तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका « Khabarhub

तीन दलीय सरकार नबनाउने कांग्रेसको अडानले दबाबमा ओली-प्रचण्ड, एक अर्कामाथि शंकैशंका

गगनसँग पनि वार्ता गर्ने सहमति



काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धन फुटको डिलमा पुगेपछि प्रदेशका सरकारमाथि संकटको बादल मडारिएको छ । प्रदेशका सांसदहरू काठमाडौं ओइरिएपछि अब कसरी सरकार सञ्चालन गर्ने भन्नेबारे दलहरू छलफलमा जुटेका छन् ।

प्रादेशिक संरचनालाई प्रदेशमा गठबन्धन बनाउने अधिकार दिनुपर्ने विषयमा पनि तीन दलहरूबीच सामान्य ढंगले छलफल भइरहेको बुझिएको छ । मङ्गलबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताहरूबीच करिब दुई घण्टा भएको भेटवार्तामा लोकतन्त्रवादी शक्तिहरूसँग मिलेर जाने विषयमा छलफल भएको नेताहरुले जानकारी दिएका छन् । छलफलका क्रममा संविधान र लोकतन्त्र मान्ने शक्तिहरू एक भएर प्रदेशमा सरकार बनाउने विषयमा प्रारम्भिक छलफल भएको प्रचण्ड र ओलीको सचिवालयले जनाएको छ ।

प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूबीच पछिल्लो समय नेपाली राजनीतिमा देखिएको संकट र लोकतान्त्रिक शक्तिमाथि भइरहेको प्रहार रोक्न एकजुट भएर जाने सन्दर्भमा पनि कुराकानी भएको छ । भेटमा ओली र प्रचण्डबीच प्रदेशमा तीन दलीय सरकार बनाउने विषयमा अन्योल नरहे पनि कांग्रेसका कारण ब्रेक लाग्न सक्ने सम्भावनाबारे पनि छलफल भएको छ ।

भेटवार्ताका क्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सहकार्य गरेर प्रदेश सरकारमा जाँदा अन्य शक्तिहरूलाई दबाब पर्न सक्ने आँकलन पनि दुई नेताले गरेका छन् । ओलीको सचिवालयले दिएको जानकारी अनुसार हालसम्म नेताहरु वाम एकताको पक्षमा पुगिसकेका छैनन् ।

अपरिपक्व एकताले विगतमा पार्टीलाई कमजोर बनाएको दुवैको निष्कर्ष छ । बरु उनीहरू भ्याएसम्म प्रदेशमा सबै दलहरू एक भएर जाने कसरतमा छन् । उनीहरूले यसका लागि आ-आफ्नो दलका नेताहरूसँग पनि संवाद अगाडि बढाएको देखिन्छ ।

‘राजनीतिक स्थायित्व र मुलुकको हितका लागि शक्तिहरू एक भएर जानुपर्छ भन्ने विषयमा छलफल भएको हुनसक्छ,’ ओलीको सचिवालय सदस्य निरु पाल भन्छिन्, ‘वाम शक्तिहरूको बीचमा पनि संवाद अघि बढेको छ । सहकार्यका लागि विभिन्न विकल्पमा छलफल भएको हुनसक्छ ।’

प्रचण्ड र ओलीबीचको भेटवार्तालाई लिएर ओली निकट र वाम एकीकरण पक्षधर नेता महेश बस्नेत पनि उत्साहित देखिन्छन् । उनले कम्युनिस्ट पार्टीबीच सहकार्यका लागि केही पाइला अघि बढेको सूचना दिएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रदेश सरकार निर्माणका लागि मात्र सहकार्य नभएर मुलुकको हित र राष्ट्रिय स्थायित्वको लागि सहकार्य हुनुपर्ने उल्लेख गरेका छन् ।

सर्वदलीय सरकारका लागि गगनसँग संवाद गर्ने

दुई नेताले लोकतन्त्रवादी शक्तिहरू अगाडि मिलेर जानका लागि नेपाली कांग्रेसका सभापति गगन थापासँग पनि संवाद अगाडि बढाउने निधो गरेका छन् । प्रदेश सभाको निर्वाचन आउन थोरै समय मात्रै बाँकी रहेकाले लोकतन्त्रवादी शक्तिहरु एक भएर जानुपर्ने ओली-प्रचण्डको निष्कर्ष छ ।

लोकतन्त्रवादी शक्तिहरू मिलेर जाने सन्दर्भमा प्रचण्डभन्दा ओली बढी लचिलो देखिएका छन् । तर ओलीमाथि प्रचण्डले पनि अविश्वासको केही संकेतहरू देखाएको बताइन्छ । विगतमा पनि नेताको कार्यशैलीकै कारण बाम आन्दोलन तहस नहस भएको विषय प्रचण्डले उठाएका थिए । दुई नेताहरूको भेटमा राजनीतिक छेडछाड गर्नुभन्दा पनि अबको निकासमा बढी केन्द्रित भएर कुराकानी भएको ओलीको सचिवालय बताउँछ ।

‘प्रदेशमा सर्वदलीय सरकारका लागि एक पटक नेपाली कांग्रेस सभापति गगन थापासँग पनि कुरा गर्ने छलफल चलेको छ । प्रचण्डजीले त मिल्ने ठाउँ छ भने अझै पनि कांग्रेस र एमाले मिलेर जानुस् भन्नुभयो रे ।’ बुधबार बिहान ओलीलाई भेटेका एमालेका एक नेताले भने, ‘अपरिपक्व वाम एकता गरिहाल्नुपर्छ भन्ने हतारोमा पनि हुनुहुन्न । सकभर लोकतन्त्रवादी शक्तिहरूबीच सहकार्य हुनुपर्छ भन्ने कुराकानी भएको छ । नभएको खण्डमा वाम सहकार्य पनि अगाडि बढ्न सक्छ ।’

औपचारिक निर्णय नभएपनि सुदूरपश्चिम कर्णाली र बागमतीमा कांग्रेस–एमाले सरकार फुटिसकेको छ। बागमतीका छ जना मन्त्रीले बुधबार बिहानै ओलीसँग भेटवार्ता पछि सामूहिक राजीनामा बुझाएका छन् । सुदूरपश्चिममा एमालेले बजेट पास गर्न नदिएपछि कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाही लाई तनाव भएको छ । बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँ अल्पमतमा परिसकेका छन् । उता कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई पनि कांग्रेसले हात उठाएपछि समस्या देखिएको छ ।

सत्ता सहकार्यको प्रारम्भिक छलफलका लागि एक साता अगाडि गगन र प्रचण्ड जुटेका थिए । सहकार्यका लागि प्रचण्ड कांग्रेससँग पनि सकारात्मक देखाउँदा उनी वाम गठबन्धन ब्युँताउने च्याँखेदाउ पनि थापिरहेको देखिन्छ । प्रचण्ड अहिले ओली र गगन दुवैसँग संवादमा छन् । प्रचण्डले गगनलाई पनि बिहीबारसम्ममा भेटवार्ता गर्ने कार्यसूची भएको बुझिन्छ ।

नेपाली कांग्रेसका नेताहरु आज बीपी स्मृति दिवस भएकाले गगन र प्रचण्ड भेट्ने कार्य सूची नभएको बताउँछन् । तर बिहीबार कुनै ढङ्गबाट उनीहरु बीच भेटवार्ता हुन सक्ने महामन्त्री प्रदीप पौडेल बचाउँछन् । ‘कांग्रेसलाई त प्रदेश सरकारमा नजाँदा फाइदा छ। तर अस्थिरता आउनु हुँदैन भन्ने हाम्रो कुरा हो। आज बीपी स्मृति दिवस भइहाल्यो । भोलि या पर्सि उहाँहरुबीच भेटवार्ता पनि हुन सक्ला,’ पौडेलले भने, ‘अनौपचारिक रूपमा उहाँहरूबीच कुराकानी भइनै रहेको छ। हामीले स्पष्ट भनेका छौँ, तीन दल मिलेर प्रदेश सरकारमा जाँदैनौ ।’

सर्वदलीय सरकारका लागि कांग्रेस छैन तयार

कांग्रेसमा संस्थापन पक्ष र संस्थापन इतर पक्षको लडाईं कायमै छ । बुधबार बीपी स्मृति दिवसमा पनि दुई वटा पक्षले छुट्टाछुट्टै कार्यक्रमका आयोजना गरे । पूर्वसभापति शेरबहादुर देउवा पक्ष कांग्रेस-एमाले गठबन्धनलाई नै निरन्तरता दिनुपर्ने पक्षमा देखिन्छ । वर्तमान सभापति गगन र उनका नेताहरू भने आफ्नो लाइनमा स्पष्ट छन् । बरु प्रदेशमा कांग्रेस एक्लै यात्रा गर्ने तर बेइमानको राजनीति नगर्ने पक्षमा पुगिसकेको गगनपक्षका नेताहरु बताउँछन् ।

सर्वदलीय सरकारका लागि कांग्रेस तयार नभएको दाबी सभापति गगन थापाले गरिसकेका छन् । दुई तीन दिन अगाडि थापाले एक सार्वजनिक कार्यक्रममा प्रदेश सरकार प्रतिपक्षीविहीन बनाउने प्रयत्नमा कांग्रेस नरहेको बताउँदै तीन दलीय गठबन्धन कुनै पनि ढङ्गबाट अगाडि बढ्न नसक्ने बताए । ‘बरु कांग्रेस सरकारमा सहभागी हुँदैन । तर तीन दलीय सरकारमा कांग्रेस अगाडि जाँदैन,’ गगनले भने, ‘यो कुरा हामीले नेताहरूलाई राखिसकेका छौँ ।’

उपसभापति विश्वप्रकाश शर्माले पनि प्रदेश सरकार गठनका लागि विभिन्न पार्टीहरूसँग छलफल भइरहेको स्वीकार गर्दै नेपाली कांग्रेस नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी तिनै दल मिलेर प्रदेश सरकार बन्ने सम्भावना चाहिँ नरहेको बताए । ‘सभापतिज्यूले पनि भनिसक्नुभएको छ– हामी प्रदेश सरकार प्रतिपक्षी विहीनको कल्पना गर्दैनौँ । संवादका लागि नेकपा र अरु साना पार्टीसँग हाम्रो ढोका खुल्ला छ,’ शर्माले अगाडि भने, ‘लोकतन्त्रवादी शक्तिहरू लोकतन्त्र गणतन्त्र जोगाउन एक ठाउँमा आउनुपर्छ तर सरकार र सत्ताका लागि एक ठाउँमा आउनुपर्छ भन्ने हाम्रो मान्यता छैन । बरु उहाँले चलाउनुस् हामी प्रतिपक्षमा बस्छौँ ।’

कांग्रेस महामन्त्री गुरु घिमिरे र प्रदीप पौडेल पनि तीनदलीय सरकार अर्थात् नेपाली कांग्रेस नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी मिलेर प्रदेश सरकार बन्ने सम्भावना साह्रै न्यून रहेको बताउँछन् । उनीहरू सरकारको खेलमा कांग्रेस कहिले पनि नरहेको बताउँदै सम्मानजनक प्रतिपक्षीको भूमिकामा रहने बताए ।

कांग्रेसले यसो भने पनि अन्तिम पटक गगन र प्रचण्ड भेट्दा के कुरा गर्छन् त्यो भने खुल्न सकेको छैन । प्रचण्डले एमालेसँग सहकार्य अगाडि बढाउँछन् या कांग्रेससँग अहिलेसम्म स्पष्ट भइनसकेको उनको सचिवालय बताउँछ । यता नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल भने ओली र प्रचण्डकै नेतृत्वमा प्रदेश सरकारमा वाम एकता सम्भव नरहेको बताउँछन् । उनी यो एकताका लागि युवा पुस्ता अगाडि सरेको खण्डमा केही उपलब्धि हुन सक्ने दाबी गर्छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८३, बुधबार  ५ : ५८ बजे

फेसबुक म्यासेन्जरमा प्राविधिक समस्या

काठमाडौं – मेटा कम्पनीअन्तर्गत सञ्चालित सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक म्यासेन्जरमा

होर्मुज सङ्कटले विश्व अर्थतन्त्रमा जोखिम बढाउने चेतावनी

मनिला – संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलसन्धिमा

घरायसी विवादमा श्रीमतीको हत्या, आत्महत्या प्रयास गरेका श्रीमानको पनि मृत्यु

भद्रपुर– झापाको दमकमा घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट गम्भीर

‘कांग्रेसका पाँच पुस्तालाई मिलाएर लैजाने दायित्व गगन थापाको हो’

काठमाडौं- नेपाली कांग्रेसभित्र पछिल्लो समय चुलिएको आन्तरिक असन्तुष्टि र सम्भावित