूमाथि प्रश्न उठेको हो ।
प्रधानमन्त्रीले राष्ट्रियतामाथि गम्भीर प्रहार गर्दै अभिव्यक्ति दिएको १३ दिन बितिसक्दा पनि पार्टीले यसबाारे जनतालाई आश्वस्त पार्न सकेको छैन।
यस विषयमा रास्वपा चुक्दा जनमतको अपमान हुने राजनीति विश्लेषकहरू बताउँछन् । विवेकशील साझाबाट आएका नेतृहरू समीक्षा बास्कोटा, रञ्जु दर्शना, विराजभक्त श्रेष्ठहरू पनि छन् ।
उता निर्वाचनअघि पार्टी प्रवेश गरेका सांसदहरू आशिका तामाङ, डा. अमरेश कुमार सिंह पनि छन् । उता पुराना नेताहरू मनिष झा, गणेश पराजुली, सह-ममन्त्री विपिनकुमार आचार्य, रिमा विश्वकर्मा, पुकार बमलगायत नेताहरूले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति असन्तुष्टि पोखिरहेका छन् । तर उनीहरू पनि सिधासिधै बोल्ने अवस्थामा छैनन्।
यसबारे प्रश्न गर्दा उनीहरू अझै खुलेर बोल्न तयार छैनन् । प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिबारे सुरूवाती चरणमा सांसद आशिका तामाङले कुरा उठाएकी थिइन् । तामाङले सभामुखले समेत शिर निहुराउनु परेको भन्दै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने उल्लेख गरेकी थिइन् ।
यसबारे खबरहबले तामाङसँग कुराकानी गर्ने प्रयास गरेको थियो । तर तामाङले जो कोहीले पनि गल्ती स्वीकार्ने तात्पर्यता राख्नुपर्ने जवाफ दिँदै पन्छिइन् ।
‘गल्ती गरेको भए स्वीकार गर्ने तात्पर्यता राख्नुपर्छ । गल्ती सबैबाट हुन्छ, मबाट पनि कतिपय गल्ती हुन्छ होला । तर माफी हामी सबैले माग्नुपर्छ’, तामाङले भनिन्, ‘मैले प्रधानमन्त्रीको विषयमा मात्रै कुरा गरेको होइन। सत्तापक्ष या प्रतिपक्ष जो कोहीले पनि गल्ती गरेको भए जनतालाई जवाफ दिनुपर्छ ।’

विवेकशील साझाकी पूर्वमहासचिव एवम् हाल रास्वपा सांसद दर्शनाले पनि सांकेतिक रुपमा प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई असर पुर्याएको भन्दै सबै जिम्मेवार हुनुपर्ने अभिव्यक्ति दिएकी छन् ।
उनले आफूले बोलेका कुराको विषयमा आफूनै बढी जानकार हुने भएकाले प्रधानमन्त्रीलाई नै यो विषय सोध्न अनुरोध गरिन् ।
‘मलाई भन्दा यो कुरा प्रधानमन्त्रीलाई नै सोध्ने विषय हो । यति मात्रै हो- राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र नेपालीहरूको भावना बुझ्ने नेतृत्व हामीले चाहेका छौँ’, दर्शनाले भनेकी छिन्, ‘उहाँहरुले बोल्नुभएको विषयमा उहाँहरू आफैँ सबैभन्दा बढी जानकार हुनुहुन्छ । अहिले मैले बोल्ने केही पनि शब्द छैन ।’
अरु नेताहरू भने प्रधानमन्त्रीले त्यसो भन्न नखोजेको भन्दै बचाउने कोसिस गरिरहेका छन्। पार्टीभित्र तीव्र असन्तुष्टि हुँदा पनि उनीहरू बोल्ने अवस्थामा देखिँदैनन् ।
तर, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति परराष्ट्रमन्त्री शिशिर खनाल, कानुनमन्त्री सोबिता गौतमलगायत पनि असन्तुष्ट रहेको रास्वपा स्रोतको भनाइ छ ।
खनाल र गौतम मात्र होइन, विवेकशीलका पूर्वनेता एवम् ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले पनि प्रधानमन्त्रीको भनाइप्रति निकटस्थहरूसँग असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले प्रधानमन्त्रीको भनाइका कारण ‘लज्जास्पद वातावरण बनेको’ उल्लेख गरेको स्रोतले जानकारी दियो । श्रेष्ठनिकट नेताहरूका अनुसार खनाल, श्रेष्ठ र गौतमबीच यस विषयमा लामो समय छलफल पनि भएको थियो । उनीहरूले सभापति रवि लामिछानेलाई पनि यसबारे अवगत गराएका थिए ।
परराष्ट्रमन्त्री खनालनिकट स्रोतका अनुसार नेपालले पनि भारतको भूभाग मिचेको छ भन्ने भनाइलाई लिएर सदनबाट माफी माग्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिइएको हो । तर, प्रधानमन्त्री बालेनले परराष्ट्रमन्त्री खनाललाई आफैँ अभिव्यक्तिबारे मिलाएर सदनमा प्रस्तुतीकरण दिन ठाडो निर्देशन दिएका थिए ।
सरकारका गतिविधिबारे सदनमा खरो उत्रिरहेका रास्वपा सांसद डा. अमरेशकुमार सिंहले पनि यसबारे असन्तुष्टि जनाए । डा. सिंहलाई यसबारे सोध्दा नेपाली जनताभन्दा कोही ठूलो नहुने भन्दै जनताको असन्तुष्टि सम्बोधन गर्नुपर्ने जवाफ दिए ।
उनी यसबारे प्रधानमन्त्रीसँगै जवाफ माग्नुपर्ने बताउँछन् । ‘यसबारे उहाँसँगै बुझ्दा राम्रो होला । मेरो भनाइ यति मात्र हो- नेपालले सीमाना मिचेको छैन । भोगचलनमा यताउता भयो होला । यो मैले भनेको हो, तपाईंहरु आफैँ विश्लेषण गर्नुस्’, डा. सिंहले भने, ‘यति हो- सरकारले जनताको अपेक्षा अनुसार काम गर्नुपर्छ । प्रधानमन्त्रीको कुरा उहाँलाई नै सोध्नु, मलाई सोधेर के हुन्छ ? मलाई त मेरो सर्लाही क्षेत्र नम्बर ४ का जनताको विषयमा प्रश्न गर्नुहोस् न ! म सरकारको मान्छे होइन नि ।’
पार्टी प्रवक्ता मनिष झाले त धेरै जना सञ्चारकर्मीले जिज्ञासा राखेपछि पार्टी सभापति रवि लामिछानेलाई यसबारे पार्टीको धारणा बनाउनुपर्ने सुझाव दिएका थिए ।
तर पार्टी सभापति लामिछानेले परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति र परराष्ट्रमन्त्रीको भनाइ नै पार्टीको आधिकारिक भनाइ भएको भन्दै पन्छिएको बताइन्छ। यसबारे हामीले प्रश्न गर्दा प्रवक्ता झाले पनि परराष्ट्र मन्त्रालय र मन्त्रीले यसबारे जवाफ दिइसकेकाले थप कुरा गर्न आवश्यक नरहेको बताए ।
नैतिक प्रश्न
प्रधानमन्त्रीको भनाइले रास्वपाको प्रतिनिधित्व गर्ने १ सय ८१ जना सांसदमाथि नै प्रश्न उठेको विपक्षी दलका नेता एवम् नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बे बताउँछन् ।
उनले यसअघि सदनलाई सम्बोधन गर्दै १ सय ८१ जना सांसदले नै मुखमा टेप लगाएर प्रधानमन्त्रीको भनाइलाई समर्थन गरेको बताएका थिए ।
खबरहबसँगको कुराकानीमा पनि उनी नेपाली जनताले पनि १ सय ८१ जना सांसदहरूले प्रधानमन्त्रीको भनाइप्रति समर्थन जनाएको टुलुटुलु हेर्दै बसेकाले त्यसको लेखाजोखा जनताले नै गर्ने बताउँछन् ।
‘सदनमा १७ गतेदेखि १० दिन कराएको तपाईंहरूले सुन्नुभयो नै होला । हामीले जवाफ मागेको मागै छौँ, प्रधानमन्त्री मात्र होइन १ सय ८१ जना सांसदहरु नै नजवाफ भएर बस्नुभएको छ । अहिले पुराना दलका नेताले बोल्दा झुक्किएर कुनै शब्द प्रयोग गरेको भए उहाँहरु के गर्नुहुन्थ्यो ? तपाईंहरू आफैँ विश्लेषण गर्नुहोस्,’ आङ्देम्बेले खबरहबसँग भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीमा धेरै विज्ञ र नेताहरू हुनुहुन्छ भन्ने सुनेका थियौँ, तर उहाँहरू सबै प्रधानमन्त्रीको भनाइमा ताली पिटेर बस्नुभयो । कांग्रेस सांसदहरूले त आफ्ना नेताले राखेको विषयमा व्यक्तिगत धारणा दिने गरेका थियौँ ।’
सांसदहरूलाई अभिव्यक्ति स्वतन्त्रताको हक दिए पनि प्रधानमन्त्रीको राष्ट्रियतामाथिकै प्रहार हुने भनाइले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई नैतिक प्रश्न भने उठाएको देखिन्छ ।
आफ्नो विचार राख्न पाउने सांसदहरूको अधिकार हुँदाहुँदै पनि प्रधानमन्त्रीको भनाइलाई मौन समर्थन गर्नुले उनीहरूको भूमिकामाथि प्रश्न गर्ने धेरै ठाउँ रहेको नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता रमेश मल्ल बताउँछन् ।
सारा नेपाली जनताले अभिव्यक्ति सच्याउनुपर्ने माग राखिरहँदा प्रधानमन्त्री नसुध्रिएकाले जनताहरूकै अपमान भएको उनी बताउँछन् ।
सत्तापक्षका सांसदहरू बचाउमा लागे : राजेन्द्र फुयाँल
संसदीय मामिला जानकार राजेन्द्र फुयाँल सांसदहरूलाई अभिव्यक्ति स्वतन्त्रताको विषयमा जानकारी नभएको टिप्पणी गर्छन् । उनी आफ्नो अभिव्यक्तिमा प्रधानमन्त्रीले नै स्पष्टीकरण दिनुपर्ने धारणा राख्छन् ।
‘संसदमा प्रधानमन्त्रीले बोलेपछि प्रस्ट्याउने जिम्मा पनि प्रधानमन्त्रीकै हो । प्रधानमन्त्रीले भन्न खोजेको आशय के थियो ? यदि शब्द चयनमा मिस्टेक भएको भए प्रधानमन्त्री स्वयंले प्रष्ट नपारेकाले अहिलेसम्म आएका सबै अन्दाजका विषय हुन् । प्रधानमन्त्रीको भनाइको क्लेरिफिकेसन अरु मन्त्रीले दिएर हुँदैन । प्रधानमन्त्री स्वयंले रोस्ट्रममा आएर जवाफ दिनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीको भनाइमा प्रष्टीकरण दिने मान्छे सत्तापक्षका सांसद वा मन्त्री हुँदैनन् । उहाँहरुले प्रधानमन्त्रीको भनाइको समर्थनमा ताली ठोक्नु पनि नैतिक प्रश्न खडा हुनु हो ।’
यसलाई लिएर सत्तापक्षका सांसदहरू पनि अन्यौलमा रहेका उनले बताएका छन् । ‘समग्र सत्तापक्ष सांसदहरू आफ्नो भूमिका के हो भन्नेमै अलमलमा हुनुहुन्छ । एकजना सांसदले तालिम चाहियो भन्नुको आशय पनि प्रधानमन्त्रीको अभिव्यक्तिसँग जोडिन सक्ला’, फुयाँलले भने, ‘सत्तापक्षका सांसदहरू हामीले सरकारको डिफेन्ड गर्ने हो भन्ने अर्थमा बुझ्नुभएको छ । सत्तापक्षका सांसदहरूको काम पोलेसी र इस्युमा आफ्नो धारणा राख्ने हो । जवाफ दिने काम स्वयं सरकारको हो । कोर फङ्सन के हो भन्ने कुरामा सत्तापक्षमा अन्योल छ ।’
‘प्रधानमन्त्रीमाथि नै शंका उब्जियो’
राजनीतिक विश्लेषक इन्द्र अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पनि प्रधानमन्त्रीलाई रुलिङ गर्न नसकेको बताउँछिन् ।
प्रधानमन्त्रीको भनाइप्रति सभापति लामिछाने असन्तुष्ट रहेको सांकेतिक रुपमा देखिएको तर औपचारिक रुपमा बाहिर नदेखिएकाले सभापतिले औपचारिकता निभाउनुपर्ने अधिकारीको विश्लेषण छ ।
राष्ट्रियता बचाउने र देशको सार्वभौमसत्ता कायम राख्ने विषयमा पार्टी सभापति र पार्टीको धारणा स्पष्ट नआउनुले पनि पार्टीमाथि नेपाली जनताको शंका उब्जिने वातावरण बनेको उनी बताउँछिन् ।
प्रधानमन्त्रीले गलत बोल्दा पनि पार्टीका १ सय ८१ सांसद ‘तँ वीर की म वीर’ भन्ने शैलीमा प्रस्तुत भइरहेको भन्दै उनले सांसदहरुले पनि आफ्नो विवेक प्रयोग गर्नुपर्ने बताइन् ।
‘प्रधानमन्त्रीले धेरै ठाउँबाट आफूले बोल्ने कुरामा ब्रिफिङ लिइरहेको अवस्था छ । विभिन्न रिपोर्टहरूमा दशगजा लगायत क्षेत्रमा भोगचलन गर्दा जग्गा यताउता भएको भन्ने हिसाबले बोल्नु पर्ने थियो तर, उहाँको अभिव्यक्ति गलत भयो,’ उनले भनिन् ।
आफ्नो भनाइ नसच्याएका कारण प्रधानमन्त्रीमाथि नै शंका उब्जेको उनको विश्लेषण छ । ‘उहाँ यो विषयमा चिप्लिनुभयो । सुरुमा त प्रस्तुतिमा टेक्निकल टर्महरूको प्रयोग नभएर यो हंगामा भएको होला कि भन्ने थियो तर उहाँले आफ्नो अभिव्यक्ति नसच्याएपछि शंका गर्ने ठाउँ भयो । प्रधानमन्त्रीले बोलेको गलत कुरालाई १ सय ८१ जना सांसदले समर्थन गर्नु आफैँमा विडम्बना हो,’ उनले भनिन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीकै पूर्वसांसद सुमना श्रेष्ठ ढ्यापढ्यापे सांसद भन्नुहुन्थ्यो । हो, त्यसरी नै प्रधानमन्त्रीले बोलेको कुरा नबुझिकन ढ्यापढ्याप पार्नु एक दमै गलत छ ।’
उनले अगाडि सांसदहरू आफ्नो विवेक प्रयोग गर्ने अवस्थामा नहुनुलाई दु:खद भनिन् । ‘आफ्नो विवेक प्रयोग नगर्ने सांसद प्रतिनिधिसभामा कतिको उपयुक्त हुन्छन् ? प्रधानमन्त्री बोलेपछि ताली ठोकेर समर्थन गर्ने, विपक्षी बोलेपछि चुप लागेर बस्ने अथवा विरोध गर्ने संस्कार मात्रै सत्तापक्षका सांसदहरूले सिकेको देखिन्छ’, उनले भनिन्, ’सांसदहरूले आफ्नो विवेकको प्रयोग नगर्ने, आफू अपडेट नहुने, सही र गलत के हो छुट्याउन नसक्ने स्थिति आउनु एकदमै दुःखद छ ।’
सांसद सर्वभौम भएकाले पार्टीको बचाउमा लाग्नु उपयुक्त नहुने अधिकारी बताउँछिन् । ‘केही विषयमा सांसदहरूलाई पार्टीले ह्विप नै जारी गर्न सक्छ । तर राष्ट्रियता र भौगोलिक अखण्डताजस्ता विषयमा सांसदहरु चुप बस्दा नैतिकतामाथि प्रश्न उठ्नु स्वभाविक हो । राष्ट्रहित, जनहित र राष्ट्रियताको पक्षमा संसदहरूले आफ्नो विवेक प्रयोग गर्नुपर्छ । सांसदहरूले अरु विषयमा त बोल्दा ढ्यापढ्याप गर्ने नै भए, तर मैले प्रधानमन्त्री भएपछि मात्रै थाहा पाएँ, नेपालले पनि भारतको भूभाग मिचेको रहेछ भन्दा पनि ढ्यापढ्याप गर्नु विडम्बना हो । प्रधानमन्त्रीले गतिलो कुरा बोल्नुभएको छैन’, अधिकारी भन्छिन् ।
यो विषयमा पार्टी र सभापति स्वयम् पनि जिम्मेवार हुनुपर्ने उनको भनाइ छ । ‘उहाँमाथि पनि नैतिकताको प्रश्न उठ्छ । वालेन्द्र शाहले बोलेको कुरालाई समर्थन गरेर पार्टी सभापति र सिंगो पार्टी नै निस्किनु भनेको पार्टीमाथि शङ्का गर्नुपर्ने ठाउँ रहनु स्वभाविक हो,’ उनले भनिन्, ‘चर्को ढङ्गले बालेन्द्रको चाकरी कसले गर्ने भन्ने विषयमा तँछाडमछाड छ । नेपालकै प्रधानमन्त्रीले नेपालले भारतको भूभाग मिचेको छ भन्ने वाक्य बोल्नुभयो भनेर भारतीय मिडियाले त हंगामा मच्चाइरहेका छन् ।’
उनले हामी कहाँसम्म चुकेका छौँ भन्ने विश्लेषण राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले गर्नु पर्ने बताइन् । ‘रास्वपाको धारणा पनि यही हो भने उहाँहरू झन् फस्नुभयो, किनभने अहिलेसम्म हामीले समय पर्खिएको हो । तर उहाँले आफ्नो अभिव्यक्ति सच्याउने प्रयत्न नै गर्नुभएन’, उनले भनिन् ।
अधिकारी कुनैबेला अभिव्यक्ति दिइरहँदा जो कोही व्यक्ति पनि चिप्लन सक्ने स्थिति भएपनि सच्चिन सक्ने अवस्थामा आउनु पर्ने तर्क गर्छिन् ।
प्रधानमन्त्रीले देशको अखण्डता र सर्वम सत्तामाथि प्रहार गरिरहेकाले यसले देशलाई कमजोर बनाउने उनको भनाइ छ ।
‘यो केवल प्रधानमन्त्रीको जवाफदेहिताको मात्रै प्रश्न रहेन, १ सय ८१ जना सांसदको जवाफदेहिताको प्रश्न हो । पार्टीकै तर्फबाट पनि अब प्रष्टीकरण जरुरी छ,’ उनले भनिन् ।












प्रतिक्रिया