साताको ब्रिफिङ : समाचारमा अदालत हाबी | Khabarhub Khabarhub

साताको ब्रिफिङ : समाचारमा अदालत हाबी

एनसेलदेखि विप्लवसम्म, संसददेखि शीतलनिवाससम्म विवादै विवाद


२९ मंसिर २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


585
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार एक साताका मुख्य घटनालाई समेटेर साप्ताहिक ब्रिफिङ पस्कन सुरु गरेको छ ।

यो साता बालकृष्ण खाणको रिहाइदेखि लक्ष्मी महतो कोइरीको सफाइसम्म अदालती समाचार हाबी भए ।

नेपाली कांग्रेसको किचलो, सुन तस्करीको निरन्तरता, एनसेलको विवाद, रुसी सेनामा नेपालीको प्रवेश, विप्लव समूहका नेतामाथि पक्राउ पूर्जी, एमालेको अभियानमा केपी ओलीमाथि आक्रमणको प्रयासदेखि लिएर संसद सचिवालय र राष्ट्रपतिवीचको चिसोपन जस्ता घटनाक्रम पनि समाचारका विषय बने ।

यस्ता छन् साताका मुख्य घटना –

बालकृष्ण थुनामुक्त, टोपबहादुर जेलमै

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा परेका पूर्वगृहमन्त्री बालकृष्ण खाण शुक्रबार कुल ४५ लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त भएका छन् । खाणले काठमाडौं जिल्ला अदालतमा ३० लाख रुपैयाँ बुझाएका छन् भने सम्पत्ती शुद्धीकरण विभागका १५ लाख रुपैयाँ धरौटी तिरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने उनलाई धरौटी नलिई छाडेको छ ।

नेपाली नागरिकलाई शरणार्थी बनाएर विदेश पठाउने धन्दा गृहमन्त्रालयबाटै भएको थियो । तर, ‘लाइन मिनिष्टर’ खाणलाई भने उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिए पनि अर्का पूर्वमन्त्री टोपबहादुर रायमाझीचाहिँ यसअघि नै जेल चलान भइसकेका छन् ।

रोचक त के छ भने सोही गृहमन्त्रालयका सचिव टेकनारायण पाण्डे र गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईलाई थुनामा राख्ने निर्णय यसअघि नै भइसकेको छ ।

थुनामा पठाइएका टोपबहादुर रायमाझी विपक्षी नेकपा एमालेका नेता हुन् । खाणचाहिँ सत्तापक्षका नेता हुन् ।

एउटै मुद्दामा खाडलाई अदालतले धरौटीमा रिहा गर्ने निर्णय गर्दा अन्यलाई चाहिँ किन थुनामै राखियो ? कतै यसमा सत्ताको प्रभाव र दबावले त काम गरेको छैन ? यस्तो प्रश्न सामाजिक सञ्जालमा उठिरहेको छ ।

खासगरी खाणको रिहाइलाई लिएर सामाजिक सञ्जालमा प्रश्न उठेको देखिन्छ ।

कोइरीलाई सफाइ, ७ जनालाई जन्मकैद

कांग्रेस नेता बालकृष्ण खाणलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको निर्णय आएकै दिन मंसिर २८ गते महोत्तरी जिल्ला अदालतले असई थमन बिकको हत्यामा संलग्न रहेको आरोप लागेको लोसपाका मधेस प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित ७ जनालाई जन्मकैदको सजायँ सुनाएको छ ।

तर, सोही अपराधमा संलग्न रहेको आरोप लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई भने जिल्ला अदालतले सफाइ दिएको छ ।

अदालतले कोइरीलाई त्यस्तो बेलामा सफाइ दियो, जतिबेला न्याय माग्न भन्दै थमन बिककी पत्नी शोभा बिक काठमाडौं आएकी थिइन् ।

फरार रहेका कोइरीलाई पक्राउ गर्न र आफूलाई न्याय दिन भन्दै उनी काठमाडौं आएकी थिइन् । तर, उनले गृहमन्त्रालयमा सम्पर्क भने गरिनन् । फरार रहेका सांसद कोइरीलाई पक्राउ गर्न उनले माग गरिरहेका बेला अदालतले सफाइ दिने निर्णय सुनायो ।

चुरोटमाथिको प्रतिबन्ध हटाउन अन्तरिम आदेश

यो साता अदालती निर्णयहरु बढी नै चर्चामा रहे । मंसिर महिनाको अन्तिम साता अर्थात शुक्रबार मात्रै पाटन उच्च अदालतले सार्वजनिक स्थलमा चुरोट सेवामाथि काठमाडौं महानगरले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । अदालतको यो आदेशेले चुरोटका अम्मलीहरुलाई खुशी तुल्याए पनि स्वास्थ्यका लागि यो फाइदाकारक छैन ।

विप्लव समूहका नेताविरुद्ध पक्राउ पूर्जी

यो पनि अदालतले नै जन्माएको समाचार हो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर बिश्वकर्मा गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न बालुवाटार पुगे । काठमाडौं जिल्ला अदालतले आफ्नो पार्टीका नेताहरुविरुद्ध पक्राउ पूर्जी जारी गरेको विरोध गर्न उनी बालुवाटार गएका हुन् ।

सरकारले वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आइसकेपछि पनि पक्राउ पूर्जी जारी गरिएको उनले प्रधानमन्त्रीसँग गुनासो पोखेका थिए । प्रधानमन्त्री दाहालले विप्लवसमूहका नेतामाथि लागेका मुद्दाहरु प्रक्रिया पुर्‍याएर फिर्ता लिइने आश्वासन दिएका थिए ।

हेर्दा समान्यजस्तो लाग्ने यो परिघटना शान्ति प्रक्रियासँग जोडिएको विषय हो । तर, सरकारले अहिलेसम्म शान्ति प्रक्रियासम्बन्धी विधेयक अगाडि बढाउन सकेको छैन ।

संसद सचिवालय र शीतलनिवासबीच द्वन्द्व

संघीय संसदका महासचिव भरतराज गौतमले मंसिर २४ गते अकस्मात राजीनामा दिए । महासचिव गौतमको राजीनामा लगत्तै सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनाले नयाँ महासचिवका लागि राष्ट्रपतिसमक्ष सचिव पदमप्रसाद पाण्डेयको नाम सिफारिस गरे । राष्ट्रपतिले गौतमको राजीनामा स्वीकृत गरे पनि पाण्डेको नाम अनुमोदन नगरी रोकेर राखेका छन् ।

संघीय संसदको महासचिवमा कार्यरत गौतमले विगतमा नेकपा एमालेको सेवा गर्दै आएको र उनलाई राजिनामा गराएर एमालेकै निकट मानिएका पाण्डेयलाई हतार–हतार सिफारिस गरिएको सत्तापक्षको आरोप छ ।

आगामी माघ ११ मा हुने राष्ट्रियसभाको चुनावपछि एमालेले माथ्लो सदनको अध्यक्ष पद गुमाउने र त्यसपछि संसदको महासचिवमा एमालेलाई सहज हुने पात्र नआउने भएकाले एमालेको रणनीति अनुसार गौतमले हतार–हतार राजीनामा दिएको र पाण्डेयको नाम सिफारिस गरिएको गठबन्धनको गुनासोसँगै राष्ट्रपतिले यसमा निर्णय नगरेको स्रोतको तर्क छ ।

तर, सभामुख देवराज घिमिरेले भने १५ दिनभित्र पाण्डेयलाई महासचिव नबनाइए सर्वोच्च अदालत जाने एउटा मिडियामा प्रतिक्रिया दिएका छन् ।

महासचिव गौतमको राजीनामा र पाण्डेयको नाम सिफारिस प्रकरणले संसद सचिवालय र शीतलनिवासको सम्बन्ध चिसिएको छ । राष्ट्रपति कांग्रेसको स्वार्थ अनुसार चल्न खोजेको एमालेको आरोप छ भने सभामुख  घिमिरे र अध्यक्ष तिम्सिना एमालेको स्वार्थ अनुसार चलेको सत्तापक्षको आरोप छ ।

कांग्रेसमा किचलो : महासमिति बैठक सरेको सर्‍यै

यो साता सत्तारुढ दल नेपाली कांग्रेसभित्रको किचलो पनि समाचारको विषय बन्यो । संस्थापन इत्तर पक्षका नेताहरु डा. शेखर कोइराला र गगन थापा समूहवीच विवाद बढेकोदेखि लिएर मनमुटाव मथ्थर भएकोसम्म चर्चा भयो । अर्जुननरसिंह केसीको निवासमा दुई नेताबीच छलफल भयो । अन्ततः गगन थापाले शेखर कोइरालाई संसदीय दलको नेता बन्न आग्रह गरे ।

यसैबीच ललितपुरको गोदावरीमा पुस १६ देखि १९ सम्म हुने भनिएको कांग्रेसको महासमिति बैठक फागुन ७ गते गर्ने गरी सरेको छ । सुरुमा कांग्रेस सभापति देउवाले जाडोका कारण बैठक सार्नुपर्ने बताएका थिए । पछि, माघ ११ मा हुने राष्ट्रियसभाको चुनावलाई असर गर्न सक्ने भन्दै मंसिर २९ मा बसेको कार्यसम्पादन समितिको बैठकले फागुन ७ सम्म बैठक सार्ने निर्णय गरेको हो ।

महासमिति बैठकमा माओवादीको आलोचना हुने र त्यसबाट राष्ट्रियसभा चुनावका लागि बनाउनुपर्ने गठबन्धनमा चिसोपन आई एमालेलाई फाइदा पुग्ने आकलन गर्दै कांग्रेसले बैठक फागुनमा सारेको हो ।

यसअघि मंसिरमा गर्ने भनिएको महासमिति बैठक पुस १६ मा सारिएको थियो ।

नेपालको कूटनीतिक कमजोरी

रुसी सेनामा भर्ना भएका नेपाली युवाको विषयले पनि योसाता निकै चर्चा पायो । सरकारले अघिल्लो साता नै यसबारे रुस सरकारलाई पत्रचार गरेर त्यहाँ रहेका नेपालीका शव फिर्ता पठाइदिन आग्रह गरेको थियो । तर, यसबारे अहिलेसम्म कुनै प्रगति भएन ।

प्रधानमन्त्री पुष्पकमल दाहालले रुसी सेनामा करिब २ नेपालीहरु कार्यरत रहेको बताए पनि यकिन संख्या खुल्न सकेको छैन । त्यहँ केही घाइतको विवरण पनि आएको छ भने केही युवाको उद्धारका लागि पीडितले परराष्ट्र मन्त्रालयमा निवेदनसमेत दिएका छन् । तर, सरकारले आफ्ना नागरिकलाई फर्काउन ठोस पहल गर्न सकेको छैन । हालसम्म प्राप्त विवरण रुसी दूताबास मार्फत त्यहाँको सरकारलाई पठाएर युवालाई फिर्ता ल्याउन पहल गर्नुपर्नेमा सरकारले तदारुकता नदेखाएको गुनासो पीडित परिवारजनको छ ।

माओवादीका पूर्वलडाकूसमेत रुसी सेनामा भर्ना भएको खुलेको छ । रुकुमको खारा निवासी रामचन्द्र खड्का रुसी सेनामा भर्ना भएर युक्रेनविरुद्ध लडिरहेको सामाचार यो साता भाइरल बनेको छ ।

त्यसो त हमासको अपहरणमा परेका नेपाली नागरिक विपीन जोशीलाई रिहा गराउन पनि सरकारले सकेन । अन्य देशका नागरिकहरु रिहा हुँदा पनि नेपालले इजरायलसँग डिल गर्न नसकेका कारण विपीन अहिलेसम्म हमासकै नियन्त्रणमा रहे ।

नेपाल सरकारले कतारसँग मध्यस्थताका लागि आग्रह गर्यो, अरु देशले सोझै इजरायलसँग कुरा गरे । यसमा पनि नेपालको कूटनीतिक क्षमता कमजोर देखिएको जानकारहरुको टिप्पणी छ ।

पहिलो महिला परराष्ट्र सचिव

देशले यो साता पहिलो महिला परराष्ट्र सचिव पाएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साललाई मंसिर २८ मा बसेको मन्त्रिपरिषदको बैठकले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सन् १९९८ मा शाखा अधिकृतबाट परराष्ट्र सेवामा प्रवेश गरेकी लम्साल २०१० मा उपसचिव बनेकी थिइन् ।

भोजपुरमा जन्मेकी लम्सालसँग संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि भएर काम गरेको अनुभव छ । उनले यसअघि पाकिस्तानको राजदूतका रुपमा समेत काम गरेकी थिइन् ।

पहिलो महिला परराष्ट्र सचिवको इतिहास रच्न सफल बनेकी लम्साललाई अहिलेको जटिल भूराजनीतिक परिस्थितिमा नेपालको कूटनीतिक भूमिका प्रभावकारी बनाउनुपर्ने चुनौती छ ।

इजरायलबाट हमासको अपहरणमा परेका विपीन अधिकारीलाई छुटाउने, रुसको सेनामा भर्ना भएका नेपालीलाई फिर्ता ल्याउने अनि छिमेकीसँगको सम्बन्धलाई सन्तुलित बनाउने जस्ता कार्यमा परराष्ट्र मन्त्रालयले प्रभावकारी भूमिका खेल्नुपर्ने बेलामा लम्सालले सचिवको नेतृत्व सम्हालेकी छिन् ।

एनसेलको तरंग कायमै

अघिल्लो साता एनसेलमा ८० प्रतिशत सेयर लगानी रहेको मलेसियन कम्पनी आजियाटाले आफ्नो सबै सेयर शतिशलाल आचार्यको बेलायती कम्पनी स्पेक्ट्रलाइटलाई बेच्ने निर्णय गरेको थियो । त्यो समाचारको तरंग यो साता पनि सेलाएको छैन । सरकारले यसबारे अध्ययन गर्न समिति बनाएको छ भने संसदका तीनवटा समितिले यसमा बेग्लाबेग्लै अनुसन्धान गर्ने बताएका छन् । संसदको राज्यव्यवस्था सुशासन समिति, लेखा समिति र अर्थ समितिले यसबारे अनुसन्धान गर्ने जनाएका छन् ।

अर्थतन्त्रको बहस यथावत्

नेपालको अर्थतन्त्रमा मन्दी आएको सम्बन्धमा यो साता पनि बहस जारी रह्यो । सरकारी निकायले भने अर्थतन्त्रमा सुधार आएको दाबी गर्न छाडेन ।

मंसिर २७ गते अर्थमन्त्री डा. प्रकाश शरण महतले अर्थ मन्त्रालमया पत्रकार सम्मेलनको आयोजना नै गरेर अर्थतन्त्र सुध्रिएको दाबी गरे । बैंकको ब्याजदर घटिरहेको, कर्जा प्रवाह बढेको र राजस्व संकलन पनि बढ्दो अवस्थामा रहेको अर्थमन्त्री महतको दाबी छ । पुँजीगत खर्च भने ६ प्रतिशत मात्र रहेको पनि अर्थमन्त्रीले बताए । मन्त्रीले अर्थतन्त्रमा सुधार आएको बताइरहँदा एकातर्फ सूचकहरुले त्यसलाई पुष्टि गर्दैनन् भने अर्कोतर्फ आम उपभोक्ता र लगानीकर्तामा निराशा बढ्ने क्रम रोकिएको छैन ।

 क्रिकेटमा चुक्यो नेपाल

नेपालको यू–१९ क्रिकेट टिम एसियाका पावर हाउस मानिने भारत र पाकिस्तानसँग खेल्ने अवसर पाए पनि प्रदर्शन सन्तोषजनक रहन सकेन । यू–१९ एसिया कप अन्तर्गत रहेर नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेलेका तीनै खेल हारेर प्रतियोगिताबाट बाहिरियो ।

नेपाली क्रिकेट टिमका कुनै पनि खेलाडी इन्डिएन प्रिमिएर लिग (आइपीएल) को ड्राफ्टमा पर्न सकेनन् । त्यस्तै पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका खेलाडीलाई कुनै टिमले पनि अनुबन्ध गरेनन् ।

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीले आफ्नो अपराजित यात्रा कायम राख्दा लिगको शीर्ष स्थानमा पुग्यो । योसँगै धनगढीको सेमिफाइनल यात्रा बलियो भएको छ ।

यस्तै, नेपालको महिला फुटबल टिमको फिफा वरीयता खस्किएको छ । अघिल्लो पटकको वरीयतामा १०१ औं स्थानमा रहेको नेपाल अहिले १०५ औं स्थानमा पुगेको छ ।

बिहेको जो मौसम छ….

मंसिर महिना बिहेबारी बढी हुने महिनाका रुपमा चिनिन्छ । मंसिर ३० गते बिहेको अन्तिम लगन छ, त्यसपछि माघमा मात्रै लगन जुर्छ । त्यसैले होला, मंसिरको अन्तिम साता बिहे गर्ने जोडी र तिनलाई दिइने शुभकामनाले सामाजिक सञ्जालका भित्ताहरु राम्रैसँग रंगिए ।

यही सप्ताहन्तमा प्रधानमन्त्री पुष्पकमल दाहालले गोकर्ण रिसोर्टबाट नातिनीलाई अन्माए । पूर्वमिस नेपाल श्रृंखला खतिवडा पनि यसै साता हायत होटलमा बेहुली बनिन् ।

हाम्रो सिफारिस : यो साता खबरहबमा प्रकाशित सामग्री, जुन यहाँलाई मन पर्न सक्छ-

एमालेमा ‘बा ब्रान्डिङ’ को सकस 

राष्ट्रियसभामा ९ सिट गुम्ने एमालेलाई त्रास, भाग मिलाउन गठबन्धनलाई सकस

बसाइँ हिँड्नेको कथा : मान्छे किन जाँदैछन् युरोप-अमेरिका ?

अब महिलाहरु महिनावारीको भ्रममा अल्झिनु हुँदैन

रसेलसँगै फर्किएको वेस्टइन्डिजको आशा

निर्देशक बुबालाई छल्दै नायिका बनेकी केकी

रित्तो बोतलबाट घर (तस्विरहरु)

खप्तड : पाहुना डाक्न नसकेको एउटा भू-स्वर्ग

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ८ : ५० बजे

विकासका लागि राजनीतिक स्थिरता आवश्यक : उपप्रधानमन्त्री सिंह

भक्तपुर– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको सबै क्षेत्रको

चट्याङ लागेर वृद्धको मृत्यु

बाजुरा– चट्याङ लागेर बाजुरामा  एक वृद्धको मृत्यु भएको छ ।

चन्द्रपुरमा अवैध सालको काठ बरामद

रौतहट– पूर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अवैध

‘जुम्लामा नूनको अभाव छैन’

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६०

काठमाडौंमा मनाइयो जितिया पर्व

काठमाडौं– मैथिल र थारू समुदायका महिलाले विशेष रुपमा मनाउने जितिया