चुनावको मुखमा रास्वपाभित्र गम्भीर समस्या : उम्मेदवार छनोटमा विभेद र आर्थिक अपचलनको आरोपसहित धमाधम पार्टी छाड्दै नेताहरू « Khabarhub

चुनावको मुखमा रास्वपाभित्र गम्भीर समस्या : उम्मेदवार छनोटमा विभेद र आर्थिक अपचलनको आरोपसहित धमाधम पार्टी छाड्दै नेताहरू

रास्वपाबाट बाहिरिएका अधिकांश कांग्रेसतिर


११ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उम्मेदवार छनोटमा विभेददेखि नेताहरूले आर्थिक अपचलन गरेका आरोप लगाउँदै चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विद्रोहको क्रम ह्वात्तै बढेको छ।

रास्वपाका वडादेखि केन्द्र तहकासमेत नेता–कार्यकर्ताहरू धमाधम पार्टी परित्याग गरिरहेका छन्। रास्वपा छाड्ने अधिकांश नेता-कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरिरहेका छन्।

फागुन २१ गतेको चुनाव नजिकिँदै गर्दा रास्वपा छाड्ने क्रमले तीव्रता पाएको हो । मधेश प्रदेशदेखि बागमती, लुम्बिनीसहित धेरै स्थानबाट रास्वपा छाड्ने क्रमले तीव्रता पाएको हो ।

गत माघ २९ गते डा. प्रणयशमशेर राणाले पार्टी परित्याग गरेपछि सुरू भएको असन्तुष्टिको शृङ्खला देशभर फैलिन थालेको छ। एकातिर रास्वपाले देशभर आफ्नो पक्षमा चुनावी अभियान तीव्र पारिरहेको छ भने अर्कातिर पहिरो जाने क्रम पनि बढिरहेको छ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा गर्दै रास्वपालाई तेस्रो स्थान दिलाएकाा राणाले उम्मेदवार चयन प्रक्रियाको विभेदका कारण विद्रोह गरे । आन्तरिक ‘प्राइमरी’ चुनावमा चलखेल र नेताहरूले आर्थिक लेनदेन गरेको गम्भीर आरोपसहित उनले रास्वपा छाडे ।

राणाले ‘बेथितिका मूकदर्शक भएर बस्न विवेक र इमानले नमानेको’ बताए । ‘सुरुमा पार्टीको नारा सुशासन र जवाफदेहिता थियो। बेतिथिको अन्त्य र थितिको सुरुवात गर्नुपर्ने न्यारेटिभ ठीक उल्टो बनेको छ,’ विद्रोह गर्दै उनले भनेका छन् ।

प्राइमरी चुनावका नाममा २५ हजार रुपैयाँ शुल्क उठाएपछि विशेष परिस्थिति भन्दै प्रक्रिया मिचेर उम्मेदवार चयन गरिएको आरोप उनले लगाएका छन् ।

प्रवासमा १० प्रतिशत प्रतिनिधित्व दिने भनिए पनि अन्तिम बन्दसूचीमा कोही नसमेटिनुलाई उनले ‘स्क्याम’ नै भएको टिप्पणी गरेका छन्।

राणाले पार्टीले अधिवेशनसमेत गर्न नसकेको, आफूअनुकूल संगठन बनाउने र असहमति राख्नेलाई पाखा लगाउने प्रवृत्ति बढेको बताएका छन्। उनी रास्वपा छाडेको दुई सातापछि कांग्रेस प्रवेश गरिसकेका छन्।

नुवाकोटदेखि नवलपरासीसम्मै समस्या

नुवाकोटका नेता अशोककुमार थापाले पार्टी गतिविधिप्रति असन्तुष्टि जनाउँदै आइतबार रास्वपा परित्याग गरेका छन्। संगठन निर्माणमा खटिएका कार्यकर्तालाई पाखा लगाइएको आरोप उनले लगाएका छन। नुवाकोटमा रास्वपाको माहोल राम्रो बनिरहेका बेला उनको विद्रोहले धक्का लागेको छ।

उता नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकाका उपसभापति गुप्तसेन ठकुरी र बर्दघाट नगरपालिका–१३ का सभापति जीतबहादुर हरिजनले रास्वपा छाडेका छन्।

नवलपरासी सुस्ता पश्चिम–१ मा नेपाली कांग्रेसबाट आएका विक्रम खनाललाई उम्मेदवार बनाइएपछि आन्तरिक असन्तुष्टि चुलिएको थियो । त्यही क्षेत्रमा अघिल्लो निर्वाचनमा १२ हजार ४९९ मत ल्याएका महेन्द्र सेन (ठकुरी) आकांक्षी थिए।

अघिल्लो चुनावमा राम्रो मत ल्याएको अवस्थामा यस पटक उनले जित्ने सम्भावना भए पनि कांग्रेसबाट आएका खनाललाई टिकट दिएपछि त्यहाँ विद्रोह भएको हो ।

कैलाली, बारा र बागमतीमा पनि संकट

कैलालीको धनगढी उपमहानगरपालिकाका संस्थापक नगर सभापति इश्वरी विष्टले पनि चुनावको मुखमा रास्वपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

उता बारा जिल्लाका संगठन विभाग प्रमुख पवन चौधरीले फागुन ८ गते पार्टी छाडे। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नम्बर–४ बाट उम्मेदवार बनेका चौधरी यसपटक पनि टिकटको आकांक्षी थिए। तर उम्मेदवार छनोट प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनले पार्टी छाडे ।

जिल्ला सभापति चन्दन स्वर्णकारका अनुसार चौधरीको बहिर्गमनको मुख्य कारण उम्मेदवार चयन प्रक्रिया हो। ‘उनी २५ हजार रुपैयाँ शुल्क तिरेर आन्तरिक निर्वाचनमा सहभागी थिए। तर अन्तिममा विधिविपरीत उम्मेदवार चयन भएपछि पार्टी परित्याग गरे’, स्वर्णकारले भने ।

२०७९ को निर्वाचनमा मधेश प्रदेशका २५ उम्मेदवारमध्ये चौधरीले सबैभन्दा बढी मत ल्याएका थिए। चौधरी समुदायको पकड रहेको बारा क्षेत्र नम्बर–४ मा उनी बाहिरिएपछि चुनावी समीकरण नै फेरिने अवस्था छ ।

यता बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले पनि नेतृत्वमा नैतिक विचलन आएको, तल्लो तहका कार्यकर्तामाथि ‘दासको जस्तो व्यवहार’ गरिएको जनाउँदै रास्वपा छाडेका छन् ।

उनले पार्टी सदस्यता र उम्मेदवार आवेदन शुल्कको हिसाब सार्वजनिक नगरिएको आरोप लगाउँदै साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

मधेशमा पनि असर

मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पनि गत फागुन ६ गते पार्टी परित्याग गरी कांग्रेसतिर लागेकी उनलाई कांग्रेस सभापति गगन थापाले जनकपुरमा आयोजित सभामा स्वागत गरे। शर्माले रास्वपामा ‘दागैदाग भएकाको बिगबिगी’ देखिएपछि बाहिरिने निर्णय गरेको बताइन् ।

वित्त विभाग सदस्य पनि बाहिरिए

रास्वपाको केन्द्रीय वित्त विभागका सदस्य दिनेश आचार्यले पनि साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्।

पार्टीभित्र पारदर्शिता र जवाफदेहिताको अभाव भएको उनले बताएका छन् । उनले सभापति रवि लामिछानेको भाषणशैलीमाथि प्रश्न उठाउँदै आक्रोश र प्रतिशोपूर्ण अभिव्यक्तिले पार्टीको वैचारिक धरातल बिगारेको आरोप लगाएका छन्।

मकवानपुरका सभापति कांग्रेसमा

रास्वपा मकवानपुरका सभापति भरत पराजुलीले पनि सोमबार पार्टी परित्याग गरी पुनः कांग्रेसमा सक्रिय भएका छन् ।

सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले मकवानपुरको सभामा सम्बोधन गर्ने तालिका आइरहँदा रास्वपालाई धक्का लागेको छ।

पराजुलीलाई कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा पार्टी प्रवेश गराए। पराजुलीले सीमित व्यक्तिको प्रभाव, चाकरीवाद र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको भन्दै पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाए । बालेन्द्र साह आउनुअघि नै सुमना श्रेष्ठ र सन्तोष परियारलगायत नेताले रास्वपा छाडिसकेका छन् ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार  १ : ५० बजे

आफ्ना नागरिकलाई इरान छोड्न भारतको आग्रह

नयाँदिल्ली– तेहरानमा सम्भावित अमेरिकी सैन्य कारबाहीको आशंकाबीच भारत सरकारले आफ्ना

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ : ओली

झापा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

धादिङ बस दुर्घटना छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन

काठमाडौं – धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैसीगौडास्थित पृथ्वी लोकमार्गमा पोखराबाट

इनड्राइभले आयोजना गर्‍यो ‘काठमाडौं क्लिन एयर डायलोग’

काठमाडौं– इनड्राइभले ‘काठमाडौं क्लिन एयर डायलोग आयोजना गर्दै उपत्यकामा बढ्दो