काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्री बनेका वालेन्द्र शाह देशमा गम्भीर घटना हुँदा पनि संवेदनशील नभइदिँदा सभापति रवि लामिछानेलाई सकस परेको छ। राज्यको नेतृत्व घटनाप्रति संवेदनशील भएर न त वालेन्द्रले भिडियो सन्देश जारी गरेका छन्, न सर्वपक्षीय बैठक नै बोलाएका छन्। उनी सिंहदरबारको एउटा कुनामा चुपचाप बसेका छन्। सुनसरी तनावको तीन दिन बित्दा पनि प्रधानमन्त्री फेसबुकमा मात्रै देखिएपछि सभापति लामिछानेले आफैंले बाध्य भएर सर्वदलीय बैठक राखे।
रास्वपाको सरकार बनेलगत्तै देशका संवेदनशील र गम्भीर विषयमा प्रधानमन्त्री चुप बस्दा लामिछानेले नै सत्तारुढ दलको सभापतिको हैसियतमा विभिन्न सक्रिय हुनुपरेको यो नयाँ विषय भने होइन। विगतमा पनि प्रधानमन्त्री र सरकारको नाक राख्न रविले विभिन्न सार्वजनिक सरोकारका विषयमा आफ्नो धारणा सार्वजनिक गर्ने, वार्ता र संवाद अगाडि बढाउने गरेका थिए।
सुनसरी घटनाको विषयमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले एक शब्द पनि बोलेनन् । अर्कातिर बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले पनि यसबारे जवाफ दिनै जरूरी ठानेनन्। मन्त्रिपरिषद्का निर्णय सुनाएर कुनै जानकारी नदिई पन्छिएर हिँडे। हामीले सरकारका अन्य मन्त्रीलाई पनि यसबारे प्रश्न गरेका थियौँ। उनीहरूले मन्त्रिपरिषद्मा यसबारे छलफल नभएको बताएका छन्।
आइतबार सुनसरी सदरमुकाम इनरुवादेखि २५ किलोमिटर दक्षिणमा पर्ने देवानगञ्जमा दुई पक्षबीच झडप हुँदा उत्पन्न भएको परिस्थिति चार दिन बितिसक्दा पनि साम्य भएको छैन। घटनामा २४ वर्षीय ओमप्रकाश मेहताको गोली लागेर मृत्यु भइसकेको छ । त्यहाँ प्रहरी र प्रदर्शनकारीसहित २२ जना घाइते भएका छन्। १० जनालाई गोली नै लागेको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार घटनामा घाइते २४ जनाको विराटनगरमा उपचार भइरहेको छ।
आधा रातमा ब्युँझिएका प्रधानमन्त्री, सर्वदलीय बैठकमा गएनन्
रास्वपाका तर्फबाट मंगलबार सभापति लामिछानेले विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र यसलाई राजनीतिकरण गर्न नहुने बताएका थिए। त्यतिबेलासम्म प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ बोलेका थिएनन्।
प्रधानमन्त्रीले घटनाबारे राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने, त्यहाँको अवस्था सामान्य बनाउन सबै पक्षसँग वार्ता गर्नुपर्ने भन्दै राजनीतिक विश्लेषक, स्थानीय प्रतिनिधिलगायतले आवाज उठाइरहेका थिए। तर मंगलबार राति ११ बजेर २५ मिनेटपछि सामाजिक सञ्जालमा लेखेर प्रधानमन्त्रीले घटनाप्रति आफू गम्भीर रहेको र सबै सरकारी संयन्त्रले छानबिन गरिरहेको प्रतिक्रिया दिएका थिए।
प्रधानमन्त्रीले बैठक नबोलाएपछि पार्टी सभापति लामिछानेले विभिन्न दल र सरकारका प्रतिनिधिसँग बुधबार बिहान छलफल गरे। प्रधानमन्त्रीले नै बोलाउनुपर्ने सर्वदलीय बैठक सभापतिले डाक्दा पनि बालेन्द्र उपस्थित भएनन्।
यद्यपि सभापति रविले प्रधानमन्त्रीलाई जानकारी नदिएका हुन् वा जानकारी भएर पनि प्रधानमन्त्री उपस्थित नभएका हुन् भन्ने खुलेको छैन। यस विषयमा प्रश्न गर्दा बालेन्द्रको सचिवालयले आफूहरूलाई जानकारी नभएको बताएको छ।
सर्वदलीय बैठकमा उपस्थित कांग्रेस सभापति गगनकुमार थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतले प्रधानमन्त्रीले वार्ता र संवादमार्फत् देवानगञ्जको घटना समाधानतर्फ जानुपर्ने माग सभापति रविसमक्ष राखे।
अरू बेला सामान्य घटनामा पनि स्टन्टबाजी गरेर हिँड्ने गृहमन्त्री गुरुङ सुनसरी घटनामा चुपचाप बस्नुले उनीमाथि पनि प्रश्न उठेको विपक्षीको आरोप छ।
प्रधानमन्त्रीले बोलाउनुपर्ने बैठक पार्टी सभापतिले बोलाएकोमा धन्यवाद दिँदै विपक्षी दलका नेताहरूले त्यही बैठकमा प्रधानमन्त्री बालेन्द्रको भूमिकाप्रति तीव्र आलोचना गरेका थिए।
बैठकमा उपस्थित नेता सीके राउत र श्रम संस्कृति पार्टीका आरेन राईका अनुसार रविले प्रधानमन्त्रीको जिम्मेवारीबारे धेरै कुरा बोलेनन्। बरु उनले राज्यका तर्फबाट सबै किसिमका कदम चालिरहेको जानकारी आफूलाई आएको भन्दै सर्वदलीय बैठकबाट पनि सबै दलले साझा निष्कर्ष निकाल्नुपर्ने धारणा राखे ।
बैठकपछि खबरहबसँग कुरा गर्दै राउतले बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्ले उपस्थित रहेको जानकारी दिए। तर वाग्लेले आफू प्रधानमन्त्रीको प्रतिनिधिका रूपमा आएको बताएनन्। बरू उनले राज्यका सबै संयन्त्र घटनाको छानबिनमा परिचालित भएको दाबी गरेका थिए।
‘सभापतिज्यूलाई नै प्रधानमन्त्रीको विषयमा जानकारी थिएन जस्तो लाग्यो। अर्थमन्त्री आउनुभएको थियो। उहाँले ‘म प्रधानमन्त्रीको प्रतिनिधि भएर आएको’ भन्नु भएन। राज्यका सबै संयन्त्र काममा लागेको छ भन्ने कुरा मात्रै बताउनुभयो,’ राउतले भने, ‘प्रधानमन्त्रीले गर्नुपर्ने काम सभापतिले गर्नुभएकोमा धन्यवाद दियौँ। तर हामीले प्रधानमन्त्रीले नै सर्वपक्षीय बैठक बोलाउनुपर्छ भन्ने माग राख्यौँ। त्यसमा सभापतिज्यू बोल्नुभएन।’
सर्वदलीय बैठकमा सहभागी श्रम संस्कृति पार्टीका सांसद आरेन राई पनि प्रधानमन्त्रीको विषयमा सभापतिलाई नै धेरै जानकारी नभएको जस्तो देखिएको बताउँछन्।
‘यो वा त्यो कारणले प्रधानमन्त्रीले बैठक राख्न भ्याउनुभएन र मैले राखेँ भन्ने कुनै कारण प्रस्तुत गरिएन। खाली प्रधानमन्त्रीको तर्फबाट र राज्यका तर्फबाट गर्नुपर्ने काम भइरहेको छ, हामी पनि सर्वदलीय बैठक राखेर एउटा वक्तव्य निकालौँ भन्ने किसिमको मात्रै कुरा भयो,’ राईले भने, ‘यस्तो तरिकाले त भएन नि। प्रधानमन्त्रीजस्तो व्यक्ति राज्यमा यत्रो घटना हुँदा सार्वजनिक रूपमा अपिल गर्दै जनतालाई उत्तेजित नहुन आग्रह गर्नुपर्ने हो नि।’
यो तनावबारे सबै विपक्षी दलका नेताले आधा रातमा सामाजिक सञ्जालमा प्रतिक्रिया लेखेर मात्र पन्छिन नहुने धारणा राखे कांग्रेस सभापति थापाले ‘यतिबेला सरकार के गर्दैछ, प्रधानमन्त्री कहाँ छन् ?’ भन्ने प्रश्न उठाए। थापा र प्रचण्डले प्रधानमन्त्री ‘ठालु’ भएको टिप्पणी गर्दै यस्तो शैलीले देश सञ्चालन हुन नसक्ने बताएका थिए।
रविको सक्रियता
वालेन्द्र लगातार चुप रहँदा रवि सक्रिय हुने गरेका छन्। सुकुम्वासीहरू सडकमा उत्रिँदा र श्रमिक र निम्नमध्यम वर्गका मानिसले आत्मदाह गरिरहँदा पनि रवि सक्रिय भएर छलफल चलाएका थिए। प्रधानमन्त्री र गृहमन्त्रीले गर्नुपर्ने काम रविले गरेपछि बालेनको कार्यक्षमतामाथि नै प्रश्न उठेको छ।
दलसँग मात्रै होइन, रविले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि इटहरीको घटनाबारे बुधबार नै छलफल गरेका छन्। प्रधानमन्त्री वालेन्द्रले चार महिना बितिसक्दा पनि राष्ट्रपतिसँग संवाद गरेका छैनन् । दलदेखि राष्ट्रपतिसँगसमेत छलफल सभापतिले नै चलाएपछि पार्टीभित्र पनि प्रधानमन्त्रीको भूमिकालाई लिएर नेताहरू विभाजित छन् ।
यसबारे प्रश्न गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रकाशचन्द्र परियार भन्छन्, ‘हामीले सत्तापक्षकै सांसद भएर पनि सरकारमाथि आलोचनात्मक टिप्पणी र सचेत गराइरहेका छौँ। सरकार गम्भीर हुनुपर्छ भन्ने ध्यानाकर्षण गराइरहेका छौँ। सरकार र सभापति आफूले पनि भूमिका खेलिरहनुभएको छ।’
प्रधानमन्त्री वालेन्द्रको सचिवालयलाई ‘प्रधानमन्त्री किन सुनसरी घटनामा गम्भीर हुनुभएन ?’ भन्ने प्रश्न गर्दा सामाजिक सञ्जालमा लेखिएको कुरा नै आधिकारिक धारणा भएको जनाएको छ।
‘कसरी गम्भीर हुनुभएन र ? उहाँले सामाजिक सञ्जालमा लेखेर तनाव नबढाउन आग्रह गर्नुभएको छ। सबै पक्षलाई संयमित भएर वार्ताको माध्यमबाट समस्या समाधान गरौँ भन्नुभएको छ। निष्पक्ष छानबिन हुनुपर्छ । दोषीलाई कारबाही गर्नुपर्छ भन्नु भएको छ। त्यसका निम्ति उहाँले तत्कालीन अवस्थामा जिम्मेवार व्यक्तिहरूलाई पनि हेरफेर गरिसक्नुभएको छ,’ सचिवालयका एक सदस्यले भने, ‘देशमा जुनसुकै घटना भए पनि प्रधानमन्त्री नै जिम्मेवार हुनुपर्छ भन्ने हाम्रो धारणा छ। नेतृत्वमा भएको हिसाबले उहाँले आफ्नो पहल–कदमी चाल्नुपर्छ। प्रयत्न भइरहेका छन्। प्रधानमन्त्रीले गम्भीर भएर काम गर्न सम्बन्धित निकायलाई आग्रह गरिरहनुभएको छ।’
सचिवालयले यसो भने पनि प्रधानमन्त्री र गृहमन्त्रीको सार्वजनिक भिडियो सन्देश तथा सर्वपक्षीय छलफल नआउनुले उनीहरूमाथि प्रश्न उठ्ने ठाउँ रहेको राजनीतिक विश्लेषकहरू बताउँछन्।
‘प्रधानमन्त्रीले गरेका गल्तीहरूलाई पार्टी सभापतिले ढाकछोप गरिरहनुभएको अवस्था छ। कहाँसम्म उहाँले सक्नुहोला, हेर्दै जाऔँ। देशमा यस्तो स्थिति हुँदा प्रधानमन्त्रीको भूमिका यही स्तरमा सीमित हुनु दुःखद कुरा हो,’ विश्लेषक इन्द्र अधिकारी भन्छिन्, ‘यो बेला भिडियो सन्देश जारी गरेर घटना थप भड्कन नदिन उहाँले सार्वजनिक अपिल गर्नुपर्ने थियो। सर्वपक्षीय बैठक बोलाएर समाधानका उपाय तत्काल खोज्नुपर्ने थियो। ढिलो गर्नाले समस्या झन् बढेर गयो, अहिले बिस्तारै साम्य हुँदैछ।’
उसो त सुनसरीका नागरिक अगुवा रमेश भट्टराई पनि आइतबार घटना घटेपछि सोमबार बिहानै राज्य संवेदनशील भएर त्यसलाई थप बढ्न नदिन आवश्यक कदम चालेको भए थप क्षति नहुने विश्लेषण सुनाउँछन्। यसबारे प्रदेश सरकार, स्थानीय सरकार र केन्द्रीय सरकार तीनै तह गम्भीर नभएको टिप्पणी भट्टराईको छ।
कोशीमा सर्वदलीय बैठक
घटनाबारे कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पनि बुधबार सर्वदलीय छलफल गरे। त्यहाँको छलफलबारे जानकारी दिँदै पत्रकार विवेक गौतम भन्छन्, ‘मृतकको परिवारलाई क्षतिपूर्तिलगायतबारे पनि कुराकानी भयो। आठवटा निर्णय भएका छन्। स्पष्ट निष्कर्ष केही थिएन। विषय गम्भीर भएकाले अनुसन्धान हुनुपर्छ भन्नेमा सबै सहमत थिए। सुरक्षा निकायले समयमै सूचना लिन सकेन भन्ने कुरा उठ्यो। घटनापछि अवस्था शान्त पार्न सरकार पर्याप्त गम्भीर भएन। सुरक्षा निकायसँगै प्रशासकीय नेतृत्वभन्दा राजनीतिक नेतृत्व बढी सक्रिय हुनुपर्ने कुरा उठ्यो।’
सभामुखद्वारा ध्यानाकर्षण
बिहीबारबाट प्रतिनिधिसभा बैठक सुरू हुने कार्यसूची छ। प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको भूभाग मिचेको’ भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलले निरन्तर संसद् अवरोध गर्दै आएका छन्।
इटहरीमा भएको घटना र समसामयिक अवस्थाका सम्बन्धमा सभामुखले प्रधानमन्त्रीलाई भेटेर प्रतिनिधिसभामा सम्बोधन गर्न आग्रह गरेका थिए। त्यसअघि सभामुखले विपक्षी दलका नेतासँग पनि छलफल गरेका थिए। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्नुपर्ने माग राखेपछि सभामुखले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।
‘देशको पछिल्लो परिस्थिति र प्रधानमन्त्रीले विगतमा बोलेको विषयको जवाफ प्रतिनिधिसभाबाट दिनुपर्छ भन्ने हाम्रो माग थियो। त्यो विषय हामीले राखेका छौँ। सभामुखले प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउँछु भन्नुभएको थियो, गराउनुभएछ, खुसी लाग्यो,’ एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ भन्छन्, ‘हामी सबै प्रतिपक्षी दल र नेपाली जनताको माग देशको पछिल्लो परिस्थिति र आफूले बोलेका विषयमा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट सम्बोधन गरिदिनुहोस् भन्ने नै हो।’
कस्तो छ अवस्था ?
घटनाबारे सुनसरीका वरिष्ठ पत्रकार तथा इन्सेक प्रतिनिधि जयकृष्ण यादवसँग छोटो कुराकानी गरेका छौँ। यादव आइतबार बेलुकादेखि घटनास्थलमै रिपोर्टिङमा छन्। उनका अनुसार यो घटना दुई पक्षबीचको विवादबाट सुरु भए पनि यसको पृष्ठभूमि करिब डेढ महिनाअघिदेखि नै तयार भएको थियो।
अहिले त्यहाँको अवस्था कस्तो छ ?
आज तेस्रो दिन पनि कर्फ्यु जारी छ। अवस्था बिस्तारै सामान्य बन्दै गएको छ। हिन्दू बाहुल्य भएको क्षेत्रमा मुस्लिमहरू जाँदा सामान्य झगडा र कुटपिट भएका छन्। त्यस्तै, मुस्लिम बाहुल्य क्षेत्रमा हिन्दूहरू जाँदा पनि तीन–चार जना कुटिएका छन्।
छानबिन टोलीले मृतकको परिवारसँग भेट गरेको छ। गाउँपालिका अध्यक्षलाई पनि गोली चलेको स्थान र गोली चलाउने व्यक्तिका सम्बन्धमा बयान लिइएको छ। देवानगञ्ज गाउँपालिकाका अध्यक्ष देवचन्द्रप्रसाद मेतासँग पनि त्यहाँको अवस्थाबारे सोधपुछ गरिएको जानकारी छ।
प्रधानमन्त्री र गृहमन्त्रीले सुरक्षा संयन्त्र मात्रै परिचालन गर्नुभयो, समाधान खोज्नुभएन भन्ने आवाज उठिरहेका छन्। त्यहाँका नागरिक के भन्छन् ?
स्थानीयवासीले यस्तो घटना फेरि नदोहोरियोस् भनेर सर्वपक्षीय, सर्वदलीय र सरोकारवालाबीच संवाद हुनुपर्ने बताएका छन्। मृतकलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था राज्यले गर्नुपर्ने र यस्ता घटना पुनः नदोहोरिने प्रतिबद्धता सबै पक्षबाट आउनुपर्ने उनीहरूको माग छ। दोषीलाई कारबाही गर्नुपर्ने र राज्य संयन्त्रले स्थानीय सरोकारवालासँग संवादमार्फत समाधान खोज्नुपर्नेमा पनि स्थानीयको जोड छ।
अहिले कुन–कुन क्षेत्रमा तनावको अवस्था छ ?
बक्राह, कोशी, हरिनगर र देवानगञ्ज क्षेत्रमा अवस्था अझै पूर्ण रूपमा सामान्य भइसकेको छैन। यहाँ तीनै तहका सुरक्षा निकाय परिचालित छन्। नेपाली सेनाको उपस्थिति सबैभन्दा धेरै देखिन्छ। माथिल्लो तहबाट निरन्तर निगरानी भइरहेको छ भने हेलिकोप्टरमार्फत पनि निगरानी गरिएको छ।
तपाईं त त्यहाँ निरन्तर रिपोर्टिङ गरिरहनुभएको छ। अब सबैभन्दा बढी जिम्मेवार को हुनुपर्छ ?
घटना गोली चलेर भए पनि भोलिपल्टैदेखि वार्ता, संवाद र समाधानको उपाय खोजिएको भए यहाँसम्म पुग्ने थिएन। समयमै छलफल गरिएको भए यो घटना सोमबार नै समाधान हुन सक्थ्यो। पालिका, जनप्रतिनिधि तथा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले पनि घटनालाई तत्काल गम्भीर रूपमा लिएर पहल गरेको भए अवस्था यति बिग्रिने थिएन। गोली चलेलगत्तै सरकारी पक्षबाट पनि प्रभावकारी पहल भएको भए यति ठूलो क्षति हुने थिएन। तीनै तहका सरकार, विशेषगरी केन्द्र सरकार, पर्याप्त गम्भीर नदेखिएको र स्थानीय सरकारले पनि समयमै चासो नदेखाएकाले तनाव बढेको हो।
स्थानीय जनप्रतिनिधि अहिले कत्तिको खटिएका छन् ?
आज पनि दुई वटा पालिकाले संयुक्त बैठक राखेर आ-आफ्नो क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्। हिन्दू, मुस्लिम तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू भेला भएर सद्भाव कायम राख्ने विषयमा सहमति भएको छ। आज साँझसम्म अवस्था थप साम्य हुने र भोलिदेखि सबै कुरा सामान्य हुने अपेक्षा स्थानीयवासीले गरेका छन्।
अन्तिममा, यहाँको घटनाको मुख्य कारण के हो ?
डिजे बजाएको विषय एउटा कारण हो। तर त्यसअघि चोकमा झण्डा राखिएको विषयलाई लिएर पनि स्थानीयस्तरमा तनाव थियो। करिब डेढ महिनादेखि नै त्यसबारे सानोतिनो विवाद र हो-हल्ला चलिरहेको थियो। आइतबार राति त्यही विषयलाई लिएर विवाद बढ्यो, दुई पक्षबीच झडप भयो, त्यसपछि अहिलेको अवस्था सिर्जना भयो। सुरक्षा संयन्त्र पुगेपछि एक पक्ष पछि हटे पनि अर्को पक्षले प्रतिवाद गर्दा स्थिति थप जटिल बनेको हो। अहिले अवस्था साम्य हुँदै गएको छ । सबै पक्षले शान्ति कायम गर्न भूमिका खेलिरहेका छन्।












प्रतिक्रिया