काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेश र सबै दलका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल थालेका छन्।
सोमबार प्रधानमन्त्री शाहले कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग छलफल गरे। प्रधानमन्त्रीसामु आफ्नो ठाउँका समस्या राख्न पाउँदा खुसी लागेको इलामका सांसद निष्कल राई बताउँछन्।
राईका अनुसार प्रधानमन्त्रीले हरेक सांसदलाई बोल्ने समय दिएर उनको क्षेत्रका समस्या, सम्भावना र चुनौतीबारे कुरा सुनेका थिए ।
दलगत रूपमा नभएर निर्वाचित हरेक सांसदलाई बोलाएर गरिएको उक्त छलफलमा श्रम संस्कृति पार्टीले भने बहिष्कार गरको छ।
कांग्रेस सांसद निष्कलले भनेजस्तै जुम्लाबाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले पनि छलफलले आफूहरू उत्साहित भएको बताएका छन्।
उनले यसअघि प्रधानमन्त्रीसँग आफ्ना क्षेत्रका समस्या राख्न सांसदहरूले समय माग्नुपर्ने स्मरण गरे । तर यस पटक प्रधानमन्त्री आफैँले बोलाएर क्षेत्रगत समस्या बुझ्दा आफूहरू उत्साहित भएको उनले बताए ।प्रधानमन्त्रीले सांसदहरूका कुरा पूरा गर्ने प्रतिबद्धता समेत जनाएको बताएका छन्।
प्रतिनिधिसभाको नियमित बैठक सुरू हुनुअघि प्रधानमन्त्री बालेन्द्रले सांसदहरूसँग छलफल गरेका हुन् ।
उनले हरेक निर्वाचन क्षेत्रका समस्या सुनेका हुन्। उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र स्थानीय उत्पादन लगायतमा देखिएको समस्या उनले सुने । विकास निर्माणका कार्यक्रम र समग्र अवस्थाबारे जानकारी लिएर उनले बजेट निर्माणलाई अघि बढाउन गरेको प्रयासले सकारात्मक ऊर्जा दिएको सांसदहरूले बताए।
छलफलमा हरेक सांसदले ५–७ मिनेटसम्म आफ्ना क्षेत्रका कुरा राखे । प्रधानमन्त्रीले ती विषयलाई सचिवालयमार्फत् टिपोट गराएको उपस्थित सांसदहरूले बताए।

छलफल गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीले मंगलबारसम्म सातै प्रदेशका सांसदहरूसँग छलफल सक्ने उनको सचिवालयले जनाएको छ। सबै प्रदेशका सांसदसँग क्षेत्रगत छलफल गरेर आगामी कार्ययोजना र बजेटको प्रारम्भिक खाका बनाउने तयारी गरिएको छ।
सचिवालयका एक सदस्यले यसलाई ‘परिचयात्मक कार्यक्रम’ पनि भनेका छन् । ‘आफ्ना क्षेत्रका समस्या, सम्भावना र चुनौतीबारे सांसदहरूले प्रधानमन्त्रीलाई जानकारी दिएका छौँ। आगामी वर्षको कार्ययोजना बनाउन पनि यसले सहज हुनेछ’, सचिवालयका ती सदस्यले भने।
प्रधानमन्त्रीको सचिवालयका अनुसार छलफलले सिङ्गो नेपालकै वर्तमान अवस्था र प्रत्येक निर्वाचन क्षेत्रको समस्या पनि बुझ्न मद्दत पुगेको छ।
एकजुट हुन आग्रह
प्रधानमन्त्री शाहले सांसदहरूसँगको छलफलमा बजेट निर्माणताका पनि फेरि छलफल हुने जानकारी दिएका छन्। सरकारले कसैलाई काखा र कसैलाई पाखा नगरी बजेट निर्माण गर्ने उनले बताए । यो सुरुवाती छलफल भएकाले आवश्यक परेपछि फेरि बोलाइने उनको सचिवालयले जनाएको छ।
हरेक प्रदेशसँगको छलफलमा थोरै समय बोलेका प्रधानमन्त्रीले देश निर्माणको साझा संकल्पका रूपमा छलफललाई बुझिदिन सांसदहरूसँग आग्रह गरेका थिए।
झापा क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद शम्भु सुस्केराले भने, ‘सबै पार्टीका प्रतिनिधिलाई बोलाएर सरकारले राम्रो सुरुवात गरेको छ। प्रधानमन्त्रीले कसैलाई काखा र कसैलाई पाखा नगर्ने प्रतिबद्धता जनाउनु भएको छ। जिल्ला र निर्वाचन क्षेत्रको अवस्थाअनुसार रणनीति बनाएर अघि बढ्ने प्रतिबद्धता पनि आएको छ।’
इलाम–१ सांसद राईले पनि प्रधानमन्त्रीसँगको छलफलले सांसदहरू उत्साहित भएको बताए। उनले भने, ‘प्रधानमन्त्रीले सुरूमा आफ्ना कुरा राख्न भन्नुभयो, हामीले विषय राख्यौं।’
प्रधानमन्त्री शाहले आवश्यकताअनुसार अरू बेला पनि सांसदहरूसँग छलफल गर्ने प्रतिबद्धता जनाएका छन्।
निष्कलले भने, ‘उहाँले हाम्रा कुरा कार्यान्वयन गर्नुहुन्छ भन्नेमा आशावादी छौं। जनतासँग जोडिने कुरामा सत्तापक्ष र प्रतिपक्ष हेर्ने होइन।’

प्रतिनिधि सभा डाक्न माग
कोशी र कर्णाली प्रदेशका प्रतिपक्षी सांसदहरूले प्रतिनिधि सभा बैठक राख्न माग गरे। नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका दलहरूले प्रतिनिधि सभा राख्नुपर्ने माग गरेका हु्न्।
नेकपा एमालेबाट धनकुटाका सांसद राजेन्द्र राई, कांग्रेसबाट तेह्रथुमका सन्तोष सुब्बा, कर्णाली प्रदेश जुम्लाका ज्ञानेन्द्र शाहीले प्रतिनिधि सभा बैठक सुरु गर्नुपर्ने माग राखे।
यता हर्क साम्पाङको श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीसँगको छलफल अस्वीकार गरेर प्रतिनिधि सभामा आफ्ना कुरा राख्ने बताएको छ। संसद् सचिवालयले अबको एक साताभित्रै प्रतिनिधि सभाको पहिलो बैठक बोलाउने तयारी गरिरहेको छ।













प्रतिक्रिया